सिङ्गै परिवारको सेवामा अख्तियार

सिङ्गै परिवारको सेवामा अख्तियार


Deep 4

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख दीप बस्नेतले पदीय हैसियतको दुरुपयोग गरी आयोगको स्रोत र साधन परिवारका सदस्यहरूको निजी सेवामा प्रयोग गरिरहेको समाचार प्राप्त भएको छ । जानकारीअनुसार बस्नेतले आफ्नी बुहारी श्रेया बस्नेतद्वारा विशालनगरनजिकै सञ्चालित ‘किन्डर पिलार’ नामक निजी विद्यालयको सेवामा अख्तियारको चालकसहित गाडी उपलब्ध गराइदिएका छन् । अख्तियार स्वामित्वको टाटा कम्पनीको पिकअप गाडी बुहारीको घरायसी सेवामा प्रयोग गर्ने गरिएको छ । अख्तियारमै कार्यरत सुवेदी थरका एक कर्मचारीका अनुसार सो गाडीका चालकको तलब, भत्ता अन्य सेवा–सुविधा र खानासमेत अख्तियारले नै उपलब्ध गराउने गरेको छ । यसबाहेक अर्को एकजना चालक स्कुलको भ्यान चलाउनका लागि बस्नेतले ‘काज’मा खटाएका छन् । रामकुमार नामक ती चालकको तलब, भत्ता र अन्य सेवा–सुविधा अख्तियारले नै व्यहोर्ने गरेको छ । त्यस्तै, अर्का एक चालकलाई पनि अख्तियारबाट तलब–भत्ता खाने गरी आफ्नी पत्नीको गाडी चलाउन बस्नेतले खटाएका छन् ।

Deep 6

अख्तियारमा दर्जनौँ गाडी हुँदाहुँदै दीप बस्नेतले हालै प्रतिगाडी पौने दुई करोड मूल्य पर्ने चारवटा ल्यान्डक्रुजर टीएक्स खरिद गरेका छन् । यता अख्तियारमा रहेका दशवटा गाडी भने अर्थ मन्त्रालयलाई ‘दान’ दिने काम बस्नेतले गरेका छन् । लोकमानसिंह कार्की अख्तियार प्रमुख रहँदा खरिद भएका दर्जनौँ सुविधासम्पन्न गाडी अहिले ग्यारेजमा थन्क्याएर राखिएका छन् । ती गाडी राम्रो कन्डिसनमा भए पनि आयुक्तहरूले ‘ल्यान्डक्रुजर’ नै चढ्नुपर्ने ठहर भएपछि सात करोड खर्च गरेर ती गाडी खरिद गरेको बुझिएको छ । दीप बस्नेतले यसरी अनावश्यक रूपमा गाडी खरिद गरेर आयोगलाई करोडौँ क्षति पु¥याएको भए पनि उनले आफ्ना चालक रोमबहादुरको भने रामै्र कल्याण गरिदिएका छन् । रोमबहादुरकी पत्नी र भाञ्जाभाञ्जीलाई समेत अख्तियारबाट सेवा–सुविधा लिने गरी उनले आफ्नो घरसेवामा लगाएका छन् । उनीहरूलाई महिनामा एकपटक तलब बुझ्न र महिनाभरिको हाजिरी एकैपटक गर्न अख्तियार कार्यालयसम्म आउने दुःख भने दिने गरिएको छ ।

deep-basnet-

लोकमानसिंह कार्की अख्तियार प्रमुख रहँदा उनका विरुद्ध एमाले र माओवादीका नेताहरूलाई अनेकौँ कुरा सुनाएर भड्काउने बस्नेतले कार्कीको अप्राकृतिक बिदाइपछि ‘प्रमुख’को भूमिका निर्वाह गर्ने अवसर पाएका छन् । बस्नेतको हातमा अख्तियार पुगेपछि भ्रष्टाचारविरुद्धका गतिविधिमा न्यूनता आएको महसुस आमदेशवासीले गरिरहेका छन् । त्यसो त कार्कीलाई षड्यन्त्रमूलक ढङ्गले हटाउनुको मुख्य कारण नै उनले नीति निर्माण तहमा रहेर भ्रष्टाचार गर्नेहरूविरुद्ध कारबाही चलाउने योजना बनाएकोले हो भन्ने स्पष्ट भइसकेको छ । त्यसैले अख्तिायर प्रमुखको रूपमा भ्रष्टाचारविरुद्ध क्रियाशीलता दर्शाउनुभन्दा ‘दिन काट्ने र सेवा–सुविधा बटुल्ने’ काममा केन्द्रित हुँदा नै आफू सुरक्षित हुन सक्ने ठानेर बस्नेत निष्क्रिय रहेको अनुमान गर्ने गरिन्छ । राप्रपाको कोटाबाट अख्तियारमा आयुक्त भई गएका दीप बस्नेत यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डसँग निकै निकटको सम्बन्ध बनाउन सफल भएका छन् ।