
निकै ठूलो कसरतपछि प्रधानमन्त्री प्रचण्डलाई चीनको भ्रमण गर्ने अवसर प्राप्त भएको छ । हेनान प्रान्तको बोआओमा चैत ११ गते सुरु हुने ‘बोआओ फोरम फर एसिया सम्मेलन’मा आफ्नो सहभागिताका लागि प्रचण्डले कूटनीतिक तथा अन्य च्यानलमार्फत जोडदार प्रयास गरिरहनुभएको र चीनसँग टुटेको विश्वास फर्काउन एकपटक चीनको भ्रमण गरी त्यहाँका उच्च नेताहरूसँग संवाद गर्ने चाहना प्रचण्डको थियो । बोआओ सम्मेलनमा सहभागिताका लागि चीनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्त्रण गर्न प्रक्रिया अघि बढाएको सुइँको पाएपछि प्रचण्ड निकै छटपटिनुभएको थियो । नेपालमा चीननिकट भनेर चिनिएका व्यक्ति तथा चिनियाँ राजदूतलगायतसँग बारम्बार र जोडदार आग्रह गरेपछि विद्या भण्डारीको नाम काटेर आफूलाई निमन्त्रणा गराउन प्रचण्ड सफल हुनुभएको हो । राष्ट्रपति भण्डारीलाई बोआओ सम्मेलनमा सहभागिताका लागि चीनको निमन्त्राणा आउने जानकारी थियो र उहाँ त्यसका लागि मानसिक रूपमा तयार पनि हुनुभएको हो । तर, प्रचण्डले ‘छिर्के हानेपछि’ राष्ट्रपति भण्डारीले बोआओ सम्मेलनमा भाग लिने महत्वपूर्ण अवसर गुमाउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड आगामी चैत १० गते काठमाडौंबाट कुनमिङ प्रस्थान गर्नुहुने र भोलिपल्ट हेनान जानुहुने परराष्ट्र मन्त्रालयसम्बद्ध सूत्रले जनाएको छ । सम्मेलनमा सहभागी भइसकेपछि चैत १२ गते शनिबार राति नै प्रचण्ड बेइजिङ पुग्ने कार्यक्रम तय भएको छ । दुई दिन बेइजिङ बस्दा प्रचण्डले राष्ट्रपति सी जिनपिङलगायत चिनियाँ उच्चाधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । तर, परराष्ट्र मन्त्रालयले भने अहिले नै यो कुराको पुष्टि गर्न चाहिरहेको छैन । प्रधानमन्त्री कार्यालयको एक सूत्रले दिएको जानकारीअनुसार बेइजिङमा रहँदा केही महत्वपूर्ण विषयमा सहमति गर्ने सोच प्रधानमन्त्री प्रचण्डले् बनाउनुभएको छ । गत वर्ष बोआओ सम्मेलनमा भाग लिन जानुभएका तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वाङ्झाउ नाका खोल्नेदेखि नेपालको लुम्बिनी र पोखरासम्मलाई रेलमार्गले जोड्नेलगायतका दशभन्दा बढी विषयमा सहमति गर्नुभएको थियो । केपी ओलीले गर्नुभएका सहमति र सम्झौतालाई निरन्तरता दिने सोच प्रचण्डले बनाउनुभएको छ र चिनियाँ राष्ट्रपति तथा उच्चाधिकारीहरूसँगको भेटवार्ताका क्रममा उहाँले विगतमा भएका सबै सन्धि, सम्झौता र सहमति कार्यान्वयनको प्रतिबद्धता जनाउनुहुने बुझिएको छ । त्यसबेला नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने, बत्तीस हजार घरधुरीमा सोलार प्लान्ट जडान, हिल्सा–यारी जोड्ने पुल निर्माण, पेटेन्ट राइट, स्वतन्त्र व्यापार तथा पारवहन तथा यातायात र पोखरा विमानस्थल निर्माणलगायतका विषयमा सम्झौता भएको थियो । प्रचण्ड प्रधानमन्त्री बनेपछि गत वर्ष भएका सम्झौता कार्यान्वयन नहुने र अलपत्र पर्ने भनी गरिएको अनुमानविपरीत प्रचण्ड सम्झौता कार्यान्वयन गर्न अग्रसर हुनुलाई रोचक तर सन्देहास्पद मानिएको छ । भनिन्छ, प्रचण्ड र चीनबीचको सम्बन्ध नराम्रोसँग चिसिएको छ र प्रचण्डका कुरामा विश्वास गर्ने स्थितिमा चिनियाँहरू छैनन् । गुमेको विश्वास फर्काउन प्रचण्डले के–कस्ता प्रयास कसरी गर्नुहुने हो प्रतीक्षाको विषय बनेको छ ।
बेइजिङमा उच्चस्तरका भेटवार्ताहरू भइसकेपछि प्रचण्ड चैत १४ गते सोमबार ल्हासातर्फ लाग्नुहुने भएको छ । चैत १५ गते ल्हासामा आयोजना गरिने केही कार्यक्रम तथा भेटवार्तामा सरिक भएर प्रचण्ड चैत १६ गते काठमाडौं फर्कने हुनुभएको छ । यस भ्रमणका क्रममा रेलमार्गको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयारीसम्बन्धी विशेष सहमति गर्न सकेमा त्यसलाई प्रचण्डले महाउपलब्धिको रूपमा प्रचार गर्न सक्ने सम्भावना रहेको छ ।
चीन भ्रमणलाई नै केन्द्रबिन्दुमा राखेर प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गत सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा विशेष वार्तालाप भएको छ । संविधान संशोधन र निर्वाचनका विषयमा संवाद भएको भनी प्रचार गरिए पनि प्रचण्ड र ओलीबीचको संवाद चीन भ्रमणकै विषयमा केन्द्रित रहेको ओलीनिकट सूत्रले जनाएको छ । तर, उक्त भेटवार्ताका क्रममा प्रचण्डले विद्या भण्डारीलाई प्राप्त हुने निमन्त्राणा उहाँको नाम कटाएर आफूले हात पारेको जानकारी भने ओलीलाई नगराउनुभएको बुझिएको छ ।
प्रतिक्रिया