गोदावरीमा अभूतपूर्व यज्ञादि सम्पन्न

गोदावरीमा अभूतपूर्व यज्ञादि सम्पन्न


Godawari 2

‘ज्ञान बाँच्दछ हाँसेर, विज्ञान रोइ मर्दछ’ । चल्तीको यो वाक्यांशमा अर्थ ठूलो लुकेको छ । देशमा ठुला–ठुला प्राकृतिकदेखि मानवनिर्मित प्रकोपहरू भएका छन् । जनधनको विनाश भएको छ । मन, बुद्धि अनि विवेक पनि स्खलन भैरहेका छन् । मान्छे आ–आफ्ना स्वार्थ र अहमताले खिइँदै गएका छन् । आध्यात्मिक चेतना र त्यसको अनुशरण गर्न मान्छेमा समय कम हुँदै गएको छ । यस्तो परिवेशमा राष्ट्र र सम्पुर्ण प्राणीको हितको लागि कसले जिम्मेवारी लिने ?

यद्यपि, गोदावरीमा सफलतापुर्वक सम्पन्न गर्न जुटेका युवाहरूको आध्यात्मिक तथा संस्कारयुक्त इश्वरनियन्त्रित परम सत्तामाथिको अटुट विश्वासले केही मान्छेमा अझै पनि चेतनायुक्त संस्कार नसकिएको प्रमाण दिएको छ ।

कुनै पैसा कमाउन या निहीत लाभ उठाउन गरिएको धार्मिक कन्सर्ट थिएन यो, मात्र आफै कर्मशील जीवन कसरी बाँच्न सकिन्छ भन्ने जीवनोपयोगी दीर्घकालीन मार्ग थियो । यो बाटो पछ्याउन सकेको खण्डमा जीवन सफल र धन्य बन्ने छ भन्ने नै उक्त कार्यक्रमको उद्देश्य थियो ।

Godawari 3

गोदावरीमा अवस्थित धार्मिक तथा एतिहासिक महत्व बोकेको गोदावरी कुन्ड परिसरमा मानव विकास तथा नेपाल राष्ट्रको समुन्नतिका लागि चारदिने गणेश यज्ञ, चन्डी यज्ञ, रुद्री यज्ञ र स्वामी समर्थ यज्ञलगायत स्वरोजगार, बालसंस्कार, आयुर्वेद (आरोग्य), जैविक कृषि विषयमा परामर्शसहितको कार्यक्रम सम्पन्न भयो । गत चैत्र ३० देखि ०७४ वैशाख २ गतेसम्म सञ्चालित कार्यक्रममा २० हजार भन्दा बढि सेवाग्राहीहरूले सेवा लिएको आयोजकले जानकारी दिए । भारत माहाराष्ट्र त्रयम्बकेश्वर श्री स्वामी समर्थ गुरुपिठबाट आउनुभएका गुरु नितिन भाउ मोरेजीले वास्तु विज्ञान, आयुर्वेद, कृषि, बालसंस्कार, स्वरोजगारका बारेमा प्रवचन दिनुभएको थियो । धार्मिकतासँग रोजगारीका प्रशस्त सम्भावना समाहित गरेको यस्तो कार्यक्रमले धेरै नै लाभ पुग्ने उपस्थित धेरैको भनाई थियो । दुई गोदावरीको जनस्तरमा सम्बन्ध विकासले धेरै फाइदा पुग्ने आयोजकले जानकारी दिए ।

श्री स्वामी समर्थ गुरुपिठ बाट सञ्चालित १३ विभागहरू छन् । आफ्नो रुचिको विषयमा तालिम लिन पाइने सुविधा रहेको कार्यक्रममा गुरुले जानकारी दिनुभयो । परम्परागत कृषि प्रणालीबाट पनि उत्पादनमा वृद्धि गर्न सकिने धेरै परीक्षण गरिएको उहाँको भनाइ थियो ।

मानवतालाई देशको सीमानाले छेक्न नसक्ने रहेछ । संसारभर फैलिएको ५ हजार भन्दा बढि सेवाकेन्द्र रहेको उक्त संस्थाले एक सयभन्दा बढि सेवकहरूलाई चार दिनसम्म गोदावरीमा परिचालन गरेको थियो ।

नेपाल राष्ट्रको विपत्ती समन गर्न र स्वरोजगार तथा बालसंस्कारमा कार्यक्रम विशेष केन्द्रित थियो । यज्ञका लागि सम्पुर्ण सामग्री पिठबाट नै ल्याइएको थियो भने खाने–बस्ने कुराको बन्दोवस्त मात्र ब्यवस्थापन समितिले गरेको संयोजक महासेनानी अभिराज आचार्य (अ.प्रा)ले जानकारी दिए । ‘उहाँहरू पचासौँ लाख खर्च गरेर हाम्रो लागि आउनुभयो भने हाम्रो सहयोग त सामान्य हो’, संयोजक आचार्य भन्छन् । आगामी जुन महिनामा बास्तुविद र यज्ञकर्ताहरूबाट भुकम्प शान्ति यन्त्र समेत गोदावरीमा स्थापना गर्न लागेको संयोजक आचार्यले जानकारी दिए ।

godawari