
ठूलो उत्साहका साथ चीन भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड साढे तेह्र करोड ‘टिप्स’ लिएर बेइजिङबाट फर्किएका छन् । गत सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको करिब बीस मिनेट लामो ‘दर्शनभेट’का क्रममा प्रचण्डले ‘प्राप्त उपलब्धिहरूको रक्षा गर्न’ आफूहरू तत्काल स्थानीय निर्वाचन गराउने ‘महान् तयारीमा लागेको’ भनी पटकपटक गिडगिडाएपछि चिनियाँ राष्ट्रपतिले चुनाव गराउने तत्परताको प्रशंसा गर्दै साढे तेह्र करोड रुपैयाँ ‘टिप्स’ दिने वचन दिएका थिए । चैत १० गते बिहीबार बोआओ सम्मेलनमा भाग लिन चीन प्रस्थान गर्नुभन्दा केही दिनअघि प्रचण्डले चीनसँग विभिन्न सम्झौता गरी केपी ओलीभन्दा बढी उपलब्धि हासिल गर्ने प्रतीकात्मक प्रचार गरेका थिए । उनले व्यापार तथा लगानी र रेलवे निर्माणलगायतका विभिन्न दश विषयमा सम्झौता गर्ने तयारीका लागि सम्बद्ध निकायलाई निर्देशन दिँदै बयालीसजनाको टोली लिएर चीन भ्रमणमा जाने योजना बनाएका थिए । तर, चीनतिरबाट प्रचण्डको इच्छाअनुरूपको रेस्पोन्स भएन, बरु भ्रमणलाई औपचारिकतामा सीमित गर्ने सुझाव कूटनीतिक च्यानलमार्फत प्रचण्डलाई आएको थियो । यसका साथै एघार डेलिगेट्सलाई मात्र स्वागत गर्ने व्यवस्था मिलाइएको जानकारी प्रचण्डलाई चिनियाँ राजदूतावासले गराएको बताइन्छ ।
प्रचण्ड बेइजिङ पुग्दा चिनियाँ प्रधानमन्त्री स्वदेशमा नभएकोले उनी उपप्रधानमन्त्रीसँग फोटो खिचाउन र वार्तालाप गर्न बाध्य भएका थिए । द्विपक्षीय सम्झौताका लागि कुनै औपचारिक तयारी नभए पनि प्रचण्डले चिनियाँ राष्ट्रपति सीसँगको भेटवार्ताका क्रममा चीनप्रति आफ्नो भरोसा रहेको बताउन भ्याएका थिए । वार्ताका क्रममा प्रचण्डले भारतीय भूमिकालाई लिएर टिप्पणीमूलक चर्चा गर्न थालेपछि राष्ट्रपति सीले प्रचण्डलाई भारतसँग समझदारी बनाएर अघि बढ्न सुझाव दिएका थिए । त्यसक्रममा उनले राष्ट्रपतिलाई नेपालको भ्रमण गर्न आग्रह गरेको, तर राष्ट्रपति सीले उपयुक्त समयमा गरौँला भनी कूटनीतिक जवाफ फर्काएको बुझिएको छ ।
कुनै बेला चीनको उच्च प्राथमिकतामा परेका प्रचण्डलाई यसपटक चीनले सत्कारमा कुनै प्रकारले कञ्जुस्याइँ नगरे पनि विश्वास गर्न भने कञ्जुस्याइँ गरेको भ्रमणमा सामेल सदस्यहरूले महसुस गरेका छन् । यस घटनाबाट प्रचण्ड सत्तामा रहेसम्म चीनको व्यवहार चिसै रहने सङ्केत मिलेको छ ।
प्रतिक्रिया