अल्डरसट । हङकङ नेपाली मञ्च यूकेको आयोजनामा अल्डरसटसिथत निरमाया दोहोरीमा गत शनिबार अपरान्ह तनहुँ-एक परिचय शीर्षकको डकुमेन्ट्रीको प्रदर्शनी गरिएको थियो । आई मोशन हङकङका श्यामसुन्दर थापाले अठारह महिना तनहुँका विभिन्न गाविसहरुमा घुमेर धैर्यताका साथ सो डकुमेन्टरीलाई पूरा गरेका थिए, जसलाई पूरा गर्नको लागि तनहुँ समाज हङकङले आर्थिक अभिभारा उठाएको थियो । डकुमेन्टरी पूर्णरुपले तनहुँप्रति समरेपित रहेको छ । भानुभक्तको जन्म गाउँ, घाँसी कुवा, एसिया महादेशकै ठूलो सिद्ध गुफा, व्यास गुफा आदिलगायतका स्थलगत अवलोकनका साथै तनहुँका प्रसिद्ध व्यक्तिहरुबाट जिल्लाको बारेमा गरिएका वखानहरुले तनहुँबासीहरुलाई मात्रै होइन, नेपालका विभिन्न जिल्लाका गाउँटोलहरुमा बस्नेहरुलाई पनि आआफ्नो गाउँघरको जस्ताको तस्तै सम्झना दिलाउन सक्षम यस डकुमेन्टरीलाई सो प्रदर्शनीमा आएका टाढा-टाढाका दर्शकहरुले अत्यधिक मन पराएका थिए ।
यूकेमा योलगायत तीन पटक प्रदर्शनी गरिएको यस डकुमेन्टरीको यो पछिल्लो प्रदर्शनीबाट उठेको रकम हङकङ नेपाली मञ्च यू्केको कोषमा जाने बताइएको छ भने, हङकङ तथा नेपालका विभिन्न शहरहरुमा भव्य प्रदर्शनी भइसकेको र भइरहेको यस डकुमेन्टरीको शोलगायत यसको डीभीडीको विक्रीबाट उठेको रकमले तनहुँ आदिबासी महासँघका साथै अन्य विभिन्न संघसंस्थासँगको संयुक्त सहयोगमा विभिन्न किसिमका सामाजिक कार्यक्रमहरु गरिने जानकारी डकुमेन्टरी टिमका भीम तमूले बताएका छन् ।
तनहुँ एक परिचयको अपार सफलताले गर्दा यस समूहले अर्को वर्षभित्र अर्को नयाँ डकुमेन्टरी लिएर आउने भएका छन् ।-याम, ब्राग्नेल, मेस
प्रतिक्रिया