
सन् १९९३ मा एक नर्सिङ होमका रूपमा स्थापित नर्भिक इन्टरनेशनल हस्पिटलले शनिबार आफ्नो २४ औं वार्षिकोत्सव समारोह मनाएको छ । हरेक वर्ष वैशाख १ गते वार्षिकोत्सव मनाउँदै आएको नर्भिकले यस वर्ष विविध कारणवश केही दिन पछि सारेर वार्षिक समारोह आयोजना गरेको हो ।
उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिकोत्सव समारोहमा नर्भिक इन्टरनेशनल हस्पिटलकी प्रबन्ध निर्देशक मेधा चौधरी शाक्यले आफ्नो स्वागत मन्तव्य राख्दै निकट भविष्यमै सम्पन्न गरिने हस्पिटलको थप पूर्वाधार विकास र प्राविधिक फड्को बारे संक्षिप्त जानकारी गराइन् भने भारतका अति सुविधासम्पन्न करपोरेट हस्पिटलहरूमध्येको एक फोर्टिस् ग्रुप अफ हस्पिटल्स्सँगको नर्भिकको सम्बन्धन बारे फोर्टिस्का वरिष्ठ उपाध्यक्ष सुनिल कपुरले प्रकाश पारे । उनका अनुसार हालसम्म नेपाली बिरामीहरू भारत गई उपचार गराइराखेको परिप्रेक्ष्यमा अब उप्रान्त जटिल प्रकृतिका नेपाली बिरामीहरू मध्ये ९९ प्रतिशतको उपचार फोर्टिस्को अनलाइन प्राविधिक सल्लाहमा नर्भिकमै गर्न सकिने छ ।
कार्यक्रमका विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. गीताभक्त जोशीले सरकारको स्वास्थ्य क्षेत्रको मिलेनियम टार्गेट पूरा गर्न नर्भिक लगायतका निजी क्षेत्रका हस्पिटलहरूले गरेको योगदानबारे खुलेर प्रशंसा गर्नुभयो । आफ्नो भनाई राख्नुपूर्व प्रा. जोशीले नर्भिकमा दीर्घ सेवा प्रदान गर्ने (१० वर्ष अवधि सेवा गरिसकेका) कर्मचारीहरू, वार्षिकोत्सवका अवसरमा आयोजित विविध खेलकूद प्रतियोगिताका सहभागीहरू, उत्कृष्ट विभागीय प्रमुखहरू एवम् वर्षका उत्कृष्ट कर्मचारीहरूलाई सम्मान र पुरस्कृत गर्नु भएको थियो ।

समारोहलाई सम्बोधन गर्दै हस्पिटलका अध्यक्ष तथा समारोहका सभापति वसन्तकुमार चौधरीले हस्पिटलले आगामी ५ वर्षका लागि तय गरको महत्वाकांक्षी योजनाहरू सार्वजनिक गर्नुभयो । दुई भागमा विभाजित रहेको भिजन २०२२ नामक उक्त योजना अन्तर्गत हालको हस्पिटलको शय्या २०० पु¥याउने र उक्त २०० शय्या मध्ये अति सघन उपचार शैय्या ५०, प्राइभेट शय्या ६०, जनरल शैय्या ९०, आकस्मिक उपचार शैय्या २० पु¥याउने, हालको अति विशिष्ट अन्तर्राष्ट्रियस्तरको तीन मोडुलर अपरेटिङ्ग सुइट्समा अरु ५ अति विशिष्ट मोडुलर अपरेटिङ्ग सुइट्स थप्दै मोडुलर अपरेटिङ सुइट्सको संख्या ८ पु¥याउने योजना रहेको बताइएको छ ।
तय गरिएको नयाँ योजनाअनुसार नर्भिकले हालका चिकित्सा विभागहरूमध्ये केहीलाई अति वैशिष्ट विभागमा परिणत गर्नेछ । ती चिकित्सा विभागहरू मध्ये हृदयरोग (मुटु) केन्द्र, पाचन प्रणाली उपचार केन्द्र, अति विशिष्ट मातृ तथा शिशु उपचार केन्द्र, आई.भी.एफ. केन्द्र, श्वास–प्रश्वास तथा अति जटिलपूर्ण रोग उपचार केन्द्र र हेलिप्याड सुविधा सहितको ट्रमासम्बन्धित उपचार केन्द्र रहेका छन् ।
निर्माण पश्चात् हालको पूर्वाधारसहित हस्पिटलले १,३२,००० वर्गफिट ओगट्ने छ भने हस्पिटलले रू. १ अर्ब ५० करोड थप लगानी गर्नेछ । यो लगानी अन्तर्गत अत्याधुनिक सुविधासम्पन्न १०० शय्यायुक्त अर्बुदरोग उपचार केन्द्र र त्यति नै शय्यायुक्त अति विशिष्ट मातृशिशु उपचार केन्द्र पनि थपिने छन् । अर्बुद रोग उपचार केन्द्र छुट्टै स्थानमा स्थापित हुने छ भने मातृशिशु उपचार केन्द्र थापाथलीमै थपिने छ । मातृ शिशु उपचार केन्द्र पूर्णतया महिला विशेषज्ञहरू मात्रैको व्यवस्थापन र रेखदेखमा सञ्चालित हुनेछ ।
समारोहमा अध्यक्ष चौधरीले नेपाललाई उत्कृष्ट स्वास्थ्य सेवा गन्तव्य बनाउने प्रण गर्दै हस्पिटलका विविध उपलब्धिहरू, कोशेढुंगाहरू र निकट भविष्यमा गरिने अन्य सुधारका कार्यक्रममाथि पनि प्रकाश पार्नुभयो ।
कार्यक्रम नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहको धन्यवाद ज्ञापनबाट समापन गरिएको थियो ।

प्रतिक्रिया