निर्वाचनमा बालबालिकाको प्रयोग निषेध गर्न माग

निर्वाचनमा बालबालिकाको प्रयोग निषेध गर्न माग


Manoj 1 3

बाबबालिकाका निमित्त काम गर्ने गैरसरकारी संस्थाहरुको महासङ्घ–नेपाल (सिएनएफएन) को अगुवाइमा १३ वटा सङ्घसंस्थाद्वारा संयुक्तरुपमा स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग पूर्णरुपमा निषेध गरिनुपर्ने माग गरिएको छ । राजधानीको भृकुटीमण्डपस्थित सिएनएफएनको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी घोषित स्थानीय तहको निर्वाचन पूर्व, निर्वाचन अवधिभर र निर्वाचन पश्चात निर्वाचनको गतिविधिमा बालबालिका प्रयोग नगर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको जानकारी दिइयो ।

२०७४ वैशाख ३१ गतेका लागि निर्वाचनको मिति तय भइसकेको तथा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गरिसकेको अवस्थामा निर्वाचन प्रयोजनका निम्ति बालबालिकाको प्रयोग गरिए बालअधिकारविरुद्ध हुने भन्दै सरोकारवाला संस्थाका प्रतिनिधिहरूले बालबालिका प्रयोग नगर्न राजनीतिक दलको ध्यानाकर्षण गराए ।

पत्रकार सम्मेलनमा मन्तव्य दिँदै सिएनएफएनका अध्यक्ष मनोजकुमार कँडेलले सरकार र मुख्य राजनीतिक दलले बालबालिका र विद्यालयलाई शान्ति क्षेत्रका रुपमा स्वीकार गरी कुनै पनि राजनीतिक गतिविधिमा बालबालिकालाई संलग्न नगर्ने तथा विद्यालयलाई राजनीतिक थलोको रुपमा प्रयोग नगर्न बालबालिकाका निमित्त गैरसरकारी संस्थाको महासङ्घ नेपालसमक्ष विगतमा लिखित प्रतिबद्धता गरिसकेको स्मरण गराउनुभयो । उहाँले निर्वाचन प्रयोजनका निम्ति बालबालिका प्रयोग नगर्न आग्रह सम्बन्धित सबैमा आग्रह गर्नुभयो । विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ एवम् विद्यमान निर्वाचन आचारसंहिताले तोकेका प्रावधानअनुसार घोषित स्थानीय तहको निर्वाचनपूर्व, निर्वाचन अवधिभर र निर्वाचनपश्चात बालबालिकाको प्रयोग नगर्न राजनीतिक दल र तिनका भातृ तथा भगिनी संस्थालाई उहाँले आग्रह गर्नुभयो । बालबालिकाको दूरुपयोग राष्ट्रव्यापी रूपमै हुन सक्ने भएकोले मुलुकभर सञ्जाल फैलिएका संस्थाहरूसँग समन्वय गरी संयुक्त अभियान सञ्चालन गर्ने प्रयास गरिएको पनि अध्यक्ष कन्डेलले प्रष्ट्याउनुभयो ।

कार्यक्रममा निजि तथा आवसीय विद्यालय एसोसिएसन नेपालका उपाध्यक्ष सूर्यबहादुर अधिकारीले यो राष्ट्रिय अभियानलाई मुलुकभरै विस्तार गरिने उल्लेख गर्दै बालबालिकाको प्रयोग गरी हुने कुनैपनि अवैध गतिविधिलाई न्यूनीकरण गर्न समाजमा सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो भने बालबालिका खोजतलास समन्वय केन्द्रका प्रमुख प्रहरी नायब उपरीक्षक विश्व खड्काले विभिन्न बहानामा १६ वर्षमुनिका बालबालिकालाई निर्वाचनमा प्रयोग गर्न नहुने तर्क गर्नुभयो ।

कार्यक्रममा बालबालिका खोजतलास समन्वय केन्द्र, बाल विकास समाज, बाल गृहहरुको महासङ्घ नेपाल, अभिभावक सङ्घ नेपाल, अन्तर्राष्ट्रिय बाल संशाधन सङ्घ नेपाल, राष्ट्रिय बाल क्लब सञ्जाल, नेपाल राष्ट्रिय अभिभावक सङ्घ, बालबालिका, बन्दी तथा आश्रितका लागि कार्य समूह, राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, बन्दी सहायता नेपाल र थैली नेपालले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न संयुक्त रुपमा आव्हान गरेका थिए । आह्वानपत्रमा विद्यालय परिसरभित्र कुनै पनि राजनीतिक सभा, सम्मेलन, बैठक, माइकिड, जुलुस, ¥याली तथा धर्ना नगर्न, बालबालिकालाई निर्वाचन प्रचार प्रसारसम्बन्धी कार्यमा प्रयोग नगर्न, विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द नगर्न, बालबालिकालाई विद्यालय जान र त्यस प्रयोजनको निमित्त प्रयोग गरिने सवारी साधनको आगमनमा बाधा, ब्यवधान र अवरोध सृजना नगर्न माग गरिएको छ ।
Manoj 1 2