आकाश छुने रहर

आकाश छुने रहर


babita mam 2

– बबिता बस्नेत

दक्षिण एसियामा माथिल्लो ओहोदामा महिला अरू मुलुकमा भन्दा पहिला पुगे, तर किन महिलाको अवस्थामा आशातीत परिवर्तन हुन सकेन ? विश्वको पहिलो महिला राष्ट्रपति भएको मुलुक श्रीलङ्का दक्षिण एसियामै छ । इन्दिरा गान्धीदेखि बेनजिर भुट्टो, शेख हसिना र खालिदा जिया हँुदै सम्माननीय विद्या भण्डारीसम्म आइपुग्दा विश्वको राजनीतिक पदीय इतिहासमा दक्षिण एसियालाई महिला नेतृत्वको हिसाबले कम भन्न मिल्ने अवस्था पटक्कै छैन । तैपनि दक्षिण एसियाली महिलाको हैसियत किन माथि उठ्न सकेको छैन ? किनभने घर बलियो हुनका लागि जग बलियो हुनुपर्छ । जग अर्थात् ग्रामीण क्षेत्र र समुदायका महिलाको सशक्तीकरण नहुँदा माथिल्लो तहको छानोले मात्रै थेग्न सकेन । त्यसैले महिलाको आत्मसम्मानपूर्ण हैसियत बढाउने हो भने समुदायका महिलाको नेतृत्व बढाउनु जरुरी छ भन्ने निष्कर्ष र कार्ययोजनाका साथ गत हप्ता पाकिस्तानको राजधानी इस्लामावादमा ‘साउथ एसियन विमेन अलाएन्स फर कम्युनिटी लिडर’ (सावा) सम्मेलन सम्पन्न भएको छ ।

नेपालबाट दलित र हरुवा–चरुवा समुदायको समेत सहभागिता रहेको उक्त कार्यक्रममा समुदायमा रहेर विभिन्न क्षेत्रमा काम गरिरहेका महिलाको सहभागिता रहेको थियो । भारतको सेवादेखि नेपालको सबासम्म, पाकिस्तानका ग्रामीण भेगमा विभिन्न चुनौती खेपेर काम गरिरहेका महिलादेखि बंगलादेश र श्रीलङ्काका दुर्गम क्षेत्रका प्रतिनिधिसम्म एकै ठाउँमा भेला भएर त्यसरी समुदायमा कार्यरत महिलाले कुराकानी र छलफल गर्न पाएको शायद पहिलोपटक थियो । नेपाल दक्षिण एसिया र विश्वकै अगाडि अहिले महिला अधिकारको क्षेत्रमा अगाडि देखिएको छ । कारण यहाँ विभिन्न उच्च पदमा महिलाको सहभागिता छ । समुदायका महिला राजनीतिमा आएका छन् । धेरै सांसद विभिन्न समुदायबाट प्रतिनिधित्व गरिरहेका छन् । तर, स्थानीय चुनाव हुन नसक्दा समुदायमै नेतृत्वमा स्थापित हुन सक्ने ठूलो जमात त्यसै रुमल्लिइरहेको छ ।

‘हामी गाउँमा चितुवा, हात्तीलगायतका जनावरहरूसँग लड्दै जीवन धानिरहेका छौँ । तिनीहरूसँग लड्न त्यति गाह्रो छैन जति पितृसत्तासँग लड्न छ । पुरुष भएर जन्मिनु आफैँमा योग्यता हो झैँ गर्ने प्रवृत्तिको अन्त्य नभएसम्म महिलालाई समुदायमा काम गर्न गाह्रो छ ।’ यस्ता कथा बोकेका महिलाका सङ्घर्षपूर्ण गाथाहरू अभिलेखबद्ध गर्न लायकका थिए । ‘पुरुषले कुरा गर्ने काम गरेर समुदायमा आफ्नो प्रतिनिधित्व जमाइरहेका छन्, महिलाले काम नै गरेर समुदाय धानेका छन्,’ एकजना वक्ताले यसोभन्दा सप्तरीकी चण्डेश्वरी सदा, चित्लाङकी सरस्वती विसुंखे र काभ्रेकी निर्मला श्रेष्ठले मात्र होइन विभिन्न मुलुकबाट त्यहाँ पुगेका ग्रामीण भेगका महिलाले टाउको हल्लाउँदै ताली बजाए । उर्दूमा यस्तो भनाई नै रहेछ, ‘यदि कुनै काम गर्नु छ भने महिलालाई दिनुपर्छ, कुरा गर्नु छ भने पुरुषलाई भन्नुपर्छ ।’

ग्रामीण महिलाले ‘जनावरबाट त हामी आफैँ बच्छौँ, मान्छेबाट बाँच्न गाह्रो भो’ भनेको सुन्दा हामी बाँचेको संसारको पुनर्संरचना नगरी खुसी हुन सकिएलाजस्तो लागेन । पाकिस्तानको दुर्गम गाउँबाट कार्यक्रममा भाग लिन आएकी रिज्जत चौधरीलाई कार्यक्रम कस्तो लाग्यो ? भनेर सोधेकी थिएँ । उनले भनेकी थिइन, ‘सानो छँदा आकाश छुने रहर थियो, ठूलो भएपछि घरको घेराबाट बाहिर निस्कन गाह्रो भयो । यहाँ आएपछि फेरि आकाश छुन सक्छु कि जस्तो लागेको छ ।’

गत वर्षदेखि सुरु भएको समुदायमा नेतृत्व गर्ने महिलाको सङ्गठन ‘सावा’ फैलँदो क्रममा छ । समुदायका महिलाको कुराकानी पदीय हैसियतमा बसेका मानिसको भन्दा धेरै शक्तिशाली लाग्यो । उनीहरूले सानाजस्ता लाग्ने, तर मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने कुरा गरे । धेरैजसो अन्तर्राष्ट्रिय या क्षेत्रीय सम्मेलनमा ठूलाठूला कुरा गरिन्छ, यसपटकको सम्मेलनले भने मानिसको जीवनका वास्तविक पाटाहरू र भोगाइहरू यसरी उजागर ग¥यो कि त्यहाँ भएका कुराहरूले आफूले गरेका कामहरूमा कुनै न कुनै रूपमा प्रभाव पारिनै रहनेछ । कार्यक्रमका सन्दर्भमा सबा नेपालकी अध्यक्ष सृष्टि जोशी मल्लको भनाइ थियो, ‘समुदायका महिलाका अगाडि आफूले त खासै केही जानेको रहेनछु जस्तो लाग्यो । उहाँहरूबाट सिक्नुपर्ने कुराहरू धेरै छन् । उहाँहरूको अनुभवलाई राज्य संरचनाको मूलधारमा ल्याउन पाए मुलुकमा वास्तविक परिवर्तन आउँथ्यो भन्ने महसुस भएको छ ।’ सृष्टि साउथ एसियन विमेन फण्डकी बोर्ड अफ डाइरेक्टरसमेत हुन् ।

दक्षिण एसियाकी साझा व्यक्तित्व मानिनुहुने चाँदनी जोशीलाई पाकिस्तानमा माननीय चाँदनी जोशी भनेर सम्बोधन गरिँदोरहेछ । त्यहाँका सांसददेखि महिला आयोगकी अध्यक्षसम्मको यस्तो सम्बोधन सुन्दा र उहाँप्रति मानिसले शिर झुकाएर गरेको सम्मान देख्दा ओहो हाम्रो देशमा यस्ता गरिमामय व्यक्तित्व पनि छन् भनेर गर्वले शिर उच्चो भयो । कार्यक्रमको उद्घाटनमा सहभागी हुनुभएकी पाकिस्तानका लागि नेपाली राजदूत सेवा अधिकारीले यस पङ्क्तिकारसँग भन्नुभएको थियो, ‘चाँदनी जोशीलाई त यहाँ असाध्यै मान्दा रहेछन्, उहाँको सम्मान ठूलो छ ।’ कुनैबेला पद्मकन्या क्याम्पसमा प्राध्यापन गर्नुभएकी चाँदनी जोशी नेपाल सरकारकी पदाधिकारीसमेत हुनुहुन्थ्यो । महिला बिकास शाखाको स्थापनासँगै नेपालमा महिलाको पेवा बढाउने कार्यक्रम उहाँकै प्रयासमा सुरु भएको हो । संयुक्त राष्ट्रसङ्घीय महिला विकास कार्यक्रम युनिफेमको दक्षिण एसिया निर्देशक भएर उहाँले पाकिस्तानमा चार वर्ष काम गर्नुभएको थियो । पछि युनिफेमको क्षेत्रीय कार्यालय नयाँदिल्ली सरेपछि उहाँले नयाँ दिल्लीमै बसेर दक्षिण एसिया हेर्नुभयो । उहाँले पाकिस्तानमा चार वर्ष बस्दा गर्नुभएका काम मानिसले नभुलेका मात्र होइन तपाईंले बनाइदिनुभएको महिला विकासको आधारमा टेकेर हामी हिँडिरहेका छौँ भनेर त्यहाँका नेतादेखि अधिकारकर्मीहरू सबैले भन्दारहेछन् । मन्त्रालयमा भएका बैठकहरूमा मन्त्रीहरूले दिएको सम्मान, उहाँको सम्मानमा पार्टी दिन चाहनेहरूको तँछाड–मछाड सिनेमाका दृश्यझैँ लाग्यो ।

समुदायका महिलालाई कसरी नेतृत्व तहमा पु¥याउने भन्ने विषयमा संगीता थापाको मन्तव्य उल्लेखनीय थियो । संगीता अहिले यूएन विमेनको उप प्रमुखका रूपमा पाकिस्तानमा कार्यरत हुनुहुन्छ । नेपालमा रहँदा महिला मन्त्रालय र युनिफेममा गरेको कामको अनुभवले पाकिस्तानमा उहाँको उपस्थितिलाई दर्बिलो बनाइदिएको छ । करिब एक दर्जन नेपाली पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय निकायमा काम गर्छन् । अघिल्लोपल्ट सार्क जेन्डर पोलिसी एड्भोकेसी ग्रुपको औपचारिक बैठकमा भाग लिन इस्लामावाद गएका बेला त्यहाँकी राष्ट्रिय महिला आयोगकी अध्यक्ष खाबर मुमताजले भनेकी थिइन्– मान्छेलाई मान्छेबाट जोगाउन कस्तो नीति बनाउने भनेर हामी कुरा गरिरहेका छौँ । यसपटक ग्रामीण महिलाले ‘जनावरबाट त हामी आफैँ बच्छौँ, मान्छेबाट बाँच्न गाह्रो भो’ भनेको सुन्दा हामी बाँचेको संसारको पुनर्संरचना नगरी खुसी हुन सकिएलाजस्तो लागेन । पाकिस्तानको दुर्गम गाउँबाट कार्यक्रममा भाग लिन आएकी रिज्जत चौधरीलाई कार्यक्रम कस्तो लाग्यो ? भनेर सोधेकी थिएँ । उनले भनेकी थिइन, ‘सानो छँदा आकाश छुने रहर थियो, ठूलो भएपछि घरको घेराबाट बाहिर निस्कन गाह्रो भयो । यहाँ आएपछि फेरि आकाश छुन सक्छु कि जस्तो लागेको छ ।’ ग्रामीण महिलाको उत्साह, जोस र केही गर्ने चाहनालाई मूल प्रवाहीकरण गर्न सावा सफल भएमा सबै सार्क मुलुकमा समानताको जग कसैले हल्लाउन नसक्ने गरी दह्रो बन्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।