पाँचखालमा अभ्यास शान्ति प्रयास हुँदै

पाँचखालमा अभ्यास शान्ति प्रयास हुँदै


Nepali sena

नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्डको सहआयोजनामा चैत ७ गतेदेखि २१ गतेसम्म काभ्रेपलाञ्चोकको पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा ‘अभ्यास शान्ति प्रयास–३’ संचालन हुने भएको छ । सो अभ्यासमा नेपालसहित विभिन्न २८ राष्ट्रका करिव एक हजार चोबिस सैनिकले सहभागिता जनाउने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

तालिमको प्रमुख लक्ष्य शान्ति स्थापना कार्यको लागि मिसन इलाकामा तैनाथ हुनुपूर्व संयुक्त राष्ट्रसंघको बहुराष्ट्रिय वातावरणमा एकआपसमा सहकार्य गर्ने र शान्ति स्थापनाको काममा क्षमतामा अभिबृद्धि ल्याउनु रहेको बताइएको छ । उक्त अभ्यासको सिलसिलामा युनाइटेड स्टेट्स प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल ह्यारी बी. ह्यारिस सोमबार नेपाल आइपुगेका छन् । उनलाई नेपाली सेनाका बलाध्यक्ष पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

बहुराष्ट्रिय सेना सम्मिलित अभ्यासबाट छिमेकी मित्रराष्ट्रहरूबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न मद्दत पुग्नुका साथै विश्व शान्ति स्थापना कार्यको लागि समेत थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।