विद्यालय भवन उद्घाटन गर्न राजदूतको दौडाहा

विद्यालय भवन उद्घाटन गर्न राजदूतको दौडाहा


26 PR Pic

नेपालको पूर्वी क्षेत्रका दुई जिल्लाको तीनदिवसीय यात्रा सम्पन्न गरेका नेपालका लागि भारतीय राजदूत रणजित रायले भ्रमणका क्रममा नवनिर्मित पाँचवटा विद्यालय भवनको उद्घाटन गरेका छन् । भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत भारत सरकारको नौ करोड ७० लाख रुपैयाँको सहयोगमा झापा र धनकुटा जिल्लाका विभिन्न स्थानमा निर्माण भएका विद्यालय भवनहरूको राजदूत रायले गत साता उद्घाटन गरेका हुन् ।

गत बिहीबार झापाको शान्तिनगरस्थित आदर्श माध्यमिक विद्यालय, बनियानीस्थित लक्ष्मी माध्यमिक विद्यालय र राजगढस्थित पशुपति माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै राजदूत रायले भारत सरकारको सहयोगमा झापामा निर्माण सम्पन्न भएका चौधवटा र निर्माणाधीन अन्य ६ वटा परियोजनामार्फत झापावासीले विभिन्न सुविधा हासिल गर्न सक्ने बताए । उल्लिखित तीन विद्यालय भवन निर्माणका लागि भारत सरकारले पाँच करोड ६० लाख रुपैयाँ उपलब्ध गराएको र बीसवटै परियोजना सम्पन्न गर्न ५५ करोड ६० लाख रुपैयाँ भारतीय सहयोग उपलब्ध भएको राजदूतको प्रस्टोक्ति थियो । झापाका लागि एघारवटा एम्बुलेन्स र एउटा स्कुल बससमेत मित्रराष्ट्र भारतले उपलब्ध गराएको उक्त अवसरमा जानकारी दिइयो । राजदूत रायले स्थानीय जनताको सेवा–सुविधाका लागि भारत सरकारले थप सहयोग प्रदान गरिरहने जनाउँदै झापाका स्कुलबाट दश कक्षामा उत्कृष्ट अङ्क ल्याउने मेधावी छात्रछात्रालाई प्रतिस्कुल दुई–दुईजनाका दरले प्लस टु अध्ययनका लागि महात्मा गान्धी छात्रवृत्ति प्रदान गरिने घोषणासमेत गरे ।

यस्तै, धनकुटाको पाख्रिबासस्थित जाल्पादेवी माध्यमिक विद्यालय र मारेकटहरेस्थित शारदा माध्यमिक विद्यालयको नवनिर्मित भवनको पनि राजदूत रायले उद्घाटन गरे । ती विद्यालय भवनका लागि भारत सरकारबाट चार करोड चालीस लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । उक्त अवसरमा राजदूत रायले शिक्षाको अपरिहार्यतामाथि जोड दिँदै नयाँ विद्यालय भवनबाट हजारौँ छात्रछात्राले थप सुविधा पाउने र अध्ययन–अध्यापनको गुणस्तर वृद्धिमा यसबाट ठूलै टेवा पुग्ने अपेक्षा प्रकट गरे । धनकुटामा निर्माणाधीन थप तीनवटा परियोजनाको निम्ति ४ करोड साठी लाख रुपैयाँ र विगतमा ६ वटा एम्बुलेससमेत सो जिल्लाको निम्ति भारत सरकारबाट उपलब्ध भएको उक्त अवसरमा जानकारी दिइयो ।

पोखरामा गोर्खा राइफल्स समारोह

26 Pr 1
गोर्खा सैनिक सेवाको दुई सय वर्ष पूरा भएको उपलक्ष्यमा पोखरास्थित नवौँ गोर्खा राइफल्सको पेन्सन वितरण कार्यालय परिसरमा गत साता धुमधामका साथ ‘गोर्खा राइफल्स दुई सयौँ वर्ष समारोह’ आयोजना गरिएको छ । नेपालस्थित भारतीय दूतावासअन्तर्गत रक्षा विङ्गको आयोजनामा सम्पन्न समारोहमा तीन हजार पाँच सयको हाराहारीमा पूर्वगोर्खा सैनिक तथा तिनका परिजनले उत्साहपूर्वक सहभागिता जनाएका थिए । भारतीय सेनाका मानार्थ जनरलसमेत रहनुभएका नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपालका लागि भारतीय राजदूत रणजित राय, भारतीय स्थलसेनाका लेफ्टिनेन्ट जनरल एके भट्टलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको समारोहको आरम्भमा सहिदहरूलाई श्रद्धाञ्जली दिइयो भने कर्णेल मैनराजसिंह मानले स्वागत मन्तव्यका साथ नवौँ गोर्खा राइफल्सबारे जानकारी दिए । प्रधानसेनापति क्षत्री र राजदूत रायले पनि समारोहलाई सम्बोधन गरेका थिए ।