
कमल थापाको कार्यशैली र व्यवहार सहन नसकेर राप्रपा परित्याग गरेपछि डा. प्रकाशचन्द्र लोहनी नयाँ राजनीतिक शक्ति निर्माणको अभ्यासमा जुट्नुभएको छ । प्राप्त जानकारीअनुसार उहाँले केशरबहादुर विष्टलगायन अन्य विभिन्न राजनीतिक समूह गठन गरी क्रियाशील रहेका व्यक्तिहरूसँग छलफल प्रारम्भ गर्नुभएको छ ।
यही फागुनको पहिलो साता सम्पन्न राप्रपाको महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने तयारी गर्नुभएका डा. लोहनी पार्टीका खास–खास साथीहरूको विशेष आग्रह र कमल थापासँग भएको सहमतिका कारण आफ्नो निर्णयबाट पछि हट्नुभएको थियो । अध्यक्ष पद हात पारिसकेपछि कमल थापाको कार्यशैली ‘सङ्कुचित र मनपरी’ भएको र त्यसलाई सहन नसकिने देखिएपछि लोहनीले राप्रपा छोड्ने निर्णय गर्नुभएको बताइएको छ । सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दजत्तिको उचाइका व्यक्तिमा समेत कहिल्यै नदेखिएको अहङ्कार, दम्भ र गैरप्रजातान्त्रिक चरित्र कमल थापाले देखाएपछि लोहनीले पार्टी परित्याग गर्नुपरेको उहाँका निकटवर्तीहरूले जनाएका छन् ।
यस सम्बन्धमा डा. लोहनीको ध्यानाकर्षण गर्दा उहँँले भन्नुभयो, ‘जुन संस्कार देखियो, त्यस्तो संस्कारलाई स्वीकार गरेर बस्न नखोजेको हुँ ।’ अब के गर्नुहुन्छ त भनी घटना र विचारले राखेको जिज्ञाशा मेट्दै नेता लोहनीले भन्नुभयो, ‘भागबन्डा र भ्रष्टाचारले नेपाली राजनीतिलाई विकृत र राजनीतिज्ञहरूलाई बदनाम गराएको छ । देशमा जमेर बसेको यो फोहोर हटाउन प्रण गर्नेहरूबीचको सहकार्यबाट एउटा नयाँ राजनीतिक दलको सृष्टि गर्ने अठोट हामीले गरेका छौँ । जो नेपाली भागबन्डाको राजनीतिका साथै मुलुकबाट भ्रष्टाचार अन्त्य गर्न चाहन्छन् ती सबैलाई समेटेर अघि बढ्ने प्रयास हामीबाट हुनेछ । यसैलाई मुख्य एजेण्डा बनाएर हामी छिट्टै नयाँ राजनीतिक दल गठन गर्दै छौँ ।’
प्रतिक्रिया