यो कस्तो संयोजन ?

यो कस्तो संयोजन ?


babita basnet 15

– बबिता बस्नेत

यो मुलुकमा सबैभन्दा ठूलो गल्ती त गिरिजाप्रसाद कोइरालाबाट भयो । जुन गल्तीलाई सच्याउन नजाने कति समय लाग्ने हो । तर, यस्ता गल्ती नगरौँ जो भोलिको पुस्ताले चाहेर पनि सच्याउन नसकोस् ।

नेपालमा राष्ट्रवादी र राष्ट्रघातीको बहस चलिरहेका बेला यो मुलुकको प्रधानमन्त्री भइसक्नुभएका डा. बाबुराम भट्टराई, हालका गृहमन्त्री विमलेन्द्र निधि र प्रधानमन्त्री प्रचण्ड एउटै कित्तामा उभिन पुग्नुलाई अनौठो मानिएको छ । अलग–अलग राजनीतिक दलका यी तीन नेताको कुरा अन्य विषयमा खासै मिल्दैन । सिद्धान्त र व्यवहार मिलेको भए बाबुराम भट्टराईले नेता प्रचण्डबाट छुट्टिएर अर्को दल खोल्नुहुने थिएन । नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधि र माओवादी केन्द्रका नेता प्रचण्डको लाइन सत्ताका लागि मात्र मिलेको हो भन्ने सबैलाई थाहा छ । तर, अहिले राष्ट्रबारे यी तीन नेताका भनाइ ठ्याक्कै उस्तै प्रकारले सार्वजनिक भइरहेका छन् । ‘मुलुकलाई धोखा नदेऊ’ भन्ने कुराको प्रतिकारमा उहाँहरूको समान धारणा र आवाज सर्वसाधारणले आश्चार्य मान्नुपर्ने खालका छन् ।

पूर्वराजाबाट नेताहरूलाई लक्षित गरी अरू जे–जे गरे पनि मुलुक जोगाऊ भन्ने आशयको विज्ञप्ति आएपछि यी तीन नेताका उस्तै भनाइ सार्वजनिक भएका हुन् । ती भनाइ हेर्दा यस्तो लाग्छ, उहाँहरू तीनैजना एउटै सिद्धान्तबाट निर्देशित भएर मुलुकमा राजनीति गरिरहनुभएको छ । विज्ञप्ति आएपछि राजालाई बोल्ने अधिकार नै नभएको भनी सबैभन्दा पहिले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रतिक्रिया आयो । यसअघि आफू सत्तामा हुँदा र नहुँदा पनि डा. बाबुराम भट्टराईको मुखबाट राजालाई कारबाहीको कुरा सुनिँदै आइएको हो । अरू बेला राजालाई कारबाही गरूँ भन्ने उहाँ एक्लै पर्नुहुन्थ्यो । डा. भट्टराईले राजालाई गाली गरेपछि अरूले उहाँलाई गाली गर्ने क्रम केही समयसम्म रहन्थ्यो र बिस्तारै आफैँ सेलाउँथ्यो । यसपटक उहाँ एक्लै हुनुभएन । गृहमन्त्री रहेका नेपाली काङ्ग्रेसका विमलेन्द्र निधि, प्रधानमन्त्री प्रचण्ड र डा. भट्टराईको लाइन एउटै देखियो । बाबुरामले मुख खोलेपछि गृहमन्त्री निधिले मन्त्रिपरिषद्मै राजामाथि कारबाही गर्ने प्रस्ताव गर्नुभो भन्ने कुरा बाहिर आयो । त्यसपछि प्रधानमन्त्रीले सार्वजनिक समारोहमा राजालाई चुप लागेर बस्न निर्देशन दिनुभयो । यी तीनै नेताको भनाइमा अब पूर्वराजा ज्ञानेन्द्रमाथि कारबाही गर्नुपर्छ र त्यो कारबाहीका लागि दरबार हत्याकाण्डको छानबिन अघि बढाउनुपर्छ । विमलेन्द्र निधिसँग जनताको अपेक्षा थियो कि थिएन या छ कि छैन यसै भन्न सकिन्न, तर प्रचण्ड–बाबुरामसँग नेपाली जनताका गुनासा र आशा प्रसस्त थिए । आशा हराएर अब गुनासा मात्रै बाँकी हुँदा पनि उहाँहरू यसरी बोलिरहनुभएको छ मानौँ यो देशमा बोल्ने अधिकार उहाँहरूलाई मात्र छ । अभिव्यक्ति स्वतन्त्रता र गणतन्त्र आफूहरूलाई मात्र आएकोझैँ गरी बोल्दा–बोल्दा आफ्नो बोलीको कदर आफैँले गर्न नसक्ने अवस्थासम्म पुग्दा उहाँहरू दरबार छोडेर जनताको भूमिकामा रहेका राजाप्रति अझै खनिइरहनुभएको छ ।

उहाँहरूले आफूलाई अप्ठ्यारो परेजस्तो भएपछि बेलाबेलामा उठाउने विषय दरबार हत्याकाण्डलाई यसरी प्रस्तुत गर्ने गर्नुभएको छ, मानौँ त्यो संवेदनशील नभएर कसैलाई जिन्दगीभर तर्साएर राख्ने घटना हो । इतिहासको कालो धब्बाको रूपमा रहेको राजदरबार हत्याकाण्ड राज्य र परिवारसँग जोडिएको अत्यन्तै संवेदनशील घटना हो । जुन घटनाको छानबिन कसैलाई तर्साउनका लागि होइन, जनतालाई सत्यतथ्य जानकारी गराउनका लागि हुनुपर्छ । आफ्नै परिवारका सदस्यको देहान्त भएको मार्मिक घटनालाई राजनीतिक अस्त्रका रूपमा बेलाबेलामा प्रस्तुत गर्ने नभएर खासमा के भएको रहेछ भन्ने कुराको निष्पक्ष जाँचबुझ गरेर जनतालाई यो गुमराहबाट छुटकारा दिलाउने काम राज्यको हो । न कि बेलाबेलामा दोषी तिमी नै हौ, हामीले जोगाइदिएका हौँ झैँ गरी घटनालाई प्रस्तुत गर्नु । राजदरबार घटनाका साक्षीहरू अझै जिउँदै छन्, घटनाको अध्ययन र छानबिन गर्न राज्यलाई कसले रोकेको छ र?

कुनै बेला थियो, यो मुलुकमा राजसंस्था थियो । राजा शक्तिशाली थिए । राजाको विरोध गरेर वाहवाही कमाइने बेला पनि थियो । तर, समय फेरिएको छ, अहिले नारायणहिटीको ठाउँ कसले लिइरहेको छ जगजाहेर छ । नेताहरू दिन प्रतिदिन कमजोर भूमिकामा देखिन थालेका छन् । नेताहरू कमजोर हुनु भनेको जनता कमजोर हुनु हो र अन्ततः मुलुक नै कमजोर हुनु हो । एकजुट हुनुपर्ने ठाउँमा नेताहरू एक–अर्कामा मिल्नै नसक्ने गरी टुट्नु र जुट्नै नपर्ने ठाउँमा अकस्मात् एकजुट हुनुलाई आश्चर्यजनक रूपमा लिइएको छ । वर्षौंदेखि सँगै राजनीति गरेका साथीभाइसँग आफ्नै मुलुकको विषयमा कुरा नमिल्नु, अरू कसैले यसो गर, उस गर भनेपछि सिद्धान्त, विचार केही नमिले पनि एक हुनु यी सब कुराबाट जनता बेखबर छैनन् । मुलुकको निर्णायक तह अर्थात् सत्ता र शक्तिभन्दा बाहिर रहेका राजालाई गाली गरेर आफ्नो कमजोरी ढाक्न सक्ने अवस्था छैन । यति हुँदाहुँदै पनि राजाहरू राष्ट्रवादी हुन्छन् भन्नेचाहिँ सबैलाई थाहा छ । राजाहरू राष्ट्रवादी हुन्छन् भन्ने कुराको एक मात्र तर्क देश रहे राजा हुने हो भन्ने नै हो । नेताहरूजस्तो मुख्यमन्त्री नै सही मुलुकमा अरू कसैले हैकम जमाएर के फरक पर्छ र ? भनेर कुनै पनि देशका राजा न त हिजो बस्थे न त आज । त्यसो त, असल नेताहरू भएको देशमा जनता या पूर्वराजाहरूले राष्ट्रियताको चिन्ता गर्नुपर्ने खासै अवस्था पनि रहँदैन । तर, यहाँको परिस्थिति अलि फरक छ, आन्दोलनको पृष्ठभूमिलगायतले विभिन्न कुराको निर्धारण गरेको देखिन्छ । कुनै पनि कुरा विगत भइसकेपछि पछुताउनुभन्दा वर्तमानमै अवस्था बिग्रन नदिनु नेतृत्वमा हुनुपर्ने गुणमध्ये एउटा हो । पूर्वराजाको विज्ञप्तिबाट प्रचण्ड, बाबुराम र विमलेन्द्रलाई पीडा पुगे पनि अन्य नेताहरूले भने सर्वसाधारणले झँै उहाँको धारणाको सम्मान नै गरेको देखियो । नेता भएपछि मुलुकबारे चिन्ता गर्ने जोकोहीको विचारलाई सम्मान गर्न सक्नुपर्छ ।

राजकाजमा गल्ती–कमजोरी सबैबाट हुन्छन् । तर, ती गल्तीहरू सच्याउन सकिने प्रकारका हुनुपर्छ । हिजो राजाबाट पनि गल्तीहरू भए, भएकै हुन् । यो मुलुकमा सबैभन्दा ठूलो गल्ती त गिरिजाप्रसाद कोइरालाबाट भयो । जुन गल्तीलाई सच्याउन नजाने कति समय लाग्ने हो । तर, यस्ता गल्ती नगरौँ जो भोलिको पुस्ताले चाहेर पनि सच्याउन नसकोस् ।