राजधानीमा पुरानाभन्दा नयाँ अगाडि

कुनै पनि हालतमा निर्वाचन गराइछाड्न कस्सिएका काङ्ग्रेस, एमाले र माओवादीका नेताहरूले आ–आफ्ना पार्टीका तर्फबाट राजधानी काठमाडौंकै ‘महा’ मेयरको उम्मेदवार तय गर्न नसक्नुलाई आश्चर्यजनक एवम् सन्देहास्पद मानिएको छ । राजधानीमै प्रमुख दलहरूले उम्मेदवार तय नगर्दा चुनावी रौनक उत्पन्न हुन नसकेको मात्र नभई कतै निर्वाचन नै नहुने भएर यसो गरिएको हो कि भन्ने सन्देह पनि पैदा गराएको छ । नयाँ र साना दलहरूले विभिन्न आकार–प्रकारका ‘सेलेब्रिटी’हरूलाई उम्मेदवारका रूपमा मैदानमा अघि सार्दा ती उम्मेदवारहरूबारे चर्चा–परिचर्चा त सुरु भएको छ, तर यसले चुनावी रौनक भने बढाएको छैन । नेपाली काङ्ग्रेस र नेकपा एमालेले आफ्ना उम्मेदवार घोषणा गरेपछि मात्र राजधानीको चुनावी माहोल बदलिने विश्वास गरिएको छ ।
नेकपा एमालेको तर्फबाट योगेश भट्टराईदेखि केशव स्थापितसम्मको नाम सम्भावित उम्मेदवारको रूपमा चर्चामा ल्याइएको छ । गौरी प्रधानको नाममा पनि एमालेभित्र छलफल चलिरहेको बुझिन्छ । एमालेले काङ्ग्रेसको उम्मेदवार हेरेर मात्र आफ्नो उम्मेदवार तय गर्न खोजेको बताइन्छ, तर नेपाली काङ्ग्रेसको उच्च नेतृत्व तहमा भने राजधानीमा कसलाई मेयरको उम्मेदवार बनाउने भन्ने विषयलाई लिएर अहिलेसम्म गम्भीरतापूर्वक छलफलसम्म भएको छैन । काङ्ग्रेसमा राजुराज जोशीले उम्मेदवार बन्न विशेष अभिरुचि देखाएका छन् र उनले सोहीबमोजिमको तयारी पनि गरिरहेको पाइएको छ । काङ्ग्रेसको उच्च तहमा भने जोशीबाहेक अरूका नामले पनि स्थान पाएको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवानिकटको एक सूत्रले जनाएअनुसार देउवाले तीर्थराम डङ्गोललाई उम्मेदवार बनाउने सोच बनाएका छन् । डङ्गोल नेपाली काङ्ग्रेसका पुराना नेता र काठमाडौंमा उनको छवि राम्रो भएकोले उनैलाई उम्मेदवार बनाउने सोच देउवाले बनाएको बताइन्छ । तर, डङ्गोलको छवि राम्रो भए पनि काठमाडौंमा अलिक गतिशील, क्षमतावान र सक्रिय तथा उच्च व्यक्तित्व भएकालाई मेयरको उम्मेदवार बनाउनु उपयुक्त हुने सुझाव सभापति देउवालाई काङ्ग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूबाट प्राप्त भइरहेको बुझिएको छ ।
ललितपुरका उम्मेदवारहरूलाई दिइने टिकटमा सही गर्ने जिम्मेवारी पाएका काङ्ग्रेस नेता खुमबहादुर खड्काले पनि सभापति देउवालाई भेटी काठमाडौंमा डा. केदारभक्त माथेमालाई पार्टीको तर्फबाट उम्मेदवार बनाउन सुझाएको जानकारी प्राप्त भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति र राजदूतको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका डा. माथेमालाई राजधानीमा मेयरको उम्मेदवार बनाइँदा पार्टीको विजय सुनिश्चित हुने र राजधानीवासीलाई योग्य, सक्षम तथा उच्चकोटिको मेयर प्राप्त हुने भनी खड्काले दिएको सुझावलाई सभापति देउवाले गम्भीरतापूर्वक लिएको बताइन्छ । अन्य प्रकारको दबाब परेन भने सभापति देउवा केदारभक्त माथेमालाई नै मेयरको उम्मेदवार बनाउन राजी हुने विश्वास गरिएको छ । तर, स्वयम् डा. माथेमा उम्मेदवार बन्न इच्छुक हुने हो वा होइन सो भने अनिश्चित छ । माथेमाले उम्मेदवार बन्न अस्वीकार गरेमा तीर्थराम डङ्गोल र राजुराज जोशी वा सोहीस्तरका व्यक्तिलाई अघि सार्न काङ्ग्रेस बाध्य हुने देखिएको छ ।
यसबीचमा सत्तारुढ राप्रपाले राजाराम श्रेष्ठलाई काठमाडौं मेयरको उम्मेदवारका रूपमा अघि सारेको छ । संविधानसभाको गत निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी मत राप्रपाले ल्याएको आधारमा यहाँ राप्रपाको उम्मेदवारलाई पनि कमजोर मानिँदैन । काङ्ग्रेसको कमजोर उम्मेदवार परेमा त्यसको लाभ राजाराम श्रेष्ठलाई पुग्ने विश्वास गरिन्छ । उता एमालेलाई भने नवगठित साझा पार्टीका उम्मेदवार किशोर थापा र विवेकशील पार्टीकी रञ्जु दर्शनाले ठूलो धक्का दिने अनुमान गर्न थालिएको छ । यद्यपि कुनै अप्रत्याशित घटनाक्रम या मोड नआए काठमाडौंमा काङ्गे्रस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने विश्वास गरिन्छ । काङ्गे्रेसले डा. माथेमालाई उम्मेदवार बनाउन सक्यो भने विजय श्री पनि काङ्ग्रेसलाई नै प्राप्त हुने विश्लेषण गर्न थालिएको छ ।
प्रतिक्रिया