नेपालमा लगानी बढाउन नयाँदिल्लीमा सम्मेलन

नेपालमा लगानी बढाउन नयाँदिल्लीमा सम्मेलन


Dr bishwombhar-pyakuryal

नेपालमा वैदेशिक लगानी आकर्षित गराउने उद्देश्यले भारतको राजधानी नयाँदिल्लीमा यसै साता एक विशेष अन्तरक्रियात्मक सम्मेलन हुने भएको छ । आईएसएसआर (इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकनमिक रिसर्च)को अग्रसरता, परराष्ट्र मन्त्रालयको तत्वावधान र दिल्लीस्थित नेपाली राजदूतावास तथा पवेलियन गु्रपसँगको सहकार्यमा हुन लागेको उक्त सम्मेलनको उद्घाटन नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र भारतीय विदेशमन्त्री सुषमा स्वराजले संयुक्त रूपमा गर्नुहुने भएको छ । नयाँदिल्लीबाट नेपाल हेर्ने ८२ मुलुकका कूटनीतिज्ञ तथा कूटनीतिक नियोगहरूलाई लक्षित गरेर आयोजना गरिएको सम्मेलन वैशाख २२ र २३ गते (४ र ५मे) दुई दिनसम्म चल्ने बताइएको छ ।

नेपालमा वैदेशिक लगानीको क्षेत्र र आवश्यकताबारे सम्बद्ध कूटनीतिज्ञहरूलाई जानकारी गराउने र लगानीका निम्ति आकर्षित गर्ने उद्देश्य सम्मेलनले राखेको छ । सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतका अतिरिक्त श्रीलंकाका लागि नवनियुक्त राजदूत एवम् आईएसएसआरका निर्देशक प्रा.डा. विश्वम्भर प्याकुरेल, डा. रवीन्द्र पाण्डे, प्रा.डा. गोविन्द नेपाल, उद्योगसचिव शङ्कर कोइराला, पवेलियन गु्रपका नरेश श्रेष्ठ, डा. माणिक श्रेष्ठ, पुर्नेस श्रेष्ठ, अर्थ मन्त्रालयका सहसचिव मधु मरासिनी, लगानी बोर्डका महाप्रसाद अधिकारी र डा. गोविन्द पोखरेल नयाँदिल्ली जाने भएका छन् ।

नेपालमै कार्यालय र स्थायी प्रतिनिधि रहेका मुलुकहरू यहाँको स्थितिबारे धेरै हदसम्म जानकार भए पनि दिल्लीलाई मुकाम बनाएर नेपाल हेर्ने कूटनीतिक नियोगहरूको ध्यान नेपालमा कम पुग्ने भएकोले यसप्रकारको सम्मेलन आयोजना गर्नुपरेको डा. रवीन्द्र पाण्डेले बताउनुभएको छ । उक्त सम्मेलन नेपालमै आयोजना गर्न आयोजकहरूले प्रस्ताव गरेका थिए, तर ८२ कूटनीतिक नियोगमध्ये कतिपयले निर्धारित समयमा काठमाडौंसम्म आउन सक्ने अवस्था नरहेको जानकारी गराउँदै दिल्लीमै आयोजना गरिए आफ्नो सहभागिता रहन सक्ने बताएपछि सम्मेलन नयाँदिल्लीमा गर्नुपरेको हो । सम्मेलनपश्चात् नेपालमा लगानीका निम्ति अन्तर्राष्ट्रिय समुदाय थप आकर्षित हुने विश्वास आयोजकहरूले गरेका छन् ।