
मनाङ । काखैको पाँचमहिने दूधे बालकलाई साथै लिएर मनाङको विकट बस्ती फू गाउँकी सोनाम सिची लामा सदरमुकाम चामे आइपुगेकी छिन् । उनी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा महिला सदस्यमा उम्मेदवारी दिने गरी उनी फूदेखि दुई दिन लगाएर सदरमुकाम चामे आइपुगेकी हुन् ।
नार फू गाउँपालिकाकी लामाले विकट बस्तीमा विकासे योजना पु¥याउने लक्ष्यका साथ गाउँपालिकाको महिला सदस्यमा उठ्ने निर्णय गरेको बताइन् । ‘हामी विकट क्षेत्रमा बसेका छौँ । राज्यबाट प्रवाह हुने सेवासुविधाहरू सुगममा मात्रै केन्द्रित भएको छ,’ उनले भनिन्, ‘यसैका लागि मेरो उम्मेदवारी हुनेछ । विकट भए पनि हाम्रो गाउँपालिकालाई हामी नमुना बनाएर देखाउनेछौँ ।’
तीनवटा वडा रहेको नार र दुईवडा रहेको फूमा हतपत सरकारी कर्मचारी नपुग्ने उनको गुनासो छ । उनले सरकारी कार्यालयको कामकाजका लागि घटीमा दश दिनको समय छुट्याएर सदरमुकाम जानुपर्ने बाध्यता रहेको बताइन् । सरकारले विकट क्षेत्रलाई हेरर गाउँपालिका बनाइदिएकोमा लामाले नार फू गाउँपालिकाको तर्फबाट सरकारलाई धन्यवादसमेत दिएकी छिन् । लामाले यसपटकको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट महिला सदस्यमा उम्मेदवारी दिने बताएकी छिन् ।
नार फू गाउँपालिकाको महिला सदस्यमा आफ्नी श्रीमती महिलाका तर्फबाट सदस्य पदमा उठ्ने पक्का भएपछि लामाकी श्रीमान् साङधोर्जे लामा पनि उत्तिकै खुसी भएका छन् । ‘बच्चा सानै छ, दुई दिनको बाटो हिँडेर सदरमुकाम नजाउभन्दा पनि उनी मानिनन्,’ श्रीमान् साङधोर्जेले भने, ‘दैलोमा आएको अवसर छोड्दिनँ भनिन् त्यसैले मैले पनि हुन्न भन्न सकिनँ ।’
नार र फूलाई समेटेर सरकारले एउटा छुट्टै गाउँपालिका बनाइदिएपछि यहाँ बस्ने सबै स्थानीय खुसी भएको यसै गाउँपालिकाको प्रमुख पदका आकाङ्क्षी सोनाम लामा बताउँछन् । उनका अनुसार यस गाउँपालिकामा सकेसम्म सर्वसम्मत गर्ने उनको लक्ष्य छ । ‘मतदाता सङ्ख्या निकै थोरै रहेका छन्,’सोनाम भन्छन्, ‘हामी सबैलाई मिलाएर लैजान्छौँ । हामीमा कुनै पनि विवाद नै छैन ।’
यस गाउँपालिकामा कुल मतदाता ३ सय ६५ रहेका छन् । जहाँ १ सय ९८ महिला र १ सय ६७ पुरुष रहेका छन्
– छविलाल बगाले
प्रतिक्रिया