मति बिग्रिएको परिवार

मति बिग्रिएको परिवार


लण्डन । लगातार छलेर पेन्शन हडप्ने विचारले सँगै बस्दै आएकी छोरी र नातिनीले हजुरआमाको लाशलाई त्यत्तिकै कुहाउँदै राखेको समाचार प्रकाशमा आएको छ । ९५ वर्षीया बृद्धा ओलिभ म्याडोकको लाश प्रहरीले तिनी मरेकी ६ महिनापछि तिनकै विस्तराको ढोकापछाडि फेला पारेको थियो । तिनलाई आफ्नै ६१ वर्षीया छोरी हेजेल म्याडोक र ३५ वर्षीया नातिनी जस्मिनले सन् १९६० ताकाको हिचकाकका हरर फिल्म “साइको”मा देखाएको जस्तै गरेर राखेका विवरण अदालतले दिएको छ ।
हिजोराति एकजना छिमेकीले बृद्धा महिलाकी छोरी र नातिनीलाई केही नभएझैं सधैं सामान्य देखेकी हुनाले आफू अचम्भ भएकी कुरा भनेकी थिईन् । तिनले निकै पटक हेजेललाई तिनकी आमाको बारेमा सोधेकी थिईन्, तर, जहिले पनि तिनी बाहिर निस्कन सक्दिनन् र अलि दिमागले काम नगरेको कुरा भन्थिन् । पोहोर अगस्त महिनामा एकजना छिमेकीले त्यस घरबाट निस्केको दुर्गन्ध र किरा फट्याङ्गा्रहरु देखेपछि प्रहरीलाई सचेत गरेका थिए । प्रहरी अधिकृतहरुले मार्सिसाइडस्थित वाल्योसीका बृद्धा महिलाको घरमा बृद्धाको लाश विस्तराको ढोकापछाडि राखेको हालतमा भेट्टाएको थियो । परीक्षणबाट बृद्धा महिला प्राकृत्तिक कारणबाट नै मृत्यु भएको ठहर गरेको छ, तर, मृत्यु भएको सही तिथि र समय भने थाहा पाउन सकेको छैन । हिजो टीभीमा एक्स्ट्राको काम गर्ने हेजेल म्याडोकले क्रूकसाइड, होलीओक्सको अदालतमा ढाँटेर आमाको पेन्शन रकम लिँदै गरेको कुरा स्वीकार गरेकी छिन् । यस घटनामा संलग्न आमाछोरी दुबैलाई अर्को महिनाको सुनवाइमा लिभरपुल क्राउन अदालतका न्यायधीशले जेल सजायँ हुने सचेत गरेका छन् । श्रोत, नेट, सुमल, मेस ।