
नेपाल र भारतबीच थप पाँच वर्षको इन्धन आपूर्ति सम्झौता भएको छ । सम्झौता नवीकरणका लागि आपूर्तिमन्त्री दीपक बोहोरा, आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित आयल निगमका उच्च अधिकारीहरूको टोली गत आइतबार भारत पुगेको थियो । सोमबार आपूर्तिमन्त्री बोहोरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा भारतीय आयल कर्पोरेसन लि. र नेपाल आयल निगमबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
मार्च ३१, २०२२ सम्म कार्यान्वयन हुने यस सम्झौताअनुसार अब पाँच वर्षसम्म नेपालले मागेजति तेल दिने विषयमा आईओसी सहमत भएको छ । नेपाल आफैँले तेस्रो मुलुकबाट कच्चा तेल आपूर्ति गरेमा भारतले भाडामा आफ्नो तेल रिफाइनरी प्रयोग गर्न दिनेसमेत सम्झौतामा उल्लेख छ । त्यसैगरी आयल निगमले नेपालभित्रै त्यस्तो रिफाइनरी सञ्चालन गरेमा तेस्रो मुलुकबाट कच्चा तेल ल्याउन आईओसीले ‘अब्जेक्सन’ नगर्ने सहमति पनि भएको बताइन्छ । सम्झौतामा भारतीय आयल निगमले लिँदै आएको नाफाको मार्जिनसमेत घटाइएको छ । भारतले आफ्नो नाफाको मार्जिन २ दशमलव ५ बाट २ प्रतिशतमा घटाएका कारण भारतबाट ल्याउने तेल नेपालका लागि अब झन् सस्तो पर्नेछ र यसको प्रत्यक्ष फाइदा नेपाली उपभोक्तालाई हुने विश्वास गरिएको छ ।
यस्तै, भारतीय आयल निगमले सम्झौतामार्फत नेपाललाई ग्यास आपूर्तिका लागि वीरगञ्जनजिकै सुविधासम्पन्न र ठूलो क्षमताको डिपो उपलब्ध गराउने ग्यारेन्टी गरेको छ । नेपालको सुविधाका लागि अबको डेढ वर्षपछि नेपाल आउने ग्यासको भण्डारण र लोडिङ आईओसीले मुजफ्फरपुर क्षेत्रमा गर्ने भएको छ । अहिले भारतबाट ग्यास ओसार्ने बुलेटहरू लोडिङका लागि १ हजार ५ सय किलोमिटर टाढासम्म जानुपर्ने अवस्था छ ।
पेट्रोलियम आपूर्ति सम्झौताका क्रममा अमलेखगञ्ज–रक्सौल पाइपलाइनलाई चितवनसम्म ल्याउने भन्ने विषयमा समेत छलफल भएको बुझिएको छ । त्यसको खर्च नेपाल सरकारले गर्ने र प्राविधिक सहयोग भारतले गर्ने विषयमा समेत सहमति भएको छ भने नेपाल र भारतबीच ग्यास पाइपलाइन निर्माण गर्ने विषयमा समेत दुई देशका मन्त्रीबीच सहमति भएको छ ।
सम्झौताको साक्षी बनेका दुवै देशका मन्त्रीले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धको यो महत्वपूर्ण पाटो भएको बताए । भारतीय मन्त्री प्रधानले इन्धन आपूर्तिको मामलामा भारत नेपाललाई थप सहयोग गर्न प्रतिबद्ध रहेको जानकारी दिए ।
यसैबीच भारतीय स्थलसेनाध्यक्ष विपिन रावत हिजो मंगलबार काठमाडौं आएका छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्न आएका सेनाध्यक्ष रावतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले स्वागत गरेका थिए । आज बुधबार (चैत १६) का दिन राष्ट्रपतिभवन शीतलनिवासमा आयोजना गरिने एक विशेष समारोहबीच राष्ट्रपति विद्या भण्डारीबाट रावतलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिनेछ भने भ्रमणको दौरान सेनाध्यक्ष रावतले नेपालका केही महत्वपूर्ण पर्यटकीय एवम् धार्मिक स्थल तथा नेपाली सेनाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गर्नुका साथै पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको समेत अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया