
दशकौँअघिदेखि शेरबहादुर देउवाको ‘दायाँ हात’ मानिँदै आएका उपप्रधानमन्त्री विमलेन्द्र निधिसँग देउवाको सम्बन्ध चिसिएपछि काङ्ग्रेसभित्रको समीकरण बदलिने सङ्केतहरू देखिएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा गृह मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री बनाइँदासम्म सभापति देउवा र निधिबीचको सम्बन्ध मित्रवत् र विश्वासपूर्ण मानिन्थ्यो । गृहमन्त्री बनेयताका नौ महिनाभित्र देउवा र निधिबीचको सम्बन्धमा यति तिक्तताको अवस्था पैदा भएको छ कि तत्काल दुई नेताबीच मिलापको सम्भावना क्षीण हुन पुगेको छ । अब निधिले सार्वजनिक रूपमै देउवाको आलोचना गरे भने आश्चर्य मान्नुपर्दैन र देउवाले निधिलाई सरकारबाट फिर्ता बोलाउने निर्णय लिए भने पनि अनौठो हुनेछैन ।
उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेपछि निधिका आलोचकहरूले उनका विरुद्ध देउवालाई अनेकौँ कुराहरू सुनाउन थालेका छन् । ‘अब निधिले तपाईंलाई टेर्ने छैनन्, आफैँ सभापति र प्रधानमन्त्री बन्ने बाटोमा लागिसकेका छन्, तपाईंमाथि ठूलो धोखा हुँदै छ’ भनी शुभचिन्तकहरूबाट बारम्बार सुनेका देउवा क्रमशः निधिप्रति सशङ्कित र सचेत हुँदै गएका थिए । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका क्रममा निधिले देउवाको भन्दा बेग्लै अडान राखेपछि दुई नेताबीचको मनमुटाव र विवाद उत्कर्षमा पुगेको हो । वरीयतामा अगाडि र कार्यक्षमताका दृष्टिले पनि उपयुक्त भएको भन्दै गृहमन्त्री निधिले नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउन चाहेका थिए । सभापति शेरबहादुर देउवा जयबहादुर चन्दलाई आईजीपी बनाउने दृढ अडानमा देखिए ।
देउवाको यस्तो अडानको निधिले कुनै वास्ता राखेनन्, बरु नवराजलाई नै आईजीपी बनाउने अडान लिइरहे । देउवा र निधिबीच उत्पन्न विवादका बीच सरकारले जयबहादुर चन्दलाई आईजीपी बनाउने निर्णय लिएपछि गृहमन्त्री निधिले आफू निकै अपमानित भएको महसुस गरेका थिए । चन्दलाई प्रहरी प्रमुखमा नियुक्तिको विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले चन्दको नियुक्तिलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेपछि कायममुकायम आईजीपी कसलाई बनाउने भन्ने विषयलाई लिएर फेरि अर्को सङ्कट उत्पन्न भयो । तात्कालिक आईजीपी उपेन्द्रकान्त अर्यालले ‘चार्ज’ दिँदा स्वतः नवराज सिलवलालाई दिनुपर्ने थियो र गृहमन्त्री निधिले पनि सोहीबमोजिम गर्न निर्देशन दिएका थिए । तर, प्रधानमन्त्री प्रचण्ड र काङ्गे्रस सभापति देउवाले नवराज सिलवाललाई कार्यबाहक प्रमुख बनाउन पनि रोक लगाए ।
भनिन्छ, देउवा अहिले पनि जयबहादुर चन्दलाई नै आईजीपी नियुक्त गर्नुपर्छ भन्ने पक्षमा छन् भने प्रधानमन्त्री प्रचण्डले यस प्रकरणमा दोहोरो–तेहेरो भूमिका निर्वाह गरिरहेका छन् । उनले नवराज सिलवाललाई आईजीपी नियुक्त गर्ने वचन दिएको बुझिन्छ भने प्रकाश अर्याल, बमबहादुर भण्डारी र जयबहादुर चन्दलाई पनि उनले राम्रै वचन दिइआएका छन् । देउवाले भनेबमोजिम गरिए फेरि पनि जयबहादुर चन्द नै आईजीपी बन्नेछन् भने गृहमन्त्री निधिको अडानअनुरूप निर्णय भएमा आईजीपी बन्ने अवसर सिलवाललाई नै प्राप्त हुने देखिन्छ ।
प्रहरी नियमावलीमै संशोधन गरेर प्राविधिकतर्फबाट एआईजीपीलाई यतिबेला ‘कामु’ दिइएको छ । यस प्रकरणमा पनि गृहमन्त्री निधि निकै दुःखी बनेका थिए । सर्वोच्च अदालतको पूर्ण इजलासले जयबहादुर चन्दको नियुक्ति अमान्य ठहर गर्दै नाम नतोकीकन नवराज सिलवाललाई आईजीपी बनाउने मार्ग प्रशस्त गरिदियो । अदालतको आदेशले विमलेन्द्र निधिलाई प्रसन्न तुल्याएको थियो र आदेशपश्चात् उत्साही बन्न पुगेका निधिले प्रधानमन्त्री प्रचण्डलाई ‘तुरुन्त मन्त्रिमण्डलको बैठक राखी नवराज सिलवालाई आईजीपी नियुक्त गर्न’ आग्रह गरेका थिए । निधिको आग्रहबारे प्रधानमन्त्रीले सभापति देउवालाई जानकारी गराए । देउवाले ‘कुनै हालतमा पनि नवराजलाई आईजीपी बनाउन नहुने’ भन्ने प्रतिक्रिया दिएपछि अदालतको आदेश कार्यान्वयन नै नगरी प्रधानमन्त्री प्रचण्ड चीनतर्फ लागे । भनिन्छ, देउवा अहिले पनि जयबहादुर चन्दलाई नै आईजीपी नियुक्त गर्नुपर्छ भन्ने पक्षमा छन् भने प्रधानमन्त्री प्रचण्डले यस प्रकरणमा दोहोरो–तेहेरो भूमिका निर्वाह गरिरहेका छन् । उनले नवराज सिलवाललाई आईजीपी नियुक्त गर्ने वचन दिएको बुझिन्छ भने प्रकाश अर्याल, बमबहादुर भण्डारी र जयबहादुर चन्दलाई पनि उनले राम्रै वचन दिइआएका छन् । देउवाले भनेबमोजिम गरिए फेरि पनि जयबहादुर चन्द नै आईजीपी बन्नेछन् भने गृहमन्त्री निधिको अडानअनुरूप निर्णय भएमा आईजीपी बन्ने अवसर सिलवाललाई नै प्राप्त हुने देखिन्छ ।
तर, प्रधानमन्त्री प्रचण्ड देउवालाई छोडेर निधिको भनाइअनुसार गर्ने पक्षमा अहिलेसम्म देखिएका छैनन् । बरु चन्द र सिलवाल दुवैलाई छोडेर प्रकाश अर्याललाई आईजीपी बनाउनका लागि प्रचण्डबाट अग्रसरता लिइने सम्भावना छ । कतिपयले प्रचण्डलाई बमबहादुर भण्डारीको नाम सुझाउँदा उनले प्रधानसेनापति राजेन्द्र क्षेत्री र भण्डारी नातेदार भएकोले दुई महत्वपूर्ण सुरक्षा निकायको जिम्मेवारी एउटै परिवारका सदस्यलाई दिन नहुने भने जवाफ फर्काएका छन् । त्यसैले देउवा र प्रचण्ड अन्ततः प्रकाश अर्यालको नाममा सहमत भए भने कुनै आश्चर्य हुनेछैन ।
यसरी आईजीपी नियुक्ति प्रकरणमा आफू उपेक्षित र अपमानित महसुस गरिरहेका गृहमन्त्री विमलेन्द्र निधिमाथि अपमानको अर्को पीडा पनि थपिएको छ । मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीहरूको मर्यादाक्रम निर्धारण गर्दा ठूलो पार्टीको प्रतिनिधि भएका कारण प्रधानमन्त्रीपछि आफूलाई राख्नुपर्ने दाबी विमलेन्द्र निधिको रहँदै आएको हो । तर, प्रधानमन्त्री प्रचण्डले काङ्गे्रस सभापति देउवासमेतको परामर्शमा कमल थापालाई निधिभन्दा माथि राख्ने सोच बनाइसकेका छन् । यसरी निधिलाई अपमानित गर्दा उनले गृहमन्त्रीबाट राजीनामा दिन सक्ने विश्वास देउवा स्वयम्ले गरेको बताइन्छ । भनिन्छ, देउवा यतिबेला निधि आफैँले पद त्याग गरून् भन्ने चाहन्छन् । यति गर्दा पनि निधिले पद नत्यागेमा कुनै पनि निहुँ बनाएर सरकारबाट निधिलाई फिर्ता बोलाउनेसम्मको सोच देउवाले बनाएको बुझिन्छ ।
देउवाले निधिलाई अब पार्टीको उपसभापति या महामन्त्री बनाउने सम्भावना पनि क्षीण भएको छ । निधिको विकल्प देउवाले खोज्न थालिसकेका छन् र यसक्रममा विकल्प फेलापरेको महसुस पनि देउवाले गरेका छन् । विमलेन्द्रको विकल्प खोज्ने क्रममा देउवा पार्टीमा नयाँ सोचका साथ अघि बढेका छन् र विगतमा आफूबाट टाढिएका नेताहरूको विश्वास आर्जन गर्न देउवाले प्रयास गरिरहेका छन् । अब देउवाले आफूलाई साथ दिनेछैनन् भन्ने जानकारी पाएर पनि निधिले देउवाका विरुद्ध केही बोलिरहेका छैनन् र भविष्यमा कसरी अघि बढ्ने भन्ने विषयमा पनि उनले योजना बनाएको बुझिँदैन । तर, निधिका शुभचिन्तकहरूले उनलाई ‘सार्वजनिक मन्तव्य दिएर पद त्याग गर्न’ सुझाएका छन् । कतिपयले चाहिँ गृहमन्त्रीको पदसँगै पार्टीसमेत परित्याग गर्न पनि निधिलाई सुझाव दिएको बताइन्छ ।
तर, निधिले अहिलेसम्म कुनै निर्णय लिइसकेका छैनन् । आफूलाई एक्ल्याउँदै र अपमानित गर्दै लगिएकोले कुनै पनि बेला निधिले कुनै पनि अनपेक्षित निर्णय लिने सम्भावना भने देखिएको छ । निधिको सम्भावित निर्णयले काङ्गे्रसमा तरङ्ग पैदा गर्नेमा भने शङ्का गरिरहनुपर्ने छैन । संविधान संशोधन नगरीकन र मधेसी मोर्चाको असन्तुष्टिलाई सम्बोधन नगरी बलजफ्ती चुनावमा जान खोजे निधिले यसैलाई निहुँ बनाएर ‘त्याग’ गर्न सक्ने सम्भावना छ । देउवा र निधिबीच उत्पन्न तनाव तथा यी दुई नेताबीचको ‘ब्रेकअप’ले काङ्ग्रेसको आन्तरिक राजनीतिमा कस्तो प्रभाव पार्ने हो, प्रतीक्षाको विषय बनेको छ ।
प्रतिक्रिया