
सुर्तीजन्य पदार्थ चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा आदि सार्वजनिक रूपमा बिक्रीवितरण हुँदा महिला र बालबालिकाको स्वास्थ्यमा समेत गम्भीर असर परेको भनी बिक्रीवितरण व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयमा गुनासो बढेको छ । यसरी आएको गुनासोप्रति सम्बन्धित निकायले संवेदनशीलता दर्शाएको छ । जसअनुसार सरकारले धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था लागू गरेको छ । सुर्ती सेवनले जनताको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको जनाउँदै स्वास्थ्य मन्त्रालयले पेस गरेकोे प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषद्को गत माघ ६ को बैठकले सो निर्णय गरे पनि हिजो मंगलबारदेखि नियम कार्यान्वयनमा ल्याइएको हो ।
सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी कारोबार गर्न दर्ता भई आन्तरिक राजस्व कार्यालयबाट छुट्टै इजाजतपत्र लिएर सूर्तीजन्य पदार्थको मात्र कारोबार गर्ने छुट्टै पसलबाट मात्र सुर्तीजन्य सामग्री बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ । तोकिएको फागुन मसान्तभित्र दर्ता गर्ने निकायमा दर्ता नभई र इजाजतपत्र नलिई सुर्तीजन्य पदार्थको कारोबार गरेको पाइएमा ऐनबमोजिम कारबाही गरिने स्वस्थ्य मन्त्रालयले जनाएको छ । इजाजतपत्र लिएका बिक्रेताले आफ्नो पसल अगाडि सजिलै देख्न र पढ्न सक्ने गरी १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई सूर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने तथा गर्भवतीलाई सूर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने सूचना टाँस्नुपर्ने समेत नियममा उल्लेख छ ।
प्रतिक्रिया