
पञ्चायतको कठोर कालमा पञ्चायती शासकबाट बच्नको लागि मार्शलजुलुम शाक्यको नाम कुलबहादुर थियो भन्ने कुरा धेरैलाई जानकारी नरहेको हुन सक्छ । राजा महेन्द्रले सैनिक शक्तिको आडमा ०१७ साल पुष १ गते प्रजातन्त्रको गला निमोठेर निरंकुश सत्ता शुरू गरेको कठोर समयमा पौष १ गते नै त्यो निरंकुश कदमका विरूद्ध कालो झण्डा लिएर एक्लै माइकिंग गर्दै हिड्ने त्यसबेलाको शाहसिक युवक मार्शलजुलुमको त्यो क़दम अहिलेको युवा पुस्तकको लागि अकल्पनीय घटना हुन सक्छ ।
महान क्रान्तिकारी नेता मार्शलजुलुम शाक्यले निरंकुश पञ्चायती व्यवस्थाको कठोर कालमा १६ वर्षसम्म कठोर कारावास सजाय नभोगेको भए अहिलेको पुस्ताले देशमा स्वतन्त्रताको अनुभूति नै गर्न पाउने थिएनन् । देशको प्रजातन्त्रको आन्दोलनमा सिन्का नभाँचेकाहरू मार्शलहरूकै बलिदानबाट प्राप्त प्रजातन्त्रको उपयोग गर्दै देशमा हुँदै गरेको स्थानीय तहको निर्वाचनमा उमेद्वार बनेर जनतालाई कोरा सपना बाँड्दै गर्दा इतिहासको त्यो क्रान्तिकारी नेताले यो धरतीबाट आज वैशाख २३ गते सदाका लागि बिदा लिए ।
काठमाडौंको राजनीतिमा पञ्चायत कालमा मार्शल दाइ गणेशमानपछिको दोस्रो गणेशमान भनेर चित्रित गरिन्थ्यो । निश्चय नै मार्शलजुलुम कुनै राजनीतिक खानदानको छोरा थिएनन्, आमनागरिकबाट उठेको एउटा क्रान्तिकारी योद्धा थिए । त्यसैले उनलाई सुनियोजित रूपमा नै राजनीतिबाट ओझेलमा पारियो भन्दा कुनै अन्यथा हुँदैन । आज नेपाली राजनीतिमा मार्शल दाइले अपनाएको जस्तो सिद्धान्त, आदर्श र निष्ठाको राजनीति मर्दै गएको छ । कोरा खानदान आधारमा राजनीति गर्ने र डनशाली र धनशालीहरूको कब्जामा राजनीति पर्दै गएको अवस्थामा मार्शलजुलुमहरू राजनीतिमा जिउँदै मरिरहेका छन् ।
नेविसंका संस्थापक, ०४३ कार्तिक महिनामा बीरनाथ कर्माचार्यको निधनपछि काठमाडौं कांग्रेसको सभापति, ०४६ को जनआन्दोलनमा काठमाडौंको कमाण्डर, ०४६ सालको राजनीतिक परिवर्तनपछि किसुनजीको अध्यक्षतामा गठन भएको अन्तरिम मन्त्रिपरिषदमा निर्माण तथा यातायात र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहनु भएका मार्शलजुलुम शाक्य कांग्रेसबाट कस्ताकस्ता मानिस केन्द्रीय सदस्य, सांसद आदि हुँदा कहिल्यै केन्द्रीय सदस्य वा सांसद बनाइएनन् ।
त्याग र निष्ठाको राजनीति गर्दै आउनुभएका मार्शल दाइको परिचय नेपाली मानवाधिकारको आन्दोलनमा समेत छुट्टै पहिचान छ । उहाँ पञ्चायतको कठोर कालमा विश्व मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेसनल, नेपाल शाखाको सभापतिसमेत बन्नु भएको थियो ।
नेपाली कांग्रेसका नेता, नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रान्तिकारी योद्धा हामी सबैका मार्शल दाइ नेपाल पछिल्लो राजनीतिक घटनासँग पूर्ण रूपमा असहमत हुनुहुन्थ्यो । उहाँ ०४७ को संविधानलाई अनाहकमा विदेशी चलखेल र कम्युनिस्टहरूको लहैलहैमा लागेर खारेज गर्न पार्टी लागेकोमा दुखित हुनुहुन्थ्यो ।
हाम्रो नेता, प्रजातन्त्रका एउटा महान योद्धा मार्शल दाईको निधनले मन दुखित भएको छ । आज उहाँको पार्थिव शरिरमा पुष्पार्पण गर्न र श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालय पुगेर उहाँप्रति श्रद्धांजली व्यक्त गरियो । सलिना भाउजु र छोरीलाई यो दुःखको यो घ८ीमा समवेदना प्रकट गर्दै मार्शल दाइको आत्माको चीर शान्तिको कामनासहित सम्मानपूर्वक श्रद्धाञ्जली.. !

(कांग्रेस नेता लोकेश ढकालको शब्द-साभार)
प्रतिक्रिया