शिक्षामा थिति बसाल्न बेग्लै अभियानको तयारी

शिक्षामा थिति बसाल्न बेग्लै अभियानको तयारी


Pramod Dhungel

हुन त मुलुकका हरेक क्षेत्रले लगानीअनुरूप प्रतिफल दिन सकेका छैनन् । त्यसमाथि शिक्षा क्षेत्र त अग्रस्थानमा नै आउँछ । नेपालमा दामअनुरूप शिक्षा लिन सकिन्छ । धनीले पाउने र गरिबले पाउने शिक्षामा आकाश–जमिनको भिन्नता छ । मुलुकका हरेक बालबालिकाले एकखालै शिक्षा पाउनुपर्ने अधिकारको वकालत गर्छन्, शिक्षा क्षेत्रमा जीवन समर्पित शिक्षक प्रमोदकुमार ढुङ्गेल ।

राजधानीको सुविधासम्पन भानुभक्त मेमोरियल उच्च माध्यमिक विद्यालयको निर्देशकको समेत जिम्मेवारी निर्वाह गरिसकेका ढुङ्गेल मुलुकको शिक्षा क्षेत्रमा व्याप्त धनी र गरिबबीचको खाल्डो कसरी पुर्न सकिन्छ भन्ने सोचमा छन् । त्यही सोचअनुरूप नेपालमा दूरशिक्षाको पहिलो प्रयोग उनले नै गरे । मुलुकभरका विद्यार्थीले समान शिक्षा पाउन् भन्ने अभिलाशासहित नेपाल टेलिभिजनले सुरु गरेको दूरशिक्षा कार्यक्रम– सरल शिक्षाका उनी पहिलो प्रस्तोता मात्र थिएनन्, संयोजक पनि थिए । साथै उनकै योजनाअनुरूप हिमालय टाइम्सले एसएलसीका विद्यार्थीका उपयोगी सामग्री प्रकाशन गर्ने अभियान सुरु गरेको थियो । उनकै सक्रियतामा ती सामग्री तयार हुन्थे ।

आपूmले अध्यापन गराउने विद्यालयसमेत गरिब विद्यार्थीप्रति जवाफदेही हुनुपर्छ भन्ने सोच र योजनासहितले उनले राम्रै सङ्ख्यामा भानुभक्त मेमोरियलमा गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने अभियानको थालनी गरेका थिए । झन्डै तीन दशकभन्दा लामो समय शिक्षा क्षेत्रमा बिताइसकेका ढुङ्गेल अहिले पनि मुलुकमा शिक्षाको खाल्डो पुर्ने अभियानमा त संलग्न छन् नै साथै शिक्षण पद्धतिसमेत समान हुनुपर्छ भन्ने सोचमा अघि बढिरहेका छन् । सोहीअनुरूप तालिम प्राप्त शिक्षकबाट मात्रै सार्थक शिक्षा पाउन सकिन्छ भन्ने अभियानमा पनि सरिक छन् उनी ।

विदेशको शिक्षण पद्धतिको अनुभव बाँड्न उनी आपूm सम्बन्धित विद्यालय तथा अन्य विद्यालयबाट समेत शिक्षक तथा विद्यार्थीलाई वैदेशिक भ्रमणको अवसर जुटाउन पनि सक्रिय छन् । सरकारको असहयोग तथा आर्थिक अभावका कारण उनको यो अभियानले सोचअनुरूप गति भने लिन सकेको छैन ।
उनी भन्छन्, ‘यहाँ आपूmले चाहेर मात्र केही हुँदैन रहेछ । नीति निर्माण तहमा रहेकाहरूमै केही गरूँ भन्ने सोच नपलाएसम्म शिक्षा मात्र होइन हरेक क्षेत्रको दुर्गतिसिवाय केही हुनेवाला छैन ।’

‘हामीले दूरगामी शिक्षालाई मात्र प्रभावकारी बनाउन सक्यौँ भने शिक्षाको स्तरमा रहेको खाडल धेरै हदसम्म पुर्न सक्नेछौँ,’ उनी भन्छन्, ‘यसले विद्यार्थी मात्र नभएर शिक्षकले समेत धेरै सिक्न सक्नेछन् ।’

शिक्षा क्षेत्रमा व्याप्त बेथितिहरू शिक्षा क्षेत्रमा रहेका माफियाहरूको योगदान हो भन्न नहच्किने ढुङ्गेल भन्छन्, ‘शिक्षालाई व्यापार मान्नेहरूको जबसम्म रजगज चल्छ हाम्रा बालबालिकाले योभन्दा असल शिक्षा पाउन सक्दैनन् । यस विषयमा राज्यको संयन्त्रसमेत सजग हुन आवश्यक छ । शिक्षामा राज्यले लागनी गरेअनुरूप प्रतिफल पाउन सकेको छैन ।’

०४२ देखि शिक्षण पेसामा सक्रिय ढुङ्गेल अब शिक्षा क्षेत्रमा थिति कसरी बसाल्ने भन्ने अभियान नै सञ्चालन गर्नुपर्छ भन्ने योजनामा छन् । त्यसैले उनी आपूmसँग विचारमिल्दो शिक्षाविद्हरूसँगको सहकार्यमा यो अभियानलाई कसरी अगाडि बढाउने भन्ने योजना बुन्दै पनि छन् । उनी भन्छन्, ‘अहिले धेरै मित्रहरू हाम्रो अभियानमा रुचि देखाएर अगाडि आइरहनुभएको छ । एउटा गतिलै अभियानको थालनी हुन्छ भन्ने मेरो विश्वास छ ।’ त्यसैले अहिले उनी खाइपाइ आएको तलबी जागिरसमेत छाडेर सो अभियान सुरु गर्ने तयारीमा लागेका छन् । भन्छन्, ‘हाम्रो अभियानले चाँडै नै केही आकार लिनेछ ।’