
– योगेन्द्र गौतम
नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाली जनसम्पर्क समितिको स्थापना सन् १९७६ जुन १३ का दिन भारतको मुम्बईमा जननायक बीपी कोइरालाबाट गरिएको थियो । अछामका केएस रावल (संस्थापक अध्यक्ष) को नेतृत्वमा गठन भएको नेपाली जनसम्पर्क समिति (भारत) समयक्रममा मुम्बईदेखि भारतका हरेक राज्यमा विस्तार हुँदै गयो । चन्डीगढ, दिल्ली, भोपाल र चेन्नईमा क्षेत्रीय समितिको गठन हुँदै कार्यालय स्थापित भए । यस संस्थाप्रति भारतमा रहने नेपालीको आकर्षण बढ्दै गयो । बीपीका विचारलाई जान्ने एउटा साझा मञ्चको रूपमा नेपाली जनसम्पर्क (भारत)ले भारतवासी समस्त नेपालीलाई सङ्गठित हुने अवसर प्रदान ग¥यो ।
नेपालमा राजनीतिक पार्टी खोल्न र प्रजातन्त्रको आवाजसम्म उठाउन बन्देज गरेको एकदलीय निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध मोर्चाबन्दी गर्न नेपालमा अनुकूल नहँुदा नेपाली जनसम्पर्क समिति (भारत) न्यायप्रेमी नेपाली जनताका आवाजलाई लिएर भारत र नेपालमा गुञ्जिन सफल रह्यो । बीपीले मेलमिलापको नीति अँगालेर ०३३ सालमा भारतबाट नेपाल प्रवेश गर्दा नेपाली जनसम्पर्क समिति (भारत)ले गरेको योगदान नेपाली काङ्ग्रेसको ऐतिहसिक दस्ताबेजमा सुरक्षित नै छ ।
त्यसो त नेपालीहरू भारतबाहेक पनि रोजगारी तथा व्यवसायको निम्ति विश्वका कुना–कुनासम्म फैलिसकेका छन् । तिनले नेपाली काङ्ग्रेसको सिद्धान्त र बीपीका विचार तथा आदर्श एवम् समाजवादी दर्शनको चिन्तनलाई जीवित राख्दै काङ्ग्रेसको झन्डामुनि गोलबद्ध भई नेपाली जनसम्पर्क समितिमा आबद्ध रहेर पार्टीका दैनिक गतिविधि तथा क्रियाकलाप सञ्चालन गर्दै आएका छन् । नेपालमा घट्ने प्राकृतिक विपत्देखि मानवीय घटना तथा राजनीतिक परिघटनाका क्रममा तिनले नैतिक तथा आर्थिक सहयोग पु¥याउँदै आएका छन् । नेपाली जनसम्पर्क समिति विश्वकै महाशक्ति देश अमेरिकादेखि युरोप, अस्ट्रेलिया, जापान र खाडी मुलुकहरूमा पनि स्थापित भइसकेका छन् । नेपाली जनसम्पर्क समिति विदेशमा हरेक नेपालीको सामाजिक, कानुनी र व्यक्ति–व्यक्तिका समस्या समाधानको उपाय खोज्दै नेपाली समुदायलाई अझै सशक्त बनाउने काममा सधैँ लागिरहेको छ । छिमेकी मुलुक भारतमा काम गर्ने नेपालीको समस्यालाई नेपाली जनसम्पर्क समिति (भारत)ले समय–समयमा नेपाली काङ्ग्रेका नेतालाई जानकारी गराउँदै आइरहेको छ ।
अस्ट्रेलिया र बेलायतमा नेपाली जनसम्पर्क समितिको समानान्तर कार्यसमिति छन्, जसले एक–अर्कोको नेतृत्व स्वीकार गर्दैन । यसरी कचिङ्गल गर्नेहरू आफू नेता बन्न सम्बन्धित देशमा रहेका नेपालीजनको साथ, सहयोग र समर्थन हासिल गर्ने सत्प्रयत्न नगरी नेपालमा रहेका नेताहरूको चाकडी गर्न रुचाउने गरेका कुरा पनि सतहमा आएको छ । डलर, पाउन्ड, युरो, येन र जिन्सीको गफ दिएर नेताको समर्थन हासिल गर्ने धुनमा रहेकाहरू दिनमा दशपटक नेतालाई फोन गर्ने, महँगा मोबाइल, ल्यापटप, गरगहनालगायत सामान उपहार दिएर नेताहरूलाई भ्रष्ट बनाउने कोसिससमेत गर्छन् भन्ने सुनिन्छ । यो प्रवृत्ति विदेशमा क्रियाशील जनसम्पर्क समितिको अन्धकार भविष्यको द्योतक हो भन्दा फरक पर्दैन । यहाँनेर भन्नैपर्ने कुराचाहिँ के छ भने विशाल भारतमा अहिले यो संंस्था नेतृत्वविहीन अवस्थामा अलपत्र परेको छ ।
काङ्ग्रेस एउटा लोकतान्त्रिक पार्टी भएकाले पार्टीमा आन्तरिक प्रतिस्पर्धा र विदेशमा रहेका नेपाली जनसम्पर्क समितिमा पनि गुट–उपगुटको असर प्रत्यक्ष देखापर्दै गएको छ । युरोप, अमेरिका, जापान र अस्ट्रेलियामा त यसभित्र ठूलै विवाद मच्चिँदै आएको सुनिनु दुःखद् विषय हो । आन्तरिक कलह बाहिरसमेत छताछुल्ल हुने गरेको त बेलायत, अस्ट्रेलिया र जापानमा पनि देखियो । अमेरिकामा भूकम्पपीडितको लागि जम्मा गरेको हजारौँ डलर नेपाली जनसम्पर्क समितिबाट हिनामिना भयो भन्ने समाचार सुन्नुपर्दा कुन इमानदार कार्यकर्ताको मुटुमा गाँठो पर्दैन होला र ?
अस्ट्रेलिया र बेलायतमा नेपाली जनसम्पर्क समितिको समानान्तर कार्यसमिति छन्, जसले एक–अर्कोको नेतृत्व स्वीकार गर्दैन । यसरी कचिङ्गल गर्नेहरू आफू नेता बन्न सम्बन्धित देशमा रहेका नेपालीजनको साथ, सहयोग र समर्थन हासिल गर्ने सत्प्रयत्न नगरी नेपालमा रहेका नेताहरूको चाकडी गर्न रुचाउने गरेका कुरा पनि सतहमा आएको छ । डलर, पाउन्ड, युरो, येन र जिन्सीको गफ दिएर नेताको समर्थन हासिल गर्ने धुनमा रहेकाहरू दिनमा दशपटक नेतालाई फोन गर्ने, महँगा मोबाइल, ल्यापटप, गरगहनालगायत सामान उपहार दिएर नेताहरूलाई भ्रष्ट बनाउने कोसिससमेत गर्छन् भन्ने सुनिन्छ । यो प्रवृत्ति विदेशमा क्रियाशील जनसम्पर्क समितिको अन्धकार भविष्यको द्योतक हो भन्दा फरक पर्दैन । यहाँनेर भन्नैपर्ने कुराचाहिँ के छ भने विशाल भारतमा अहिले यो संंस्था नेतृत्वविहीन अवस्थामा अलपत्र परेको छ ।
धेरैजसो मुलुकमा नेपाली जनसम्पर्क समितिमा नैतिकता, क्षमता र योग्यता नभएका व्यक्तिहरू नेतृत्वमा पुगेकाले इमानदारीकै खडेरी परेको देखिन्छ । नेपाली जनसम्पर्क समितिको नेतृत्वमा रहेर बीपीका सपना पूरा गर्ने प्रतिबद्धता जनाएका विदेशस्थित जनसम्पर्क समितिको नेतृत्वहरू नेतामोह दर्शाउँदै र तिनको गुलामी गर्दै नेताकै आडमा गफ–धाक दिएर भ्रष्टाचार, मानवतस्करी, गुटबन्दी, नातावाद, कृपावादमा नराम्ररी फसेकाले समितिको बदनाम हुन पुग्दा बीपीका सच्चा अनुयायीलाई धुरुक्कै रुवाएको छ ।
विदेशस्थित जनसम्पर्क समिति जुन उद्देश्य लिएर गठन भएका थिए, पार्टीबाट तिनले जसरी मान्यता पाएका थिए, पछिल्लो समयमा आएर ती उल्टो दिशामा परिचालित भएका स्पष्ट देखिन्छन् । विपत्मा परेका नेपालीलाई सहयोगभन्दा पनि थप दुःख–पीडा दिने, रकम ठगी गर्ने, अन्तर्घात गर्ने, खुराफातको प्रदर्शन गर्ने, दलालीगिरी गरी संस्थाभित्रै भाँडभैलो मच्चाउनेजस्ता असामाजिक, अराजनीतिक विकृतिबाट ग्रस्त हुँदै विदेशमा रहने नेपाली समुदायमा नेपाली जनसम्पर्क समितिलाई नै बदनाम तुल्याउने कार्य बढेर गएको छ ।
यसर्थ, नेपाली काङ्ग्रेसको नेतृत्व तथा नेताहरूले नेपाली जनसम्पर्कलाई विदेशमा मर्यादित र भरपर्दो संस्थाको रूपमा जिउँदो राख्न खास पहलकदमी लिनु अपरिहार्य भएको छ । बिनापूर्वाग्रह दूधलाई दूध र पानीलाई पानी भन्न जिम्मेवार नेता वा नेतृत्वले अप्ठ्यारो मान्न हुँदैन । गलत क्रियाकलाप र अपराधीकरणमा संलग्न भई पार्टीको बदनाम गर्ने जो–कोहीलाई उचित कारबाही गर्न हिच्किचाउनुहुँदैन । नीति–सिद्धान्तको परिधिमा रही नेपाली जनसम्पर्क समितिलाई विदेशमा रहेका सबै काङ्ग्रेसजनको अपनत्व भएको संस्थाको रूपमा विकसित तुल्याउनुपर्छ, सोहीअनुसारका कार्यक्रम र क्रियाकलाप सञ्चालन गरिनुपर्छ । भएका ठाउँमा पार्टीले सीधा हस्तक्षेप गरी विवादलाई सामान्यकारण गर्न सक्नुपर्छ । पार्टीको मौनताले नेपाली जनसम्पर्क समितिहरूमा भाँडभैलो मच्चिरहने अवस्था अब थप तन्किन दिनुहुँदैन । नेपाली जनसम्पर्क समितिलाई सच्चा र इमानदार काङ्ग्रेसी कार्यकर्ताहरूको भर–विश्वासको थलो बनाउन काङ्ग्रेस नेतृत्वको प्रत्यक्ष निगरानी तथा अनुगमनको आवश्यकता छ, शीर्ष नेतृत्व तहलाई चेत रहोस् ।
प्रतिक्रिया