
कुनै पनि मुलुकका राजदूतहरूले आफ्नो देशको प्रतिनिधित्व गरेका हुन्छन् र सरकारको निर्देशन या इच्छाअनुरूप चल्नु उनीहरूको स्वाभाविक बाध्यता पनि हुन्छ । नेपालका लागि हालै नियुक्त भारतीय राजदूत मञ्जीवसिंह पुरीले पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भावनालाई केन्द्रबिन्दुमा राखेर भारतीय हितमा क्रियाशील रहने सङ्केत दिएका छन् । राजदूत पुरीले कार्यभार सम्हाल्न नेपाल आउँदाआउँदै ‘बडी ल्याङ्ग्वेज’मार्फत केही रोचक सन्देश दिएको काठमाडौंस्थित बौद्धिक समुदायले अर्थ लगाएका छन् । गत शनिबार (चैत १२ गते) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत पुरीलाई स्वागत गर्न गएका भारतीय राजदूतावासका डीसीएम विनय कुमार तथा प्रवक्ता रुवी जसप्रितलगायतले पूर्ण औपचारिक पोसाक लगाएका भए पनि राजदूत पुरी भने विमानस्थलमा मोदी कोटमा देखापरेका थिए । भोलिपल्ट (आइतरबार) राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुअगावै पुरीले पशुपतिनाथको दर्शन गरी पूजा–अर्चना गरेका थिए । त्यसरी पशुपतिनाथ दर्शन गर्न जाने क्रममा पनि पुरीले मोदी कोट नै पहिरिएका थिए । शिख सम्प्रदायका राजदूत पुरीले मोदी कोटप्रति ज्यादा रुचि राख्नुलाई यहाँ विशेष चासोका साथ हेरिएको छ र पुरी मोदीको विशेष विश्वासप्राप्त भएको अनुमान गरिएको छ । ओहोदाको प्रमाणपत्र बुझाउन जानुअगावै पशुपति दर्शनमा गएर राजदूत पुरीले हिन्दूधर्मप्रतिको आफ्नो आस्था र विश्वास त उजागर गरेकै छन्, उनको यो कदमले नेपाललाई हिन्दूराष्ट्रकै रूपमा कायम राख्नुपर्छ भन्ने सन्देश दिएको अर्थ पनि यहाँ लगाइएको छ । शिख सम्प्रदायका राजदूत पुरी गुरुद्वारा जानुअघि नै पशुपतिनाथको दर्शन गर्न जानु र उनी मोदी कोटमै त्यहाँ पुग्नुको अर्थ बुझ्नेहरूले नेपाल अब हिन्दूराष्ट्रमा रूपान्तरित हुने सम्भावना बढेको निष्कर्ष निकालेका छन् । यसअघिका राजदूत रनजित रे काङ्गे्रसनिकट मानिन्थे र नास्तिक प्रवृत्तिका उनी धर्मनिरपेक्षतामा विश्वास राख्थे । तर, मञ्जीवसिंह पुरीले भने नेपाल आउँदाआउँदै बेग्लै सङ्केत दिएका छन् ।
प्रतिक्रिया