यही वैशाख ३१ मा हुने भनिएको स्थानीय निकायको निर्वाचनका निम्ति सशक्त रूपले तयार रहन र खासगरी भारतसँग जोडिएका तराईका सीमामा आपराधिक क्रियाकलाप बढ्न सक्ने हुनाले विशेष सतर्कता अपनाउन प्रहरी प्रशासनलाई सरकारले निर्देशन दिएको परिवेशमा मध्यक्षेत्रमा खटिएका प्रहरी अधिकारी बेग्लै ढङ्गले क्रियाशील रहेको बुझिएको छ । गृह मन्त्रालय एवम् प्रहरी प्रधान कार्यालयको निर्देशन एकातिर छ, तर मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौँडाका डीआईजी गणेश केसी र मध्यक्षेत्र पथलैया सशस्त्र प्रहरीका डीआईजी नरेन्द्र सिंह भने तस्करीका लाइन सुचारु गराउन कटिबद्ध रहेको सम्बद्ध सूत्रको दाबी छ । बारा, रौतहट, सर्लाही, मलंगवालगायतका जिल्लाबाट डीआईजी सिंह र केसीको निर्देशनमा रातको समयमा तस्करी सुचारु भएको धन्दामा संलग्न एक व्यक्ति स्वयम्ले जानकारी दिए ।
प्रहरी हाकिमहरूको तस्करसँग साँठगाँठकै कारण गत १४ गते रौतहटको बंकुलमा सशस्त्र प्रहरी र तस्करहरूबीच झडप हुँदा सशस्त्र प्रहरी बेस क्याम्पका हवल्दार केशव भट्टराई नराम्रोसँग पिटिए । बाराको कोचर्वामा तस्करी भइरहेको सूचना पाएलगत्तै नेपाल प्रहरीका डीएसपीको कमान्डमा खटिएको प्रहरी टोली र तस्करबीच झडप भएको थियो । हवल्दार भट्टराईका अलावा अन्य केही प्रहरी घाइते हुन पुगे । बताइएअनुसार तस्करहरूले ‘डीआईजी सिंह र केसीले हामीबाट रकम बुझिसकेका छन्, तिमीहरूले किन रोकेको’ भन्दै प्रहरीलाई खुला चुनौती दिएपछि झडप सुरु भएको थियो । स्थानीय क्षेत्रमा कहलिएका तस्कर गोपाल अग्रवालले सर्लाहीबाट खुलेआम तस्करी गराइरहेका छन् भने अग्रवाल डीआईजी केसीका ‘नजिक’का व्यक्ति हुनाले उनको धन्दा सुचारु रहेको बताइन्छ । यसरी, प्रहरी अधिकारीहरूको कमाउ धन्दाका कारण स्थानीय निकायको निर्वाचनको समयमा सामान तस्करीको आडमा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूले हातहतियार तथा विस्फोटक पदार्थसमेत सजिलै नेपाल भित्र्याउन सक्ने सम्भावना प्रबल भएको छ ।
– अमित साह

प्रतिक्रिया