गौतमबुद्ध अस्पतालमा मुटु उपचार निःशुल्क

गौतमबुद्ध अस्पतालमा मुटु उपचार निःशुल्क


Gautam Buddha Mutu Hospital

आर्थिक रूपले विपन्न व्यक्तिका मुटुको उपचारका लागि सरकारले दिने निःशुल्क सेवा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा पनि उपलब्ध हुने भएको छ । गरिब तथा विपन्न व्यक्तिहरूको मुटुको उपचारमा एक लाख रुपैयाँसम्मको उपचार निःशुल्क गर्ने सरकारको निर्णयअनुरुप मुटु अस्पतालमा पनि त्यो सेवा उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले निःशुल्क मुटुको उपचारको लागि गौतमबुद्घ सामुदायिक मुटु अस्पताललाई सुचीकृत गरेपछि बुटवलबाटै पनि गरिब तथा विपन्न व्यक्तिहरुले सरकारको उक्त सुविधा लिन पाउने भएका हुन् । निःशुल्क सेवा उपलब्ध गराउने विषयमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा टेकु र गौतमबुद्घ सामुदायिक मुटु अस्पतालबीच सम्झौता भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।

विभिन्न जिल्लाका जिल्ला स्तरीय विपन्न नागरिक औषधी उपचार सिफारिस समितिको सिफारिसको आधारमा अस्पतालले १ लाखसम्म निःशुल्क सेवा उपलब्ध गराउने छ । राजधानीका विभिन्न अस्पतालबाट उक्त सेवा प्राप्त भए पनि पश्चिम क्षेत्रमा भने निःशुल्क सेवा उपलब्ध गराउने गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पहिलो अस्पताल बनेको छ । अस्पतालमा सोमबारदेखि क्याथल्याब सेवा समेत संचालन भएको छ । पहिलो दिन सोमबार नै चारजना विरामीको एन्जियोग्राफी गरिएकोमा मंगलबार पनि चारजना विरामीको एन्जियोग्राफी गरिएको अस्पतालले जनाएको छ ।

यस अस्पतालले विगत ४ महिनादेखि मृगौलाका बिरामीहरुलाई निःशुल्क डायलाइसिस सेवा पनि प्रदान गर्दै आएको छ । १७ वटा मेसिनबाट दैनिक ३५ देखि ४० जना बिरामीहरुलाई निःशुल्क डाइलाईसिस सेवा उपलब्ध गराईरहेको यो युनिट काठमाडौंबाहिरको सबैभन्दा ठूलो डाइलाईसिस युनिट रहेको अस्पतालका निर्देशक डा. समिर गौतमले बताउनु भयो । अस्पतालमा अहिले १ सय २७ जना विरामीले सरकारले उपलब्ध गराएको निशुल्क डाइलाईसिस सेवा लिइरहेको उनले बताए ।

यसका साथै अस्पतालले सिटी स्क्यानको लागि रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोट्¥याक्ट क्लब अफ सेन्ट्रल बुटवलसँग सहकार्यको लागि सम्झौता समेत गरिसकेको जनाएको छ । क्लबहरुको सहयोगमा १ सय २८ स्लाईसको सिटी स्क्यान संचालनको लागि खरिद प्रकृया अगाडी बढाइएको अस्पतालले जनाएको छ । उक्त मेशिन जडान श्चात मुटु र मृगौलाको समेत सिटी स्क्यान बुटवलमै गर्न सकिने डा. गौतमले जानकारी दिए ।

– चन्द्रकान्त खनाल, बुटवल