सेनाद्वारा गोर्खाली स्मारिका

सेनाद्वारा गोर्खाली स्मारिका


भिक्टोरिया क्रस स्मारक पार्क बाख्रेछेडा

प्रथम र द्वितीय विश्वयुद्धमा अदम्य साहसका साथ दुस्मनलाई परास्त गरी भिक्टोरिया क्रसजस्तो उच्च सम्मान पाएका वीर गोर्खालीको स्मृतिमा गुल्मीमा रहेको नेपाली सेना गुरुगोरख गुल्मले पार्क निर्माण गरेको छ । सदरमुकाम तम्घासको बाख्रेछेडामा भिक्टोरिया क्रस स्मारक पार्क बाख्रेछेडा नामकरण गरी गुल्मी क्षेत्र नम्बर २ का सांसद चन्द्र भण्डारीबाट उद्घाटनसमेत गराइएकोे छ ।

नेपाली सेना गुरुगोरख गुल्मका तत्कालीन गुल्मपति सेनानी महेन्द्रकुमार पुनको परिकल्पना र उनैको संयोजकत्वमा निर्माण गरिएको भिक्टोरिया क्रस स्मारक पार्कलाई पश्चिम नेपालमै नमुना पार्कका रूपमा लिने गरिएको छ । पार्कभित्र सेनानी पुनले निकै सुन्दर कला भरेका छन् । मनामोहक कम्पाउन्डभित्र त्यहीँ भुलिरहँुजस्ता धार्मिक र वीरतासँग जोडिएका ऐतिहासिक वस्तुकला रहेका छन् । पार्कभित्र सुन्दर शिवालय मन्दिर निर्माण गरिएको छ । शिवालयको ठीकअगाडि ओम आकारको सुन्दर पोखरीभित्र शिवलिङ्ग रहेको छ ।

त्यसै पोखरीबाट मोटरले चल्ने पानीको फोहोरा बनाइएको छ । शक्तिकोे प्रतीक मानिने सुन्दर त्रिशूलसहित पार्कको दाहिने–देब्रे भागमा गणेश र सरस्वतीको सुन्दर मूर्ति स्थापना गरिएको छ । शिलालेख र ताम्रापत्रमा प्रथम र द्वितीय विश्वयुद्धको सङ्क्षेपमा इतिहास उल्लेख गरिएको छ भने भिक्टोरिया क्रसले सम्मानित सबै वीर नेपालीको नाम उल्लेख गरिएको छ ।

प्रवेशद्वारको पूर्वीभागमा प्रथम विश्वयुद्धमा अदम्य साहस र वीरता देखाएर भिक्टोरिया क्रसले सम्मानित गुल्मीका कर्णबहादुर रानाको विशाल सालिक निर्माण गरिएको छ । जिल्लाको फोक्सिङ गाविस वडा नम्बर ४ तिलुङ्गका कर्णबहादुर रानाले प्रथम विश्वयुद्धमा एक्लै सयौँ दुस्मनसँग भिडेर परास्त गरी तत्कालीन ब्रिटिस–इन्डियन आर्मीबाट सबैभन्दा उच्च ओहोदाको सम्मान भिक्टोरिया क्रस पाएका थिए ।

वि.सं. १९५५ पुस ६ गते फोक्सिङमा जन्मिएका रानाको अवकाशपछि ०३० साल साउन १० गते मृत्यु भएको थियो । थर्ड गोर्खा राइफलका उनलाई अवकाशबाट निस्किँदा कदरस्वरूप कोपरेल अर्थात् नायव दर्जा दिइएको थियो ।

प्रथम र द्वितीय विश्वयुद्धमा वीरता देखाएर भिक्टोरिया क्रस सम्मान पाउने कुल १३ सय ५१ जनामध्ये गोरखा राइफलबाट भिक्टोरिया क्रस पाउने २६ जना थिए । तीमध्ये १२ जना नेपाली थिए । स्मारिका पार्कमा उनीहरूको नाम विवरण पनि ताम्रपत्रमा उल्लेख छ । त्यहाँ उल्लेख नाम विवरणअनुसार गुल्मीका रानाका अलावा कुलवीर थापा, थम्मनबहादुर गुरुङ, नेत्रबहादुर थापा, शेरबहादुर थापा, लालबहादुर थापा, भानुभक्त थापा, लक्ष्मण गुरुङ, रामबहादुर लिम्बूले पाएका थिए ।

त्यस्तै, थम्मनबहादुर गुरुङ, नेत्रबहादुर थापा र शेरबहादुर थापाले मरणोपरान्त भिक्टोरिया क्रस पदक पाएका थिए । तत्कालीन ब्रिटिस इन्डिया आर्मीले यो उच्च ओहोदाको सम्मान सन् १९५७ बाट प्रदान गर्न थालेको स्मारिकामा उल्लेख छ । यसरी वीर गोरखालीको वीरतापूर्ण इतिहासलाई जीवित राख्न सेनानी महेन्द्रकुमार पुन र तत्कालीन उनको गुल्मसहित सिङ्गो नेपाली सेनाप्रति स्मारिका मूल समारोह समितिले यहाँ एक समारोहमा कृतज्ञता जाहेर गरेको छ ।

बाख्रेछेडाको इतिहास पनि झल्काइयो

सोही स्मारिकाभित्र भिक्टोरिया क्रसहरूको मात्र नभई बाख्रेछेडाको लुकेको इतिहास पनि नेपाली सेनाले झल्काइदिएको छ । वर्षौंअघि बाखे्रछेडा सदरमुकाम तम्घास गाउँबाट निस्किने गौँडो थियो । जहाँ बटुवाहरूलाई चौतारो निर्माण, धर्मशाला र पोखरीको आवश्यकता देखे भाडगाउँका तत्कालीन अगुवा समाजसेवी गुमानसिंह कुँवरले । उनले त्यहाँ पोखरी र पीपलको चौतारो निर्माण गरेका थिए । अहिले उनका सन्तती तम्घासको धागीथुमलगायतका स्थानमा रहेका छन् । उनैका नाति निमबहादुर खत्री, छोरीज्वाइँ दुर्गा खत्री र सावित्रा खत्रीले गुमानसिंहको सालिकसमेत त्यस पार्कभित्र स्थापना गरिदिएका छन् । उनको तस्बिर नभएका कारण उनकी स्वर्गीय धर्मपत्नी गौमती कुँवरको प्रतिमा स्थापना गरिएको हो ।

सेनालाई समाजसेवीहरूको साथ
स्मारिका पार्क संरक्षण विकासका लागि भारतीय सेनाको अवकाशप्राप्त क्याप्टेन पार्क सजावटमा यहाँका अगुवा समाजसेवीहरूले विभिन्न सामग्री सहयोग गरेको आर्थिक सङ्कलन उपसमितिका संयोजक उदयबहादुर थापाले बताए । उनका अनुसार धागीथुमका भेषबहादुर थापाका छोरा इन्जिनियर विजय थापा र डाक्टर भूमिका थापाले वसाह सौजन्य गरेका थिए । जयराम हार्डवेयर तम्घास मिलनचोकका सञ्चालक रामप्रसाद पन्थीले सबै त्रिशूल प्रदान गरेका थिए ।
तम्घासकै समाजसेवी बालसिंह काउछाले शिवलिङ्ग सौजन्य प्रदान गरेका थिए । मोतीप्रसाद खनालले सबैभन्दा ठूलो घन्टा प्रदान गरेका थिए । तम्घासकै रमेश बजमियाँले गणेशको मूर्ति प्रदान गरेका थिए । जनज्योति आमा समूह तम्घास धागीथुमले सरस्वतीको मूर्ति स्थापना गरेको थियो । धामीथुमका समाजसेवी गोपाल पन्थीले ८० वटा घन्टी प्रदान गरे भने झवीन्द्र भण्डारीले गजुर सौजन्य गरेका थिए ।

आर्थिक सङ्कलन ९ं० प्रतिशत भारतीय भूपू सैनिकबाट भएको र करिब २५ लाख रपैयाँमा सम्पन्न भएको निर्माण समितिका संयोजक तथा परिकल्पनाकार सेनानी पुनले जानकारी दिए ।

भीसी कर्णबहादुर रानाको विशाल सालिकको मूल्य मात्रै ६ लाख रुपैयाँ भएको सेनानी पुनले बताए । तपाईं सरुवा भएर जानुभयो, तर यहाँका समाजसेवीहरूले तपाईंलाई निकै सम्झिरहन्छन र सम्मान व्यक्त पनि गरेका छन् भनेर भन्दा सेनानी पुनले यो आफ्नो कर्तव्य मात्रै भएको र सम्मानको पात्र आफू नभएर सिङ्गो नेपाली सेना भएको प्रतिक्रिया दिए ।

गुल्मी छँदा उनले गुरुगोरख गुल्मका दैनिक दसजना सैनिक ६ महिनासम्म खटिएर उक्त स्मारिका पार्क सम्पन्न गरेको बताए । सेनानी पुनको योगदानप्रति स्मारिका पार्क मूल समारोह समितिका संयोजक सन्तबहादुर खड्काले कृतज्ञता जाहेर गरे ।

‘स्मारिका बनाउन प्रस्ताव राखेको मैले हुँ, तर अरू सबै परिकल्पनादेखि निर्माणमा योगदान उहाँकै हो, उहाँ र नेपाली सेनाप्रति म र हामी कृतज्ञता जाहेर गर्दछौँ,’ संयोजक खड्काले भने । सेनानी पुनले यहाँ रहँदा जनताको विद्यालय निर्माणसमेत गरेका थिए ।

तम्घास कुँडापानीको अर्जुन प्राविको चारकोठे भवनको एक तला ढलान गरेर सकेपछि उनको सरुवा भएको थियो । उनलाई विद्यालयले पनि सम्मान गरेको थियो । उनको कार्यकालमा गुरुगोरख गुल्मले आफ्नोे कर्तव्य क्षेत्रका अलावा थुप्रै सामाजिक कार्य पनि गरेको थियो ।
– चन्द्रकान्त खनाल