
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सत्तामा आउन नदिन कुन–कुन शक्तिहरू कसरी लागेका छन् भन्ने राम्ररी बुझेपछि प्रधानमन्त्री प्रचण्डले आफू पदमा रहिरहन नयाँ खेल सुरु गरेका छन् । एमालेसँगको गठबन्धनमा रहँदा काङ्ग्रेस देखाएर एमाले तर्साएको र तर्साएरै महत्वपूर्ण मन्त्रालयहरू हात लगाएको माओवादी नेतृत्वले अहिले एमाले देखाएर काङ्गे्रस र अन्य शक्तिकेन्द्रहरूलाई तर्साउन खोजेको छ । गुप्त सहमति गरेर चैत मसान्तसम्मका लागि प्रधानमन्त्री बनेका प्रचण्डले वैशाख ३१ गते चुनाव गराउने मिति तय गरी सजिलैसँग एक महिना कार्यकाल बढाएका छन् । एक महिनापछि पनि उनी सरकारको नेतृत्व परित्याग गर्ने मानसिकतामा छैनन् । वैशाख ३१ गते स्थानीय निर्वाचन हुन सक्दा र, नसक्दा पनि आफू पदमा रहिरहने उपायको खोजीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् । यस निम्ति सबैभन्दा प्रभावकारी अस्त्र एमाले हुन सक्ने देखिएपछि उनी एमाले देखाएर काङ्ग्रेससहित अन्य शक्तिकेन्द्रहरूलाई तर्साउने र कार्यकाल लम्ब्याउने प्रपञ्चमा लागेका हुन् । छिमेकी मित्रराष्ट्र भारतसँग एमालेको सम्बन्ध बिग्रिएको विश्लेषण प्रचण्डले गरेका छन् र यही आधारमा उनले नेपालको सत्तामा एमाले आएको भारतले हेर्न चाहँदैन भन्ने निष्कर्ष निकालेका छन् ।
त्यस्तै, एमाले देखाएपछि मधेसी मोर्चा र काङ्गे्रस पनि रामै्रसँग तर्सन्छन् भन्ने प्रचण्डको ठहर छ । यही निष्कर्षका आधारमा प्रचण्डले एमाले नेतृत्वसँग हिमचिम बढाएका छन् । गत साता उपचारका लागि थाइल्याण्ड प्रस्थान गर्नुअघि एमाले अध्यक्ष केपी ओलीसँग प्रधानमन्त्री प्रचण्डले आफ्नो निवासस्थानमै विशेष वार्तालाप गरेका थिए । प्रचण्डसँग ओलीलाई भेट गराउनुअघि एमाले नेताहरू विष्णु पौडेल र वामदेव गौतम प्रचण्डसँग भेट गर्न बालुवाटार पुगेका थिए । पौडेल र गौतमसँग प्रधानमन्त्री प्रचण्डले काङ्गे्रस सभापति शेरबहदाुर देउवाको तीव्र आलोचना गर्दै काङ्ग्रेससँग बसेर काम गर्न आफूलाई निकै अप्ठ्यारो भइरहेको बताएका थिए । प्रचण्डले त्यसरी काङ्गे्रस र देउवाको आलोचना गरेपछि पौडेल र गौतमले ‘चुनाव गराउने अडानबाट पछि नहट्नुहोस्, हामी तपाईंलाई हरतरहले साथ दिनेछौँ’ भन्दै काङ्ग्रेससँग नडराउन सान्त्वना दिएका थिए । आईजीपीको नियुक्तिदेखि हरेक विषयमा सरकारले लिनुपर्ने निर्णयमा काङ्ग्रेस र देउवाको व्यवहार असहिष्णु रहेको भनी प्रचण्डले बताइरहँदा एमाले नेताहरू पौडेल र गौतमले ‘त्यो’ प्रचण्डको नाटक मात्र थियो भन्ने बुझ्दाबुझ्दै पनि उनीहरू प्रचण्डप्रति सहानुभूतिशील भएका थिए ।
सोही बैठकमा भएको कुराकानीअनुसार पछि वामदेव गौतम केपी ओलीलाई लिएर बालुवाटार पुगेका थिए । ओलीसँग पनि प्रचण्डले देउवा र काङ्गे्रसको खुलेरै आलोचना गरे । प्रचण्डको कुरा सुनिसकेपछि ओलीले ‘काङ्गे्रस र कसैसँग पनि नडराउन’ भन्दै आफूहरू साथमा रहेको विश्वास दिलाएका थिए । ओलीले चुनावचाहिँ गराउनैपर्छ भनी जोड दिँदा प्रचण्डले मधेसी मोर्चालाई सहमत नगराईकन चुनाव गराउँदा समस्या थपिने चिन्ता प्रकट गरेका थिए । ओलीले मधेसी मोर्चा लाइनमा आउने अवस्था रहेको बताउँदै ‘अडान र सरकार नछोड्न’ प्रचण्डलाई सुझाएका थिए । काङ्गे्रसले साथ छोडेमा एमालेको साथ प्रचण्डलाई रहने विश्वास ओलीले त्यस अवसरमा दिलाएका थिए । काङ्गे्रसले छोडे एमालेले साथ दिन्छ, मिलेर चुनाव गराउँला भनी ओलीले आश्वासन दिँदा प्रचण्डको आँखा खुसीले चम्किएको प्रत्यक्षदर्शीको भनाइ छ । आफू उपचारका लागि थाइल्याण्ड जान लागेको र त्यहाँबाट फर्किएपछि ठोस कुराकानी गरौँला भनी ओली बालुवाटारबाट बाहिरिएका थिए । अचेल वामदेव गौतम र विष्णु पौडेलसँग प्रचण्ड निरन्तर सम्पर्कमा रहेका छन् र ओली उपचारबाट फर्किएपछि प्रचण्डसँग ठोस सहमति बनाउने गृहकार्य गरिरहेका छन् ।
सरकारमा महत्वपूर्ण मन्त्रालय पाउन प्रचण्डले एमाले नेतासँग जुन शैलीमा बार्गेनिङ गरेका थिए, काङ्ग्रेसले सरकारको नेतृत्व दिने भएपछि एमालेको साथ छोडेका प्रचण्डले अहिले प्रधानमन्त्री पद जोगाउन पनि त्यस्तै शैली प्रयोगमा ल्याएका छन् । काङ्ग्रेस सरकार छोडेर बाहिरिने सम्भावना कम भएको ठानेका प्रचण्डले अबको ‘बार्गेनिङ’ प्रधानमन्त्री पद जोगाउनका लागि मात्र गर्ने देखिएको छ । उनको प्राथमिकता यही गठबन्धनलाई निरन्तरता दिएर जाने भन्ने हो, तर सरकारको नेतृत्व भने आफ्नै हुनुपर्ने उनको इच्छा छ । सभापति देउवाले सत्ता हस्तान्तरण गर्न दबाब नदिँदासम्म प्रचण्ड यही गठबन्धनलाई जोगाउन लागिपर्ने र दबाब बढेमा एमालेसँग सहमति गरी मन्त्रिमण्डल पुनर्गठन गर्ने र काङ्गे्रसका मन्त्रीहरूलाई मन्त्रिमण्डलबाट हटाएर एमालेलाई सहभागी गराउने योजना रहेको बुझिँदै छ । त्यसैले वैशाख ३१ गते स्थानीय निर्वाचन भइहालेछ भने पनि उक्त निर्वाचनपश्चात् प्रचण्डले देउवालाई सत्ता हस्तान्तरण गर्ने सम्भावना देखिएको छैन । तर, प्रचण्डको विश्लेषण र अनुमानविपरीत भारत र एमालेका बीच समझदारी बनेको या काङ्गे्रस र एमालेबीच कुनै प्रकारको समझदारी बन्न सकेको अवस्थामा भने प्रचण्डको चाहनाबमोजिम राजनीतिक प्रक्रिया अघि नबढ्ने स्पष्ट छ । यद्यपि अहिलेसम्म भारत र एमाले तथा काङ्ग्रेस र एमालेबीच समझदारी बन्न सकेको भने छैन । त्यसैले प्रचण्डको ‘चलखेल’ले उनलाई सत्ताको आयु लम्ब्याउन केही समय सहयोग पु¥याउने देखिएको छ ।
प्रतिक्रिया