एमालेले दियो एक घर एक रोजगारको नारा

एमालेले दियो एक घर एक रोजगारको नारा


UML

मुलुकमा विकसित राजनीतिक घटनाक्रमले नजिक आइसकेको निर्वाचन अन्योलको घेरामा परे पनि आगामी १० वर्षमा थप १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने, १० बर्षभित्र नेपालीको प्रति व्यक्ति आय ५००० डलरभन्दा बढी पुर्याउने, आधुनिक प्रविधिको प्रयोग गरी पाँच वर्षभित्रै सबै राजमार्ग विस्तार गर्ने, काठमाडौं तराई द्रूतमार्ग बनाउने र हुलाकी राजमार्ग निर्माण गर्नेलगायतका लोभलाग्दा कार्यक्रमसहित नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार पार्टीको घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

५२ पृष्ठ लामो घोषणापत्रमा एमालेले सामाजिक सुरक्षाभत्ता ५ हजार पुर्‍याइने दाबी गरेको छ भने सबै स्थानीय तहमा विश्राम, मनोरञ्जन र निःशुल्क आवाससहितको जेष्ठ नागरिक आवासगृह निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । आधुनिक प्रविधिको प्रयोग गरी पाँच वर्षभित्र सबै राजमार्गको विस्तार गर्ने, काठमाडौं तराई द्रूतमार्ग बनाउने र हुलाकी राजमार्ग निर्माण गर्ने जनाएको एमालेले सरकारी अस्पतालमा सुत्केरी हुने आमा र जन्मिने शिशुको पोषण तथा न्यानो कपडाका लागि एकमुष्ठ ५ हजार भत्ता दिने र कामकाजी महिलालाई १४ हप्ताको सुत्केरी विदा दिने जनाएको छ । यस्तै, एमालेले घोषणापत्रमार्फत् स्थानीय सरकार गठन भएको एक वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र दिने प्रतिबद्धता गर्नुका साथै गरिबीको रेखामुनि रहेका नागरिकलाई विशेष परिचयपत्र उपलब्ध गराइने बताएको छ ।

हरेक गाउँपालिकाको केन्द्रमा २५ तथा नगरपालिकाको केन्द्रमा ५० शैय्याका अस्पताल र प्रत्येक वडामा दक्ष नर्ससहितको प्रसुती केन्द्र स्थापना गर्ने एमालेको योजना छ । उच्च रक्तचाप, मुटु रोग, मधुमेह, मृगौला रोग, दमखोकी, क्यान्सर जस्ता घातक रोगहरूको औषधि, रक्त परीक्षण र स्वास्थ्य जाँच निःशुल्क गर्ने उसको दाबी छ । पाँच वर्षभित्र नेपाललाई विकासशील र दस वर्षभित्र मध्यम आय भएका मुलुकहरूको तहमा स्तरोन्नत गर्ने जनाएको एमालेले आगामी १० वर्षमा थप १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य अघि सारेको छ । कर्णाली चिसापानी बहुउद्देश्यीय परियोजनालाई अगाडि बढाउने, तमोर जलाशय परियोजना तथा पश्चिम सेती, नलसिंगाड, नौमुरे र बुढीगण्डकी परियोजना छिट्टै सम्पन्न गर्ने र उत्पादन, खाना पकाउने लगायतका घरेलु प्रयोजन र उर्जा आवश्यक हुने सबै क्षेत्रमा विद्युतको उपयोग गर्ने पनि उसको कार्यक्रम रहेको खुलाइएको छ ।

यस्तै, सडक र रेल यातायातका क्षेत्रमा पनि एमालेले महत्वकांक्षी योजना अघि सारेको छ । राजमार्ग र रेलमार्ग बनाउँदा सुरुङ र उच्च पुल निर्माण प्रविधि पनि अपनाइने उसले बताएको छ । काठमाडौं तराई द्रूतमार्ग बनाउने र हुलाकी राजमार्ग निर्माण गर्ने पूर्व पश्चिम राजमार्गलाई ६ लेनको बनाउने, पाँच वर्षमा मध्यपहाडी पुष्पलाल राजमार्गलाई चार लेनको बनाउने र तराईका सबै जिल्लामा पूर्व पश्चिम राजमार्गदेखि नेपाल भारत सीमासम्म चार लेनका राजमार्ग बनाउने एमालेको योजना छ । हिमाली जिल्लाका सदरमुकामदेखि नेपाल चीन सीमासम्म न्यूनतम दुई लेनका सहायक राजमार्ग निर्माण गरिनेछ एमालेको प्रतिबद्धता छ । यसैगरी घोषणापत्रमा पूर्व पश्चिम राजमार्ग र मध्यपहाडी राजमार्गको समानान्तर अत्याधुनिक रेल सञ्चालन गर्ने, रसुवागढी काठमाडौं पोखरा लुम्बिनी रेलमार्ग बनाउने र काठमाडौं वीरगञ्ज रेलमार्ग निर्माण गर्ने पनि एमालेले बताएको छ । काठमाडौँमा भित्री चक्रपथको समानान्तर ट्राम र अत्याधुनिक मेट्रो रेल निर्माण गर्ने, एमालेले निजगढमा अत्याधुनिक अन्तरर्राष्ट्रिय विमानस्थल १० वर्षभित्र, भैरहवा दुई वर्ष र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तीन वर्षभित्र सञ्चालनमा ल्याउने एमालेको दाबी छ ।

६ महिनाभित्र स्थानीय तहका सभाहरूले तोकेका स्थानमा सहरी केन्द्र र वडा समितिले तोकेका स्थानमा उपनगर या एकीकृत ग्राम विकास गर्न गुरुयोजना निर्माण गर्ने बताएको छ । ‘सबै उपनगर तथा एकीकृत ग्रामबाट अधिकतम आधा घण्टामा स्थानीय तहको सहरी केन्द्रमा पुग्ने गरी तथा प्रत्येक सहरी केन्द्रबाट न्यूनतम २ घण्टामा राजमार्गमा पुग्ने गरी सडकहरूको निर्माण र स्तरोन्नति गरिने एमालेको घोषणापत्रमा उल्लेख गरिएको छ ।

यति मात्र नभई राष्ट्रिय ध्वजाबाहक पानीजहाज सञ्चालनलाई पनि एमालेले घोषणापत्रमा समेटेको छ । मुस्ताङमा युरेनियम उत्खनन तथा प्रशोधन केन्द्र स्थापना गर्ने, दैलेख लगायतका स्थानमा पेट्रोलियम र नवलपरासीमा रहेको फलाम खानीको थप अन्वेषण गरी उपयोग गर्ने एमालेको घोषणा पत्रमा उल्लेख छ । एमालेले आफ्नो सरकार बनेको तीन बर्षमै एक घर एक रोजगारी दिइने नारा अघि सारेको छ ।