
नेपाली कांग्रेसका नेता रामहरि ढुंगेलको निधन भएको छ । बुधबार साँझ छाती भारी भएको भन्दै हिमाल अस्पतालमा स्वास्थ्य जाँच गराएर राती डिल्लीबजारस्थित आफ्नै डेरा फर्किएर सुतेका ढुंगेल बिहिबार ओछ्यानमै मृत भेटिएका हुन् । उनले उच्च रक्तचापको औषधि सेवन गर्दै आएको निकटजनबाट बुझिएको छ ।
डिल्लीबजारस्थित चियापसलमा दैनिक चियासेवन गर्न पुग्ने नेता बिहिबार अनुपस्थित भएपछि ढुंगेलका अनुयायी, कार्यकर्ता एवम् मित्रजन उनको कोठाको दैलो घच्घच्याउन पुगेका थिए । त्यतिबेला मात्रै नेता ढुंगेलको देहान्त भएको जानकारी मिलेको थियो ।
रामेछाप बाटुलेचौरका ढुंगेल काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरनजिकै डेरा गरी बस्दै आएका थिए । पूर्व कृषि सहायकमन्त्री समेत रहेका नेता ढुंगेल नेपाली कांग्रेसभित्रका सीमित आदर्शवान व्यक्तिमध्ये गनिन्थे । सन्तनेता कृष्णप्रसाद भट्टराईको आदर्श पछ्याएका उनी पनि किसुनजीजस्तै अविवाहित थिए । सामान्य दैनन्दिनीबीच अकस्मात भएको निष्ठावान प्रजातन्त्रवादी व्यक्तित्व ढुंगेलको निधनले समस्त कांग्रेसजन एवम् शुभचिन्तकहरु स्तव्ध बन्न पुगेका छन् ।

प्रतिक्रिया