गृहमा फर्कन निधिलाई मधेसवादी नेताको आग्रह !

गृहमा फर्कन निधिलाई मधेसवादी नेताको आग्रह !


Nidhi

चार दिनअघि राजीनामा दिएर पुनः गृहमन्त्रीको जिम्मेवारी लिन तयार भएका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले गृहमन्त्रीको भूमिकामै रहेर मधेसको जनताको अधिकारका लागि अग्रसर भइदिन मधेसवादी नेता महन्थ ठाकुर, राजेन्द्र महतोहरुले आग्रह गरेको खुलासा गरेका छन् । साथीहरुको आग्रहका साथै ‘मधेसको मुद्दा सम्बोधन, संविधान संशोधन र स्थानीय तहको निर्वाचनको लागि राष्ट्रिय जिम्मेवारीको भूमिका निर्वाह गर्नुपर्ने आफ्नो दायित्वलाई बुझेर राजीनामा फिर्ता लिएको उनको भनाई छ ।

बिहिबार जानकी नवमीको उत्सवमा सहभागी हुन जनकपुर पुगेका निधिले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मूलतः कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डसंगको विस्तृत छलफल तथा आग्रहका कारण आफूले राजिनामा फिर्ता लिएको बताए । प्रधानन्यायधीश सुशीला कार्कीविरुद्धमा महाअभियोगको प्रस्तावमा असहमति भएको कारण र सो प्रस्ताव गृहमन्त्रालयको नेपाल प्रहरीका महानिरीक्षक प्रकरणसंग सम्बन्धित भएको हुँदा आफूले नैतिकताको आधारमा राजीनामा दिएको अभिव्यक्ति दिँदै आएका निधिले महाभियोगबारे अब कुन नीति लिने भन्ने सवालको प्रष्ट जवाफ भने दिन नसकेको स्थानीय एक सञ्चारकर्मीले जनाए । संविधान संशोधन, निर्वाचन र मधेसका जनताको अधिकार तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयनको अगाडी आफूले अन्य सबै मुद्दाहरु थाती राखेर अघि बढेको निधिको भनाई थियो ।