
आफ्नै पार्टीको कोपभाजनमा परेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि मन्त्रिमण्डलको बैठकमा सहभागी नहुने गरी पदमा यथावत् रहन बाध्य भएका छन् । संसद्को सबैभन्दा ठूलो दलको नेतृत्व गरी सरकारमा प्रतिनिधित्व गरेका कारण निधिलाई प्रधानमन्त्री प्रचण्डपछिको मर्यादाक्रममा राखिने विश्वास गरिएको थियो । र, सरकारमा कमल थापाको सहभागिता नभइन्जेल निधि दोस्रो वरीयतामा नै थिए । राजा, राजसंस्था र राजतन्त्रको सर्वाधिक आलोचक तथा धर्मनिरपेक्षताको हिमायती विमलेन्द्र निधिले कमल थापाजस्तो व्यक्तिभन्दा पनि तल बस्नुपर्ला भन्ने कहिल्यै सोचेकासम्म थिएनन् ।
तर, काङ्ग्रेसलाई छोडेर एमालेसहितका दलहरूलाई सामेल गरी नयाँ गठबन्धन बनाउनेबारे विचार गरिरहेका प्रधानमन्त्री प्रचण्डले कमल थापाको मन दुखाउनु उपयुक्त नहुने ठाने । काङ्गे्रस सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिबीच केही समययता उत्पन्न मतभिन्नताको फाइदा उठाउँदै प्रचण्डले विमलेन्द्रलाई कमल थापापछिको वरीयतामा राख्न देउवालाई सहमत गराए । थापाभन्दा पछाडि राखिदिएपछि विमलेन्द्र निधिले राजीनामा दिनेछन् र रिक्त हुने पदमा गोपालमान श्रेष्ठ या पूर्णबहादुर खड्काको चयन गरेर पार्टीको महामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बनाउने योजनामा देउवा थिए ।
निधिसँग मनमुटाव बढेका कारण उनलाई सरकारबाट फिर्ता बोलाउने सोच त देउवाले धेरै अगाडि नै बनाएका हुन् । मर्यादाक्रमकै कारण निधिले पद त्याग्छन् भने उनलाई फिर्ता बोलाएर तनाव किन बढाउनु भन्ने सोचमा देउवा रहेको बताइन्छ । प्रचण्डले देउवासँगको परामर्शमा नै कमल थापालाई आफूभन्दा ‘माथि’ राख्न खोजेको सुइँको पाएपछि निधिले ‘त्यस्तो भए राजीनामा दिने’ घोषणा गरेका थिए । उनको सार्वजनिक घोषणापछि ‘अब विमलेन्द्रले राजीनामा दिने भए’ भनेर देउवासहित केही नेताहरूको प्रसन्नता बढेको महसुस काङ्गे्रसभित्र गर्न थालिएको थियो ।
तर, निधिले आफ्नो ‘स्वाभिमान’ पनि कायम राख्ने र ‘सत्ता पनि नछोड्ने’ निर्णय लिएका छन् । सभापति शेरबहादुर देउवालाई भेटेर परामर्श गरेपछि निधिले यसप्रकारको निर्णय लिएको बताइन्छ । निर्णयअनुसार अब उनी मन्त्रिमण्डलको बैठकमा भाग लिन जाने छैनन् र मन्त्रालयबाट प्रस्तुत गर्नुपर्ने प्रस्तावहरू प्रतिनिधिमार्फत क्याबिनेटमा पठाइनेछ । तर, निधि मन्त्रालय भने निरन्तर गइरहनेछन् । निधिको यस्तो निर्णयपछि काङ्गे्रस सभापति शेरबहादुर देउवा आफ्नो ‘योजना’ कार्यान्वयन गराउन केही समय प्रतीक्षा गर्ने निर्णयमा पुगेका छन् ।
निधिको निर्णयलाई उनका शुभचिन्तकहरूले बुद्धिमतापूर्ण ठानेका छन् । निर्वाचनको मुखमा गृह प्रशासनको नेतृत्व नछोडेर निधिले आफ्नो खासियत जोगाएको ठानिएको छ । नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउने अडान लिँदै आएका निधिले आफू सहभागी नभएको बैठकबाट त्यससम्बन्धी निर्णय हुनुलाई आत्मसन्तुष्टिको विषय बनाएको पनि बुझिएको छ । उनले यस निर्णयबाट आफ्नै पार्टीभित्र आफ्नाविरुद्ध भइरहेको षड्यन्त्र निस्तेज पारिएको पनि ठानेका छन् ।
प्रतिक्रिया