
आईजीपी नियुक्तिसम्बन्धी विषयमा सरकारलाई अप्ठ्यारो पर्ने गरी निर्णय सुनाएपछि निलम्बित प्रधानन्यायाधीश सुशीला कार्की र प्रधानमन्त्री प्रचण्डबीचको सम्बन्ध नराम्रोसँग चिसिएको र उनले प्रचण्डसँग भेट गर्नसमेत नपाएको बुझिएको छ । प्राप्त जानकारीअनुसार कार्कीले गत फागुनको अन्तिम सातादेखि नै प्रधानमन्त्री प्रचण्डसँग विशेष भेटवार्ता गर्न समय मागेकी थिइन् । सर्वोच्चको निर्णयले अप्ठ्यारोमा परेका प्रधानमन्त्रीले कार्कीलाई भेट गर्न आवश्यक ठानेनन् र पटकपटक कार्कीका तर्फबाट समय माग हुँदा पनि उनले विभिन्न वहानाबाजी गर्दै समय दिएनन् । प्रधानमन्त्रीसँग भेटेर कार्कीले सर्वोच्च अदालतको निर्णयअनुसार नवराज सिलवाललाई आईजीपी नियुक्त गर्न दबाब दिने योजना बनाएकी थिइन् । अदालतको निर्णय कार्यान्वयन नगरे अप्ठ्यारो पर्ने भन्दै सुशीला कार्कीले प्रधानमन्त्रीलाई धम्क्याउन खोजेकी थिइन् । तर, प्रचण्डले टेरेनन्, उनले भेट नै नगरीकन अन्ततः कार्कीविरुद्ध महाभियोगको प्रस्ताव ल्याइदिएका छन् । यस घटनाबाट सुशीला स्वयम् स्तब्ध र मर्माहत भएको बुझिएको छ ।
स्मरणीय छ, सुशीला कार्की कुनै बेला काङ्ग्रेसको सक्रिय कार्यकर्ता थिइन् र मोरङतिर ‘ल प्राक्टिस’ गर्दा पनि उनलाई काङ्गे्रसकै समर्थकका रूपमा लिइन्थ्यो । तर, सात वर्षअघि सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न उनलाई माओवादीले प्रस्ताव गरेको थियो । कार्कीका पति दुर्गा सुवेदी काङ्गे्रसका पुराना र क्रान्तिकारी नेता मानिन्छन् । गिरिजाप्रसाद र त्यसपछिका कोइरालाहरूको कोपभाजनमा परेका दुर्गा सुवेदी काङ्गे्रसबाट विरक्तिएका थिए । संसदीय निर्वाचनमा सुवेदी विद्रोही उम्मेदवार बनेपछि उनलाई किनारा लगाउँदै जान कोइरालाहरूलाई सजिलो भएको थियो । त्यसैबीचमा सुशीला कार्की माओवादीसँग नजिकिएको र माओवादीकै सिफारिसमा उनलाई सर्वोच्च अदालतको न्यायाधीश बनाइएको थियो । पछिल्लो समयमा भने सुशीला कार्की एमाले र एनजीओकर्मीहरूसँग नजिकिएकी थिइन् । कल्याण श्रेष्ठ नामक व्यक्तिसँगको निकटताले कार्कीलाई एनजीओकर्मी तथा एमालेसँग नजिक पु¥याएको थियो । काङ्गे्रसनिकटका व्यक्तिहरूलाई खोजी–खोजीकन बदला लिने धन्दा गर्दै आएकी सुशीला अन्ततः जसको सिफारिसमा न्यायाधीश बनेकी थिइन् उसैको निर्णयबाट खोसिनेमा पनि परेकी छिन् ।
प्रतिक्रिया