
नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्डको सहआयोजनामा काभ्रेपलाञ्चोकको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा गत ७ चैत्रदेखि सञ्चालन भएको अभ्यास ‘शान्ति प्रयास–३’ समापन गरिएको छ । रक्षामन्त्री बालकृष्ण खाणले सोमबार (चैत २१ गते) उक्त केन्द्रमा आयोजित विशेष कार्यक्रमबीच कार्यक्रम समापन गरेका हुन् ।
समापन समारोहमा मन्तव्य दिँदै रक्षामन्त्री खाणले उक्त अभ्यासले शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्र संघबाट तोकिएको जिम्मेवारीहरू सफलतापूर्वक कार्यान्वयन गर्न शान्ति सैनिकहरूको पेशागत ज्ञान तथा मनोवल अभिबृद्धि हुने तथा शान्ति स्थापना कार्यमा खट्टिने विभिन्न मुलुकका सैनिकबीच आपसी सद्भाव, सहयोग र समन्वयमा बृद्धि भई शान्ति स्थापना कार्यमा अझै निखार आउनेमा विश्वास व्यक्त गरे । उनले नेपाली सेना ५९ वर्षदेखि निरन्तर शान्ति स्थापना कार्यमा सहभागी हुँदै हालसम्म १ लाख १५ हजार ७ सातसय ३ नेपाली शान्ति सैनिक विभिन्न मुलुकका ४१ वटा शान्ति मिसनमा सहभागी भइसकेको र हाल १५ वटा विभिन्न शान्ति मिशनमा ४ हजार ४ सय ९३ शान्ति सैनिक शान्ति स्थापना कार्यमा कार्यरत रहेको जानकारी पनि दिए ।
सो अभ्यासको मुख्य लक्ष्य शान्ति स्थापना कार्यको लागि मिसन ईलाकामा तैनाथ हुनुपूर्व संयुक्त राष्ट्रसंघको बहुराष्ट्रिय वातावरणमा सैनिकबीच एकआपसमा समन्वय र सहकार्य भई शान्ति स्थापना कार्य गर्ने क्षमतामा अभिबृद्धि गर्ने रहेको थियो । उक्त अभ्यासमा नेपालसहित जम्मा २८ राष्ट्रका ११३५ जना सैनिकहरु सहभागी भएका थिए ।

प्रतिक्रिया