
लमजुङको सिम्पानीमा जन्मिएका कवि मेदिनीनाथ सुवेदीको निधन भएको छ । सिम्पानी–९ गैरीगाउँ निवासी ७६ वर्षीय सुवेदीको गत आइतबार साँझ काठमाडौंमा निधन भएको हो । उहाँ विगत चार वर्षदेखि पक्षघातबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय कवि सुवेदीका मस्र्याङ्दीका सुसेली, मेदिनीको समस्या कुटुरो, डाँफेदूत, लमजुङे सुवेदीका वर्तमान कवितालगायतका कृति प्रकाशित छन् । यस्तै, साहित्यिक आँखीझ्यालबाट डिल्लीजङ्गलाई हेर्दा, आफ्नै जीवनको ऐना, मेदिनीको बाँसुरी, ब्यङ्ग्य कविता–डाली, गजल–मुक्तक–कुटुरो, मेदिनीका काब्यसिद्धान्त (छन्द, रस र अलङ्कारको बखान), पञ्चैबाजा (एकाङ्की), ‘मेदिनीका कथा’लगायतका कृति प्रकाशोन्मुख अवस्थामा रहेको उहाँका नाती अशोक सापकोटाले बताए ।
साहित्यकार सुवेदी प्रकृतिप्रेमी, मानवतावादी र राष्ट्रवादी कविको रुपमा चिनिनुहुन्थ्यो । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठान तथा हिमालचुली कला साहित्य प्रतिष्ठानमा आवद्ध रहेका कवि सुवेदीका अन्य थुप्रै फुटकर कविता, लेखरचना विभिन्न समयमा प्रकाशित भएका थिए । संस्कृत र नेपाली साहित्यमा शास्त्रीसम्मको अध्ययन गरेका सुवेदीले खुदीस्थित अमर उच्च माध्यामिक विद्यालयमा ३२ बर्ष अध्यापन गर्नुभएको थियो । राष्ट्रिय प्रज्ञा प्रतिष्ठानबाट ०२१ सालमा सम्मानित हुनुभएका सुवेदीले ०२७ सालमा गण्डकी अञ्चलस्तरीय कवि गोष्ठीमा प्रथम पुरस्कार पाउनुभएको थियो भने अम्बा प्रतिभा पुरस्कार–२०४४, बीपी उत्कृष्ट प्रतिभा पुरस्कार–२०४७, हिमालचुली कला साहित्य प्रतिष्ठानबाट छन्दकवि सम्मान, डिट्ठा श्रीप्रसाद उपाध्याय स्मृति पुरस्कारलगायतबाट सम्मानित हुनुभएको थियो ।
– छविलाल बगाले
प्रतिक्रिया