
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन नेपाली कांग्रेसले जिते मात्र प्रजातन्त्रको सुदृढीकरण तथा रक्षा र समावेशिताको पनि कदर हुने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले मधेसी, आदिवासी, जनजातिलगायत असन्तुष्ट पक्षको भावना आंशिक रुपमा भए पनि सम्बोधन गर्न सरकारले संशोधन प्रस्ताव अघि बढाएको प्रष्ट्याउँदै संशोधनको विधेयक पारितका लागि सहयोग गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरे । राजनीतिक स्थायित्व र विकासको अभिभारा कांग्रेसले मात्र पूरा गर्न सक्नेमा जोड दिँदै उनले आजसम्मका राजनीतिक परिवर्तनले हासिल गरेका उपलब्धिको जगेर्ना गर्दै लोकतन्त्रको संस्थागत विकास गरेर संविधानले प्रत्याभूत गरेका अधिकारको उपयोगका साथै मुलुकको विकास र समृद्धिको लागि निर्वाचन अपरिहार्य भएको तर्क प्रस्तुत गरे । संसदमा प्रस्तुत गरिएको संविधान संशोधनको प्रस्ताव दुई तिहाई बहुमतले पास हुने विश्वास उनले व्यक्त गरे ।
सो अवसरमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान निर्माण प्रक्रियामा असन्तुष्टि जनाउँदै बाहिरिएको मधेसी मोर्चालाई एमालेको व्यवहारले अझै चोट पुर्याएकोले समस्या बढेको बताए । सबै असन्तुष्ट पक्षलाई समेटी संविधानको कार्यान्वयन, लोकतन्त्रको संस्थागत विकास र आर्थिक समृद्धि हासिल गर्न कांग्रेसले पहल गरेको उल्लेख गर्दै नेता पैडेलले यसमा सहयोग गर्न सम्बन्ति सबै पक्षसँग आग्रह गरे । कांग्रेसले सधैं मुलुकलाई जोगाएर नेतृत्वदायी भूमिका खेल्दै हरक जटिल समस्याको गाँठो फुकाउने कार्य गर्दै आएको उनको दाबी थियो ।
पत्रकारहरुको व्यापक उपस्थिति एवम् नेपाली कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्यहरु, भातृ संगठन एवम् शुभेच्छुक संस्थाका पदाधिकारी र कार्यकर्ताहरु समेत उपस्थित सो कार्यक्रममा प्रचार प्रसार समन्वय उपसमितिका सहसंयोजक एवम् केन्द्रीय सदस्य गगन थापाले प्रदेशको सीमा हलचल गर्न नदिने बहानामा देशकै सीमा खल्बल्याउने कि देशको सीमा अटुट राख्नका लागि बरु प्रदेशको सीमा यताउता गर्न तयार हुने भनी प्रश्न राखेका थिए । एमालेप्रति लक्षित हुँदै उनले नक्कली राष्ट्रवादको ठेकेदारले कांग्रेसलाई देशकै चिन्ता नभएको सन्देश प्रवाहित हुने गरीे भ्रमात्मक प्रचार गरेको आरोप लगाए । नेपाली कांग्रेस राष्ट्रियता र अखण्डताका विषयमा संवेदनशील रहेको बताउदै उनले प्रदेशको सीमाना तलमाथि होला तर देशको हुँदैन, देश कस्तो रहने र प्रदेश कस्तो रहने भन्ने कुरा जनता छुट्याउन सक्छन् भन्ने तर्क गरे। प्रचार प्रसार समन्वय उपसमितिका संयोजक एवम् केन्द्रीय सदस्य रमेश लेखकको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया