
भारतीय जलसेनाको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएको छ । नेपालस्थित भारतीय राजदूतावास लैनचौरमा पत्रकार सम्मेलन गरेर आरोहण टोलीका संयोजक सञ्जयकुमार कुलकर्नीले २४ जनाको टोली विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न लागेको जानकारी दिएका हुन् । ‘सागरदेखि सगरमाथा’ भन्ने मूल नाराका साथ सगरमाथा चढ्न लागेको उनले बताए । सो टोली हिजो मङ्गलबार जिरी हुँदै सगरमाथातर्फ लागेको बुझिएको छ । नेपाली पर्यटकीय पदयात्री मिङ्मा शेर्पाको नेतृत्वमा भारतीय जलसेनाको टोलीले सगरमाथा आरोहण गर्न लागेको हो । यसअघि सन् १९६५ र सन् २००४ मा भारतीय जलसेनाका टोली सगरमाथा आरोहण गरेका थिए ।
यसैगरी, भारतको मखनलाल चतुर्वेदी पत्रकारिता तथा आम सञ्चार राष्ट्रिय विश्वविद्यालयले काठमाडौंमा ‘नेपाल–भारत सम्बन्ध प्रवद्र्धनमा मिडियाको भूमिका’ विषयक दुईदिने सम्मेलन आयोजना गरेको छ । सम्मेलनका क्रममा नेपाल र भारतबीचको राजनीतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढीकरणका लागि दुवै देशका सञ्चार क्षेत्रले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइयो भने सहभागीहरूले नेपाल सानो भए पनि प्राकृतिक र सांस्कृतिक वैभवयुक्त र भारत उदाउँदो अर्थतन्त्रको मुलुक भएकाले आपसी सम्बन्ध सुदृढीकरणमा योगदान पुग्ने बताए ।

सम्मेलनको उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दुई देशबीचमा राजनीतिक तथा जनता–जनताबीचको सम्बन्ध सुधारका लागि पत्रकारिताले चासो देखाउनुपर्ने सुझाव दिए भने भारत उत्तराखण्ड राज्यका पूर्वसांसद तथा पत्रकार तरुण विजयले गोर्खाली वीरताबाट विश्वमा चिनिएका नेपाल आफूहरूका लागि वैभवयुक्त र माइती देश लाग्ने भएकाले यहाँबाट सिक्न सकिने विषय धेरै भएको उल्लेख गरे । नेपाली सञ्चारमाध्यमले भारतको अन्तर्राष्ट्रिय विकाससम्बन्धी समाचारलाई त्यति महत्व नदिएको गुनासो उनको थियो । सम्मेलनका सहभागी कूटनीतिज्ञ डा. जयराज आचार्यले नेपाललाई हिन्दू राष्ट्र बनाउन अधिकांश नेपाली जनताले संविधानसभालाई सुझाव दिए पनि संविधानमा धर्मनिरपेक्ष राज्य बनाइएकाले यहाँका जनता र भारतीय जनतामा पनि त्यसबारे समान चासो पाइएको बताए ।
मखनलाल चतुर्वेदी पत्रकारिता तथा आमसञ्चार राष्ट्रिय विश्वविद्यालयका उपकुलपति बिके कुथौलाले आफ्नो विश्वविद्यालयले भारत र अन्य देशमा पनि पत्रकारितासम्बन्धी छलफल र अध्ययनका क्रममा नेपालमा कार्यक्रम आयोजना गरेको प्रस्ट्याए भने सम्मेलनको सहयोगी संस्था काठमाडौं विश्वविद्यालयका पत्रकारिताका अध्यापक डा. निर्मलमणि अधिकारीले नेपाल र भारतबीचका समानता र असमझदारीका मुद्दामा पत्रकारिताका आयमबाट विज्ञबीच छलफल गरिने बताए ।
अग्निनियन्त्रणसम्बन्धी विशेष तालिम

कुनै पनि आगलागीका घटनामा सरल, सुरक्षित एवम् प्रभावकारी ढङ्गले अग्नि नियन्त्रण गर्न सीप तथा क्षमता अभिवृद्धि गराउने उद्देश्यले हरियाणा (भारत)स्थित युनाइटेड म्यानुफ्याक्चरिङ कम्पनीले नेपालका अग्नि नियन्त्रक (फायरमेन)हरूका लागि अग्नि नियन्त्रणसम्बन्धी एक विशेष तालिम कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं र पोखरामा यही चैत ७–९ मा सम्पन्न उक्त तालिममा नेपाल सरकारका केही उच्च अधिकारीसहित ६० जना फायरमेन संलग्न थिए ।
तालिममा सुरक्षित र प्रभावकारी अग्निसमन विधिका अलावा पम्प, पीटीओ, मनिटर, वाटर ट्याङ्कजस्ता विभिन्न फायर उपकरण सञ्चालन, ट्याङ्करमा वाटर रिफिलिङलगायत महत्वपूर्ण कार्य कसरी गर्ने भन्नेदेखि दमकल सञ्चालन विधिसमेत खुला मैदानमा प्रयोगात्मक ढङ्गले सिकाइएको थियो ।
ज्ञातव्य छ, भारत सरकारले गत भदौमा सत्रवटा फायर टेन्डर नेपाललाई उपहार प्रदान गरेको थियो । ती फायर टेन्डर र हाल दिइएको तालिमले नेपालका विभिन्न नगरपालिकाका दक्ष अग्निनियन्त्रक (फायरमेन)हरूको उपलब्धता र अग्नि नियन्त्रण कार्यमा खास टेवा पुग्ने अपेक्षा गरिएको भारत सरकारले जनाएको छ । भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत मित्रराष्ट्र भारतले नेपाललाई विभिन्न सवारी साधन, एम्बुलेन्स, बस, फायर टेन्डरलगायत विशेष महत्वपूर्ण सामग्री एवम् ठूलो मात्रामा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया