फागुन ५ देखि पूर्व श्री ५ मैदानमा

फागुन ५ देखि पूर्व श्री ५ मैदानमा


Gyanendra-Shah

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विशेष राजनीतिक संवादका निम्ति गत साता थाइल्याण्डको राजधानी बैंकक पुग्नुभएको छ । गत बुधबार (माघ १९ गते) साँझ चिनियाँ राष्ट्रपति सी जिनपिङका विशेष प्रतिनिधिहरूसँग रात्रिभोजसहितको भेटवार्तापछि उहाँँ बैंकक प्रस्थान गर्नुभएको हो । तात्कालिक युवराज्ञी हिमानी शाह र स्वकीय सचिवलाई साथमा लिएर बैंकक पुग्नुभएका पूर्व श्री ५ ले त्यहाँ चीन र भारतका विशेष दूतहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने समाचार सूत्रहरूले जनाएका छन् । बैंकक प्रस्थान गर्नुअघिका केही दिनभित्र उहाँले नेपालमा केही राजनीतिक दलका नेताहरूसँग परामर्श गर्नुभएको पनि बुझिएको छ । उहाँ माघको २७ या २८ गते स्वदेश फर्कनुहुने बताइएको छ ।

पछिल्लो समयमा तात्कालिक राजा ज्ञानेन्द्र राष्ट्रिय मुद्दाहरूमा अलिक मुखरित भएर प्रस्तुत हुँदै आउनुभएको छ भने स्वदेशी नेता र बुद्धिजीवी तथा मित्रदेशका दूतहरूसँगको बैठक तथा परामर्शलाई पनि उहाँले प्राथमिकता दिन थाल्नुभएको छ । भनिन्छ, राजसंस्थाको भविष्यबारे पूर्व श्री ५ अब निर्णायक वार्तालापको चरणमा प्रवेश गर्नुभएको छ र अबका वार्तालाप तथा बैठकहरूले कुनै न कुनै रूपको ठोस परिणाम हासिल हुने आशा उहाँले गर्नुभएको छ । राजसंस्थाले ‘स्पेस’ पाउने या नपाउने भन्ने कुराको निक्र्योल गरिसकेपछि पूर्व श्री ५ बाट ठोस कदम चालिने बताइएको छ ।

बैंककबाट फर्किएपछि केही दिन राजधानीमा रहेर पूर्व श्री ५ सपरिवार तराई मधेसको विशेष भ्रमणमा जानुहुने जानकारी घटना र विचारलाई प्राप्त भएको छ । समाचारअनुसार उहाँ आगामी फागुन ५ गते बाराको सिमरा पुग्नुहुनेछ । फागुन ७ गते पूर्व श्री ५ बडामहारानी कोमलको ६७औँ जन्मदिवस सिमरामै मनाएपछि सिमरालाई मुकाम बनाएर उहाँ तराई मधेसका केही जिल्लाको भ्रमणमा जानुहुने बुझिएको छ । सप्तरीदेखि पर्सासम्मका विभिन्न स्थानको भ्रमणमा गई उहाँले जनतासँग प्रत्यक्ष सम्पर्क गर्नुहुनेछ र करिब दुई सातापछि उहाँ राजधानी फर्कनुहुने समाचार सूत्रहरूले जनाएका छन् । मधेसी मोर्चाका नेताहरू ‘टेबुल सङ्घर्षमा रहेका’ र कुनै पनि बेला तराईमा सङ्घर्ष सुरु गर्ने तयारीमा रहेका बेला पूर्व श्री ५ बाट हुन लागेको मैदानको भ्रमण अर्थपूर्ण हुन सक्ने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ । महन्थ ठाकुरदेखि सीके राउतसम्मको गतिविधि बढिरहेको बेला पूर्व श्री ५ बाट मैदानका जिल्लाहरूको भ्रमण गर्नु आफैँमा अर्थपूर्ण हुने विश्लेषकहरूको ठहर छ ।