निर्वाचन सुचारु गराउन भारतबाट सवारीसाधन सहयोग

निर्वाचन सुचारु गराउन भारतबाट सवारीसाधन सहयोग


20 Pr 2

स्थानीय तहको निर्वाचनको सहयोगार्थ मित्रराष्ट्र भारतले करिब ९ करोड रुपैयाँबराबरका विभिन्न सवारीसाधन निर्वाचन आयोगलाई उपलब्ध गराएको छ । आयोग परिसरमा सोमबार आयोजित एक विशेष समारोहबीच नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले स्थानीय तहको निर्वाचन सुचारु रूपले सम्पन्न गराउनका निम्ति सहयोगस्वरूप ८ करोड ९१ लाख ७० हजार रुपैयाँबराबरका सवारीसाधनका साँचो प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवलाई हस्तान्तरण गर्नुभयो ।

नेपाल सरकारको अनुरोधमुताबिक भारत सरकारद्वारा निर्वाचन आयोगलाई उपलब्ध सवारीसाधनहरूमा पैँतीसवटा डबल क्याबिनयुक्त पिकअप, सातवटा स्कर्पियो जिप, तीसवटा पल्सर मोटरसाइकल, सातवटा स्कुटर, पाँचवटा कार, एउटा मिनीबस र एउटा माइक्रोबस रहेका छन् । मुलुकका विभिन्न भागमा निर्वाचन प्रयोजनार्थ यी सवारीसाधन उपयोग गरिनेछन् ।

सवारीसाधन सहयोग हस्तान्तरणका अवसरमा भारतीय राजदूत पुरीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आयोगले गरिरहेको बृहत् तयारीप्रति बधाई दिनुभयो । दुई देशका प्रधानमन्त्रीबीच हालै भएको टेलिफोन वार्ताको सन्दर्भ उल्लेख गर्दै उहाँले नेपालको सामाजिक र आर्थिक रूपान्तरण तथा शान्ति र स्थायित्वका लागि भारत सधैँ सहयोग गर्न तत्पर रहेको बताउनुभयो भने प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भारतीय सहयोगबाट निर्वाचन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै, नेपाल–भारतबीच सहयोग आदान–प्रदानको एउटा कडीको रूपमा पछिल्लो सहयोग उपलब्ध गराइएको नेपालस्थित भारतीय राजदूतावासको कथन छ । नेपाल सरकारको आग्रहमा भारतले स्थानीय तह निर्वाचनका लागि सहयोगस्वरूप सवारीसाधन र बन्दोबस्तीका सामग्री उपलब्ध गराएको राजदूतावासले जनाएको छ ।

ज्ञातव्य छ, विगतका निर्वाचनमा पनि नेपाल सरकारको अनुरोधमा सवारीसाधनका अलावा अन्य विभिन्न सामग्री भारत सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छ । पछिल्लो संविधानसभाको निर्वाचनमा पनि निर्वाचन आयोगलाई ४८ वटा र सुरक्षा निकायलगायतका अन्य निकायको प्रयोजनार्थ ७ सय १६ वटा सवारीसाधन भारतले नेपाललाई सहयोग प्रदान गरेको थियो । यसैगरी, सत्रवटा दमकल, ६ सय दुईवटा एम्बुलेन्स, एक सय अठारवटा स्कुल बस मित्रराष्ट्र भारतले नेपाललाई प्रदान गरिसकेको बताइएको छ ।

India