खुसी हुँदाहुँदै दुःखी भए पूर्व श्री ५

खुसी हुँदाहुँदै दुःखी भए पूर्व श्री ५


Komal bidhya

पूर्वनवयुवराज हृदयेन्द्रको ब्रतबन्धको खुसी धेरै समय टिक्न पाएन । उता सोल्टी होटेलमा ब्रतबन्धको भोज चलिरहँदा यता पूर्वअधिराजकुमारी प्रेरणा भने अस्वस्थ भएर ओछ्यानमा हुनुहुन्थ्यो । प्रेरणाको अस्वस्थता बढ्दै गएपछि अहिले उहाँलाई नर्भिक अस्पताल भर्ना गरिएको छ । मस्तिष्कघातका कारण आईसीयूमा राखेर उहाँको उपचार भइरहेको छ । अकस्मात् बेहोस हुनुअघि उहाँलाई टाउको दुख्ने गरेको स्रोतले जानकारी दिएको छ ।

यही चैत २४ गते सोल्टी होटेलमा आयोजित राजपरिवारको ब्रतबन्ध समारोहमा आफन्त र नातेदारबाहेक १८ सय आमन्त्रित सहभागी थिए । समारोहमा २ हजार मानिस निम्त्याइएको थियो । विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा पेसा–व्यवसायमा संलग्न व्यक्तिहरूका साथै विभिन्न मुलुकका राजदूतहरूको त्यहाँ उपस्थिति थियो । प्राप्त जानकारीअनुसार साउदी अरब, कतार, इजरायल, जर्मनी, जापान र श्रीलंकाका राजदूतहरू ब्रतबन्ध समारोहमा उपस्थित थिए । यसैगरी नेकपा एमालेका नेता सुवास नेम्वाङ, नेपाली काङ्ग्रेसका नेताहरू खुमबहादुर खड्का, रामशरण महत, राधेश्याम अधिकारी, विपिन कोइराला, गोविन्दराज जोशी, मन्त्रीसमेत रहेका शंकर भण्डारीलगायतको सहभागिता रहेको थियो । नेकपा एमाओवादीका मनोजजंग थापालगायतका युवा नेताहरूको उपस्थिति भए पनि केन्द्रीय नेताहरू भने गएनन । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रायः सबै केन्द्रीय नेताहरू पार्टीमा थिए । मधेसी नेताहरू राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव, शरत्दसिंह भण्डारी, रानी शर्मा, जितेन्द्र देव, रामेश्वर राय यादबलगायत पार्टीमा सहभागी थिए ।

शाही भोजमा भएको उपस्थिति आफैँमा विशिष्ट प्रकारको थियो । राजा र राजपरिवारप्रति विभिन्न कारणवश पूर्वाग्रही रहेकाहरूबाहेकले निम्ता स्वीकार गरेर खुसी–खुसी त्यहाँ पुगेका थिए । भोजमा उपस्थित राष्ट्रपति विद्या भण्डारीलाई उच्च सम्मान दिन पूर्व श्री ५ का तर्फबाट कुनै प्रकारको कञ्जुस्याइँ भएन । राष्ट्रपति भण्डारीकी छोरीको वैवाहिक समारोहमा सहभागी हुन पुगेका पूर्व श्री ५ ज्ञानेन्द्रलाई त्यहाँ पाउनुपर्ने सम्मान मिल्यो कि मिलेन भन्ने प्रश्न उठ्ला, तर पूर्व श्री ५ बाट राष्ट्रपति भण्डारीलाई पूर्ण सम्मान दिइएको थियो । सोल्टीमा भोज चल्दै गर्दा आफ्नी एक मात्र सुपुत्री बे्रन स्ट्रोक भएर अस्पताल भर्ना भएको सुनेपछि पूर्व श्री ५ निकै दुःखी हुनुभएको थियो ।

पूर्वअधिराजकुमारी प्रेरणा