
नेपाली काङ्ग्रेसको तर्फबाट ललितपुर महानगरमा मेयरको उम्मेदवार बनाउन महानगरका २९ वटै वडा समितिबाट नगरनेता भरतलाल न्ह्याछ्योंको नाम सिफारिसमा रहेको छ । न्ह्याछ्योंलाई २९ मध्ये पाँचवटा वडाबाट पहिलो प्राथमिकतामा, बाह्रवटा वडाले दोस्रो प्राथमिकतामा, सातवटा वडाले तेस्रो र पाँचवटा वडाले चौथो प्राथमिकतामा राखेर नाम प्रस्ताव गरेका छन् । महानगरका सबै वडाबाट नाम प्रस्तावित हुनेमा भरतलाल न्ह्याछ्यों मात्र परेका छन् ।
केही वडाबाट पे्रमकृष्ण महर्जनको नाम सिफारिसमा पर्दै नपरेको भए पनि नौवटा वडाले भने महर्जनलाई पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेका छन् । महर्जनलाई पाँचवटा वडाले दोस्रो, सातवटाले तेस्रो र चारवटा वडाले चौथो प्राथमिकतामा सिफारिस गरेका छन् । त्यस्तै अर्का काङ्गे्रस नेता चिरिबाबु महर्जनको नाम सत्रवटा वडाले सिफारिस गरेको छ । काङ्गे्रस नेता प्रकाशानन्द जोशीलाई ३, १२ र २१ नम्बर वडाले मेयरको उम्मेदवार बनाउन सकिने व्यक्तिका रूपमा प्रस्ताव गरेको छ भने पूर्वमेयर पे्रमलाल महर्जनलाई वडा नं. १७ ले सिफारिस गरेको छ । महानगरका वडा नम्बर २, २५ र १४ बाट नवराज महतको नाम पनि सिफारिसमा परेको छ । यसअघि सम्भावित उम्मेदवारका रूपमा जनआन्दोलनका घाइते युवा नेता बाबुराजा चित्रकारको नाम पनि चर्चामा रहेको हो । तर, वडा समितिहरूले बाबुराजाको नाम सिफारिस गर्न कज्युस्याइँ गरेको देखिएको छ ।
महानगरभित्रका सम्पूर्ण २९ वडाहरूको सिफारिसमा परेका कारण ललितपुरको मेयरमा काङ्गे्रसका तर्फबाट भरतलाल न्ह्याछ्यों नै उम्मेदवार बन्ने सम्भावना बढेको छ । पे्रमकृष्ण महर्जन र चिरिबाबु महर्जनलाई भरतलालपछिको लोकप्रिय व्यक्तिको रूपमा लिइएको छ ।
नेकपा एमालेभित्र सम्भावित उम्मेदवारका रूपमा हरिकृष्ण व्यञ्जनकारको नाम सबैभन्दा अगाडि छ । अध्यक्ष केपी ओलीले विशेष हस्तक्षेप गरेर आफ्नो सालो ज्ञानेन्द्र शाक्यलाई मेयरको उम्मेदवार बनाएनन् भने व्यञ्जनकार नै एमालेतर्फको उम्मेदवार बन्ने निश्चित छ । माओवादी केन्द्रको तर्फबाट सम्भाव्य उम्मेदवारका रूपमा नेत्री पम्फा भुसाल, राजकाजी महर्जन र बाबुराजा महर्जनको नाम चर्चामा रहेको छ ।
प्रतिक्रिया