
नेपाली दिदीवहिनी तथा दाजुभाइहरू,
विक्रम सम्वत् २०७४ को शुभागमनको उपलक्ष्यमा म देश–विदेशमा रहे–बसेका समस्त नेपालीहरूमा सुख, शान्ति तथा समुन्नतिको लागि हार्दिक शूभकामना प्रदान गर्दछु ।
अतीतका कतिपय आदर्शलाई जीवन्त राख्दै आगतलाई अझ चहक बनाउँदै लैजानु समयको माग हो । विगत एघार वर्ष के कसरी बिते ? यो अवधिमा के–के भए ? यस अवधिमा तमाम नेपाली दिदी–वहिनी दाजु–भाइहरूको सामाजिक, आर्थिक तथा नागरिक हक–हितमा के–कति सुधार आयो ? देशको अखण्डता, एकता एवम् सार्वभौम स्वतन्त्रतामाथि आँच नपुगोस्, यो यतिखेर सोचनीय विषय हो ।
२०६३ सालमा जन चाहनालाई विचार गरी राजनीतिक दलका नेताहरूसँग बनेको सहमतिअनुसार संसद पुनस्र्थापना गरिँदा राजनीतिक संकट अन्त्य भई मूलूकमा शान्ति, स्थायित्व र समृद्धिको द्वार खूल्ने अपेक्षा हामी सबैले राखेका थियौँ । संसद पुनस्र्थापनापछि पुर्वसहमति प्रतिकुल निर्णय हुँदै जाँदा पनि हामी सबैले देशको भविष्य र जनताको हितलाई केन्द्रविन्दुमा राखी मौनतापुर्वक साथ दिएका हौँ । यस अवधिमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तूलन असन्तुलित भएको र विश्वमा प्रचलित प्रजातान्त्रिक मूल्य, मान्यता र मर्मप्रतिकुल व्यवहार राजनीतिक तहमा प्रकट भएको पाइन्छ । जनताको चाहनाबमोजिम शान्ति, स्थिरता र समृद्धिको मार्ग तय गर्ने दिशामा पटक–पटक चुकेको अनुभूति जनताले गर्नु परिरहेको छ ।
हिमाल, पहाड र तराई नै नेपालको विश्व परिचय भएको वास्तविकतालाई आत्मसात गरी तदअनुरुप व्यवहार गर्न नसक्दा नेपाली–नेपालीबीच अविश्वास, अनेकता र आशंका उत्पन्न हुने स्थिति पैदा भएको छ । सनातन धर्म र निष्ठामा आधारित जीवन मृुल्यलाई क्षतविक्षत तूल्याउन भएका दृश्य–अदृश्य चालबाजीका कारण सामाजिक जीवन आकुलब्याकुल बन्न पूगेको छ । यसबाट देशको प्रजातन्त्र र सार्वभौमिक स्वतन्त्रतामाथि समेत खतरा देखिन थालेको छ । राष्ट्र समृद्ध बनाउनमा मूख्य योगदान पु¥याउन सक्ने जनशक्तिको पलायन अत्यासलाग्दो किसिमबाट बढिरहेको छ । महाभूकम्प र बाढीपहिरोको कारण घरबासविहीन हुन पुगेका जनतालाई अनुभूत हूने स्तरको सहारा दिने कार्य हून सकेको छैन । राजनीतिक तहमा भएका अनगिन्ति सम्वाद र सहमति जनसमस्या समाधानमुखी नभएर राजनीतिकेन्दित हुन पुगेको देखिन्छ । राजनीतिक क्षेत्रप्रतिको भरोसा न्युन हुँदा त्यसले अन्ततः देशको एकता र सबल राष्ट्रितालाई नै दीर्घकालीन असर पु¥याउने त्रास थपेको छ ।
नव वर्ष २०७४ मा हामी चाहन्छौँ– शान्त, समृद्ध, सुरक्षित, सवल एवम् अखण्ड नेपाल । गरीवी एवम् अभावमुक्त नेपाल । हरेक नेपालीले आफूलाई नेपाली हुँ भनी गर्व गर्न सक्ने नेपाल ।
श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।
प्रतिक्रिया