बल्झिँदै जग्गाधनी अपहरण काण्ड

बल्झिँदै जग्गाधनी अपहरण काण्ड


Jhapa

अपहरण काण्डमा मुछिएका आफ्ना स्वकीय सचिवलाई बचाउन सञ्चारमन्त्री राम कार्की लागिपरेको सन्दर्भ यतिबेला चर्चाको विषय बनेको छ । जग्गाधनीलाई अपहरण गरी झापा बिर्तामोडस्थित करोडौं मुल्यको जग्गा सित्तैमा पास गराएको घटनामा सञ्चारमन्त्री कार्कीका स्वकिय सचिव राजु आचार्य र दुई जना पत्रकार पनि तानिएका छन् भने जिप्रका झापाले माओवादी नेतासमेत रहेका अग्नि नामले चिनिने आचार्य र स्थानीय पत्रकारहरु पुजन घिमिरे र शम्भु दाहालको खोजी गरिरहेको छ । अभियुक्त पत्रकारहरु घिमिरे सगरमाथा टेलिभिजनका संवाददाता र दाहाल झापाबाटै सञ्चालित एक अनलाइनसम्बद्ध सञ्चारकर्मी हुन् । शनिश्चरे ९ घर भएका जीवन बिष्टलाई अपहरण गरी भद्रपुर रोडको करोडौं मुल्य पर्ने ५ कठ्ठा १६ धुर जग्गा अभियुक्तहरुले हत्याएका थिए।

ब्ल्याकमेलिङ गरेर पैसा असुल्ने काण्डमा मुछिएका पत्रकार घिमिरे करिव एक महिना प्रहरी हिरासतमा परिसकेका व्यक्ति हुन् भने आचार्य नेकपा माओवादी केन्द्रका झपा जिल्ला नेता हुन् । यतिबेला उनी सूचना तथा सञ्चारमन्त्रीका स्वकिय सचिवको भूमिकामा छन् । दिनहुँजसो मन्त्रालय आउजाउ गरे पनि मन्त्रीको प्रभावका कारण उनी पक्राउ परेका छैनन् ।

प्रहरी सुत्रले जनाएअनुसार बिर्तामोडनिवासी पुजन घिमिरे घटनाको मुख्य योजनाकार हुन् । घिमिरेसहितका अभियुक्तहरुको टोलीले बिष्टलाई बिर्तामोडको एभरेष्ट होटलबाट अपहरण गरी गरामनीको शुभकामना पार्टी प्यालेसमा बन्धक बनाएर पेस्तोल देखाउँदै जबर्जस्ती जग्गा पास गराएको घटना गत साता प्रकाशमा आएको थियो ।

बताइएअनुसार गत असार १९ गते बिष्टको स्वामित्वमा रहेको जमिनमा होटल गर्ने प्रायोजनका लागि घिमिरेले भाडामा लिएका थिए। शुरुमा ५ वर्षका लागि जमिन भाडामा लिँदा बिष्टको नागरिकतामा समस्या भएको पत्ता लागेपछि उनले फेरि अर्को ५ वर्षको लागि भाडामा लिन कागज गर्ने भन्दै बोलाएका थिए। त्यही समयमा घिमिरेले विर्तामोडकै ओम शिवाकोटीको सहयोगमा बिष्टलाई अपहरण गरी गरामनीको शुभकामना पार्टी प्यालेसमा पुर्‍याए। ‘त्यो होटलमा बन्धक बनाएपछि उनले अरु अभियूक्तलाई सम्पर्क गरेको पाइएको प्रहरीको भनाई छ ।

बिष्टलाई खेदाएपछि मेचीनगरकै राजु कुँवरको फोटो उनको नागरिकतामा टाँसेर माघ १९ गते जग्गा पास भएको अनुसन्धानबाट देखिएको छ । यस प्रकरणमा झापा मालपोत कार्यालयका कर्मचारीहरु समेत तानिने प्रवल सम्भावना रहेको बुझिएको छ ।
Jhapa News