
नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिएका छन् । सो अवसरमा प्रहरी महानिरीक्षक अर्यालले सुरुमा नेपाल सरकार तथा गृहमन्त्रालयले आप्mनो पेशागत निष्ठा, व्यावसायिक क्षमताको मूल्यांकन गरी नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा पदोन्नती गरेको भन्दै नेपाल सरकार र गृह मन्त्रालयप्रति कृतज्ञता व्यक्त गरे ।
यतिबेला सिङ्गो राष्ट्र आसन्न स्थानीय तह निर्वाचन, संविधान र संघीयताको सफल कार्यान्वयनको गहन जिम्मेवारी हाम्रासामु रहेको बताउँदै उनले सिंगो राष्ट्रको भविष्य र नागरिकको अपेक्षासँग जोडिएको यस महान दायित्व निर्वाह गर्नेक्रममा नेपाल प्रहरी अग्रपंक्तिमा रहेको हुँदा यस जिम्मेवारीलाई संयमताकासाथ सफलतापुर्वक सम्पादन गर्न उच्च मनोवलका साथ कर्तव्यनिष्ठ रहन तमाम सदस्यलाई निर्देशन दिए । अपराध अनुसन्धान तथा नियन्त्रणमार्फत मुलुकमा शान्ति सुरक्षा बहाल राख्दै आमनागरिकको सेवामा समर्पित रहने सामुहिक प्रयास र जिम्मेवारी बोध सबै प्रहरी कर्मचारीले उत्तिकै उमंग र उत्साहका साथ मन, वचन र कर्मले गर्नुपर्नेमा उनले जोड दिए ।
उक्त अवसरमा स्वागत मन्तव्य दिँदै प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले नेपाल प्रहरी सङ्गठनकोे प्रमुख एवं गरिमामय पदमा पदोन्नति भई कार्यभार सम्हालेकामा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिए ।
को हुन् आइजीपी अर्याल ?
वि.सं. २०२० असार १४ मा दाङ, त्रिभुवननगर–११ मा जन्मिएका नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री हासिल गरेका छन् । अर्यालले २०४४ चैत २९ गते प्रहरी निरीक्षक पदबाट सेवा आरम्भ गरेका हुन् । उनी २०५२ पुस ३० मा प्रहरी नायब उपरीक्षक, २०६१ चैत १ मा प्रहरी उपरीक्षक, २०६६ कात्तिक २२ मा प्रहरी वरिष्ठ उपरीक्षक, २०६९ पुस ४ गते प्रहरी नायब महानिरीक्षकमा पदोन्नती भएका थिए भने नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार चैत २८ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नती भएका हुन् । अर्यालले स्वदेश तथा विदेशमा गरी विभिन्न १६ वटा व्यावसायिक तालिम हासिल गरेका छन् । स्वदेशी तथा विदेशी गरी विभिन्न ८ वटा विभूषणबाट विभूषित अर्यालले विभिन्न पुरस्कार एवं प्रशंसापत्र प्राप्त गरेका छन् । प्रहरी महानिरीक्षक अर्यालले संयुक्त राष्ट्रसंघीय मिसनमा कुशलतापूर्वक कार्यसम्पादन गरेका छन् भने संयुक्तराज्य अमेरिका, भारत, सुडान लगायतका देशहरूको भ्रमण गरेका छन् ।
यसैबीच आफू आइजीपीको स्वभाविक र पहिलो नम्बरको दाबेदार रहेको जनाउँदै आएका डीआइजी नवराज सिलवालले सर्वोच्च अदालतको ढोका घच्घच्याएका छन् । सरकारले सोमबार राती प्रकाश अर्याललाई आइजीपीमा नियुक्त गरेपछि मंगलबार बिहान सिलवालले आफूलाई आइजीपीको जिम्मेवारी दिइनुपर्ने भन्दै मुद्दा दर्ता गरेका हुन् । डिआइजी सिलवालको रीटमा बुधबारका लागि पेशी तोकेको बुझिएको छ ।
प्रतिक्रिया