दीप श्रेष्ठ हंगकंगमा सम्मानित

दीप श्रेष्ठ हंगकंगमा सम्मानित


हंगकंग । १८ जुन २०११ शनिबारको साँझ हंगकंगको केनेडी टाउनस्थित काठमाडौँ रेस्टुराँमा एक समारोह को आयोजना गरेर बरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठलाई सम्मान गरियो १ उक्त कार्यक्रममा हंगकंगका कलाकार द्वय गायक चेतमान गुरुङ अनि तबला बादक हरि श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । हंगकंग एकीकृत नेपाली समाज हंगकंगद्वारा आयोजना गरिएको उक्त सम्मान कार्यक्रम हंगकंग एकीकृत समाज हंगकंगका अध्यक्ष्य बुद्धि बहादुर थापाको सभापतित्वमा शिव के सीले संचालन गरेका थिए । आफ्नो बक्तव्यमा अध्यक्ष्य बुद्धि बहादुर थापाले बरिष्ठ गायक दीप श्रेष्ठले चार दशकभन्दा बढी समयसम्म अनवरत रुपमा नेपाली गीत-संगीतलाई देश तथा बिदेशमा चिनाउने प्रशंसनीय कार्य गरे बापत हंगकंग एकीकृत नेपाली समाज हंगकंगद्वारा दीप श्रेष्ठलाई सम्मान गरिएको प्रष्ट पारे । दीप श्रेष्ठ जस्ता महान कलाकारलाई सम्मान गर्न पाउँदा आफूलाई ज्यादै खुशी लागेको छ र भविष्यमा अझै मीठा-मीठा गीतहरु हामीले सुन्न पाऔं भन्दै अध्यक्ष्य थापाले हंगकंगका कलाकारद्वय चेतमान गुरुङ र हरि श्रेष्ठले हंगकंगमा बसेर पनि नेपाली गीत-संगीतको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रशंसा-पत्र साथै खादा लगाएर सम्मान गरेको हो भने ।
प्रमुख अतिथि एक नारायण शर्माले गायक दीप श्रेष्ठको स्वरको बयान गर्दै सम्झनास्वरूप उपहार दिएकाथिए । उक्त कार्यक्रममा नेपाल वायुसेवाकी श्रीमती सीता गुरुङ(पिया) का साथै अन्य अतिथिहरु अनि पत्रकारहरुको उपस्थिति थियो । आफ्नो मन्तब्य व्यक्त गर्ने क्रममा बरिष्ठ गायक दीप श्रेष्ठले कतारमा आफ्नो एकल साँझ प्रस्तुत गरी हंगकंग आएको र केही दिनमै चीनको गुवान्ग्झोउमा कार्यक्रम गरेर फर्केपछि नेपाल जाने कुराको जानकारी गराए र आफू सांगीतिक कार्यक्रमको सिलशिलामा जुन देशमा गए पनि सबैले यसरी नै माया तथा सम्मान गरेको र हंगकंगमा पनि हंगकंग एकीकृत नेपाली समाजले मलगायत गायक चेतमान गुरुङ अनि तबला बादक हरि श्रेष्ठलाई सम्मान गरेकोमा धन्यवाद दिन चाहन्छु भने । कार्यक्रमको अन्त्यमा रात्रि-भोजको व्यवस्था गरिएको थियो ।-हरि, हंगकंग