बेनीघाटदेखि लार्केभञ्ज्याङ जोडिने सडकखण्डको शिलान्यास

बेनीघाटदेखि लार्केभञ्ज्याङ जोडिने सडकखण्डको शिलान्यास


sena

गोरखा जिल्लामा नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पहिलो प्राथमिकतामा पर्ने बेनिघाट–आरुघाट–लार्के भञ्ज्याङ सडकखण्डको प्रधानसेनापति राजेन्द्र क्षत्रीले शिलान्यास गर्नुभएको छ । सोमबार आयोजित शिलान्यासका अवसरमा प्रधानसेनापति क्षत्रीले उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई मुलुक र मुलुकवासीको हित रक्षार्र्थ अनुशासित, संयम एवम् पेसेवर ढङ्गले कटिबद्ध भई लाग्न मातहतका सबैलाई निर्देशन दिनुभयो । सडक शिलान्यास गर्न हेलिकप्टरमा लापुभिर पुग्नुभएको थियो ।
चीनको सिमाना तिब्बतसम्म जोड्ने बेनीघाट–आरुघाट–सिर्दिबास–लार्केभज्याङ सडकको ट्रयाक खोल्न नेपाली सेनाको टोलीले काम थालेको हो । हावाडाँडास्थित लापुभीरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले एकैपटक एक सय बम ब्लास्टिङ गर्दै पहरो फुटाएर कामको थालनी गर्नुभयो ।

बेनीघाटबाट आरुघाट हुँदै हावाडाँडासम्म ६२ किमि सडक विस्तार भइसकेको छ । तर त्यसभन्दा अगाडि अत्यन्त कठिनाई उत्पन्न भएपछि सडक विभागले सरकार गुहारेको थियो । यसपछि ट्रयाक बनाउने जिम्मा सरकारले सेनालाई दिने निर्णय गरेको हो । यही जिम्मेवारी निर्वाह गर्नका लागि ट्रयाक खुलिसकेको स्थान लापुभीर पुग्नुभएको थियो । हावाडाँडाबाट १ सय २० किमि सडक सेनाले खन्न लागेको हो । अप्ठ्यारो भीरपहरा तथा जोखिमपूर्ण स्थानका काममा सरकारले सेना खटाउने गरेको छ ।

तिब्बत सिमानासम्म सडक पुर्यागउन जीटीजेडले २२ वर्षअघि बेनीघाटबाट काम थालेपनि २२ मा जम्मा ६२ किमि सडक मात्र खुलेको थियो । कुल १ सय ८३ किमि लम्बाइ हुने सडक उत्तरी नाकाको सामागाउँ हुँदै चीनको सीमासम्म जोड्ने सरकारी योजना छ । तीन वर्षभित्र सेनाले काम सक्ने लक्ष्य लिएको बताइएको छ ।