लण्डन । अकल्याण्ड युनिभर्सिटीले गरेको नयाँ अनुसन्धानबाट प्राप्त जानकारीअनुसार महिलाले गर्भधारण गरेपछिको अन्तिम चरणको अवस्थामा दायाँपटि्ट वा उत्तानो भएर सुत्ने गरेमा गर्भभित्रको बच्चालाई बढी खतरा हुनसक्ने कुरा प्रकाशमा ल्याएको छ । ४५० जना जति गर्भवती महिलाहरुलाई हालै गरिएको अध्ययनबाट २८ हप्ताभन्दा बढी नाघेका महिलाहरुका गर्भ तुहिने अथवा बच्चा गर्भाशयमा नै मरने बारे केहि जानकारी प्राप्त भएको छ । गर्भको बच्चा असमयमा तुहिनु वा मरेको बच्चा जन्मनुको पछाडि गर्भ रहेकी महिलाको सुत्ने आचरणसितको सम्बन्ध रहेको कुरा यस अनुसन्धानसंग संलग्न विज्ञहरुले जनाएका छन् । समग्रमा यस्तो खतरा हुने आँकडा अत्यन्तै न्यून भेटि्टएको थियो । एकहजार जना गर्भवतीहरुमध्येमा केवल तीनजनालाई यस्तो घटना हुनसक्ने कुरा अध्ययनले देखाएको थियो । तर, न्यूजिल्याण्डका अनुसन्धानकर्ताहरुले यस विषयमा फेरि थप अनुसन्धान गरेर शीघ्र यसकुरालाई पुष्टि गर्नुपर्छ भनेका छन् । प्रत्येक वर्ष बेलायतभरिका गर्भधारण गरिसकेका महिलाहरुमा १२०० जनाजति तुहिने अथवा बच्चा गर्भमा नै मृत्यु हुने तथ्यांक रहेको छ । यसमध्ये २० प्रटिशत भ्रुण वा शिशुहरु कुनकारणले नष्ट हुन्छन वा मर्छन् भन्ने कारण अझसम्म भेटि्टएको छैन । अनुसन्धानमा संलग्न विज्ञहरुले १५५ जना गर्भबाट बच्चा खसेका महिलाहरु र ३१० जना स्वास्थ्य गर्भधारण गरेका महिलाहरुका जीवन शैली र सुत्ने आचरणबारे तिनीहरुलाई सोधेका थिए । यसमा गर्भ रहेको अवस्थामा महिलाहरु दायाँपट्टि ढल्केर सुत्ने वा उत्तानो भएर सुत्नेहरुको जोखिम ३ दशमलव ९३ प्रतिशत र बायाँपट्टि ढल्केर सुत्नेहरुको कम जोखिम अर्थात् १ दशमलव ९६ प्रतिशत रहेको कुरा अध्ययनले देखाएको बताएका छन् । अनुसन्धानले उत्तानो अथवा दायाँपटि्ट भएर सुत्दा महिलाको गर्भाशय संकुचित भएर रगतका नलीहरुमा बढी चाप पर्ने हुनाले रगतको प्रवाह कमी भएर बच्चासम्म रक्त प्रवाह कम हुने गर्दछ जसबाट बच्चालाई असर पुग्ने निष्कर्ष निकालेका थिए ।-सुमल, श्रोत-मेट्रो
प्रतिक्रिया