घारखोला जलविद्युत आयोजना सुरु हुँदै

घारखोला जलविद्युत आयोजना सुरु हुँदै


Ghar Khola

म्याग्दी हाइडोपावर प्रा.लि.ले प्रवद्र्धन गर्न लागेको म्याग्दीजिल्लाको शिख र घार गाविस (अन्नपूर्ण गाउँपालिका)मा निर्माण हुने घारखोला जलविद्युत आयोजनाको लागि एनएमबी बैंकको अगुवाईमा एनआईसी एशिया र कैलाश विकास बैंकले ऋण प्रदान गर्ने भएका छन् । १४ मेगावाट क्षमताको उक्त आयोजनाको लागि आवश्यक कुल लागत २ अर्ब ४१ करोडको ७० प्रतिशत रकम उल्लेखित बैंकहरूले लगानी गर्ने सहमति भएको घारखोला जलविद्युत आयोजनाले जनाएको छ । ऋण लगानी गर्ने बैंकहरूको तर्फबाट अगुवा बैंक एनएमबी बैंक लि.का कर्पोरेट बैङ्किङ एण्ड लार्ज हाइड्रो प्रमुख नवीन मानन्धर र घारखोला आयोजनाका कार्यकारी अध्यक्ष भरत नेपालबीच चैत २४ गते हस्ताक्षर भएको ऋण सम्झौताअनुसार कुल लगानीको ७० प्रतिशतले हुन आउने १ अर्ब ६९ करोड रकम बैंकले लगानी गर्नेछन् भने ३० प्रतिशत लगानी शेयरधनीहरूबाट जुटाइने छ ।

आगामी २०७६ साल मङ्सिर ३० सम्ममा व्यापारिक उत्पादन सुरु गरिसक्ने लक्ष्यका साथ सुरु हुन लागेको उक्त जलविद्युत आयोजना निर्माणका लागि आवश्यक अनुमति तथा इजाजतपत्र सम्बन्धित सरकारी निकायहरू (उर्जा मन्त्रालय, विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण, वातावरण मन्त्रालय, उद्योग विभाग, कम्पनी रजिष्ट्रार कार्यालय) बाट लिइसकिएको र आयोजनाको डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) पनि सम्पन्न भइसकेको बताइएको छ । आयोजनाका कार्यकारी अध्यक्ष भरत नेपालका अनुसार कम्पनीले आयोजनाको लागि पहुँचमार्ग, स्थलगत कार्यालय निर्माण तथा आयाजना निर्माणका लागि आवश्यक विद्युत लाइन विस्तारको काम सम्पन्न गरी वर्षायामअगावै सुरुङ मार्ग निर्माणको काम द्रुत गतिमा अघि बढाइने छ ।

अन्नपुर्ण गाउँपालिकाको कुरिला बगरमा बाँध बाँधी तीन किमिभन्दा लामो सुरुङ मार्ग तथा १२ सय मिटर लामो पेनस्टक पाइपमार्फत् ल्याएको पानी पोखरेबगरमा निर्माण हुने विद्युतगृहमा झार्ने प्राविधिक विशेषता भएको उक्त आयोजनाको मुख्य निर्माण कार्य आगामी वैशाख ०७४ देखि सुरु गरिने र तीन वर्षभित्रै सम्पन्न गरिने बताइएको छ । आयोजनाबाट उत्पादित बिजुली ६ किमि लामो प्रसारण लाइनबाट म्याग्दी जिल्लाको दानामा निर्माण भइरहेको २२० केभी सवस्टेसनमार्फत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

मुलुकलाई लोडसेडिङमुक्त गराउने भनी नेपाल सरकारले घोषणा गरेको अभियानमा घारखोला जलविद्युत आयोजना कोशेढुङ्गा नै सावित हुने कार्यकारी अध्यक्ष नेपालको दाबी छ । निर्धरित समयमै आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्न आयोजना सफल रहने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । स्मरणीय छ, विद्युत आयोजना प्रवद्र्धक भरत नेपाल लगायत व्यक्तिहरूको समूहले यसअघि निर्माण गरेको ५.१ मेगावाट क्षमताको अपर हुग्दी जलविद्युत परियोजनाले निर्धारित समयभन्दा अघि र अनुमानित लागतभन्दा कममा आयोजना सम्पन्न गरेको कीर्तिमान कायम गरेको थियो ।

Bharat Nepal