■ छविलाल बगाले
पर्यटकीय सिजन सुरु नहुँदै अन्नपूर्ण पदमार्गमा पर्यटकको उत्साहजनक वृद्धि भएको छ । पदमार्गमा विगतको तुलनामा हिमपात नपरेकाले अन्नपूर्ण फेरो मार्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो । प्रकृतिको अनुपम भण्डारको उपमा पाएको हिमाली जिल्ला मनाङको दृश्यावलोकनसँगै पदमार्गलाई फेरो मार्नेहरूको चाप उत्साहजनक वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख बाबुलाल तिरुवा बताउँछन् । उनका अनुसार अफ सिजन भएर पनि विगत केही दिनदेखि दैनिक एक सयको हाराहारीमा पर्यटक पदमार्गको यात्रामा निस्किएका छन् ।
‘अफ सिजनका कारण सुस्ताएको मनाङको पर्यटन व्यवसाय बिस्तारै उकासिन थालेको छ,’ एक्याप मनाङका प्रमुख तिरुवाले भने, ‘पदमार्गमा आएका सात समुद्रपारिका विदेशी पर्यटक र आन्तरिक पर्यटकका कारण मनाङका पर्यटकीय होटेलहरू बिस्तारै भरिन थालेका छन् ।’ एक्यापका अनुसार पिक सिजनमा दैनिक तीन सयको हाराहारीमा विदेशी पर्यटक मनाङ हुँदै तिलिचो र थोराङला भञ्ज्याङ पुग्ने गर्दछन् ।

अलि–अलि परेको हिमपातले मनाङ पुग्ने पर्यटकहरू रमाउने गरेको पिसाङका पर्यटन व्यवसायी याङडुङ गुरुङले जानकारी दिए । जाडो मौसमले घटेको पर्यटन व्यवसाय बिस्तारै तङ्ग्रिन थालेको मनाङका पर्यटन व्यवसायीहरू बताउँछन् । जिल्लाको ताल, धारापानी, बगरछाप, दानाक्यु, तिमाङ, थानचोक, चामे, ढिकुरपोखरी, पिसाङ, हुम्डे, मनाङ तथा खाङ्सार क्षेत्रमा खोलिएका पर्यटकीय होटेलमा पर्यटकहरूको चाप दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
जीवनमा एकपटक संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल र अग्लो स्थानमा रहेको थोराङला भञ्ज्याङ पार गर्नका लागि हरेक वर्ष एक लाखको हाराहारीमा विदेशी पर्यटक मनाङ पुग्ने गर्दछन् । अहिले विदेशी मात्रै नभई आन्तरिक पर्यटक पनि एकपटक तिलिचो र थोराङला भञ्ज्याङ पुग्ने गर्दछन् । अगस्ट, सेप्टेम्बर, अक्टुबर र नोभेम्बर महिनालाई पर्यटक घुम्न आउने पिक सिजनको रूपमा लिने गरिए पनि यसपटक भने मौसम अगावै पर्यटक पदमार्गमा आउन थालेका छन् । यो समयमा हिमाल र अन्य दृश्यहरू निकै मनमोहक देखिने हुनाले विदेशी पर्यटकको ओइरो लाग्ने गर्दछ ।
विश्वको उत्कृष्ट दश गन्तव्यमा पर्ने अन्नपूर्ण पदमार्गमा घुम्ने र मनाङ हुँदै थोराङला भञ्ज्याङ पास गर्ने उद्देश्यले पर्यटकहरू मनाङ पुग्ने गरेका छन् । चारैतिर देखिने हिमाल, संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल, अग्लो स्थानमा रहेको थोराङला भञ्ज्याङ, पदमार्गमै पर्ने गंगापूर्ण ताल, मस्र्याङ्दीको नागवेली, हिमाली जीवनयापन, गाउँगाउँका गुम्बा, स्थानीय संस्कृति हेर्न पर्यटक मनाङ पुग्ने गर्दछन् ।
मनाङसम्म सवारीसाधनबाटै आउन सकिने भएकाले आन्तरिक पर्यटक बढेको मनाङका होटेल व्यवसायीहरू बताउँछन् । काठमाडौं, पोखरा, चितवनबाट बेंसीसहर हुँदै मोटरमै आवतजावत गर्न सकिनेछ । बेंसीसहरदेखि मनाङको सदरमुकाम चामेसम्मको करिब ६५ किलोमिटर सडक चार वर्षअघि सडक सञ्जालमा जोडिइसकेको छ । चामेदेखि माथिल्लो मनाङको खाङसारसम्म ३१ किलोमिटर सडकमा २ वर्षयता सवारीसाधन चलेको छ, जसले गर्दा पर्यटकलाई सहज बनाएको छ ।
प्रतिक्रिया