गठबन्धन संयोजकबाट उपेन्द्र हटाइए, महन्थ चयन

गठबन्धन संयोजकबाट उपेन्द्र हटाइए, महन्थ चयन


उपेन्द्र - महन्थ

संविधान संशोधन नै नभई चुनावमा गएको भन्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई संघीय गठबन्धनको संयोजकबाट हटाइएको छ । गठबन्धनको संयोजकमा राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई चयन गरिएको छ । गठवन्धनको शनिबार बसेको बैठकले यादवमाथि संविधान संशोधन नभई चुनावमा गएर जनतालाई धोका दिएको आरोप लगाएको छ । मधेशी थारु, जनजाति, सिल्पी, मुस्लिम समुदायको मुद्दाहरु विर्सजन गर्दै यादव आत्मसमर्पणको कित्तामा गएको भन्दै गठबन्धनको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान संशोधन विना जनतालाई धोका दिई स्थानीय तहको निर्वाचनमा सहभागी भएको हुँदा संघीय गठबन्धनबाट संयोजकको जिम्मेवारीबाट हाउने निर्णय गरिएको छ ।’ संघीय गठवन्धनमा अब संघीय समाजवादी फोरम नेपाल नरहने समेत नेताहरूले बताएका छन् ।

आफूलाई गठबन्धनको संयोजकबाट हटाएको भन्ने सन्दर्भमा प्रतिक्रिया दिँदै उपेन्द्र यादवले संघीय गठबन्धनको नाममा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्ति आधिकारिक नभएको बताएका छन् । गठबन्धनमा आबद्ध घटक दल र मोर्चालाई खबर नै नगरी एकलौटी ढंगले ठाकुरले विज्ञप्ति जारी गरेको आरोप लगाउँदै यादवले त्यसको खण्डन गरेका हुन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका यादवका प्रेस संयोजक महेश चौरसियाले एक प्रेस नोट जारी गरी संघीय गठबन्धनको नाममा जारी भएको विज्ञप्ति आधिकारिक नभएको बताए ।

यसैबीच, निर्वाचन आयोगले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आचारसंहिताविपरीत मोटरसाइकल ¥याली निकालेकाले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आदेश दिएको छ । ती पार्टीका मेयरका उम्मेदवार जनक थापाको नाममा आयोगले सो आदेश जारी गरेको हो । आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले अनुगमनको क्रममा सप्रमाण फेला पारी तत्काल ¥याली रोक्ने कार्यसमेत भएको छ । मेयरका उम्मेदवार थापाले प्रचार–प्रसारका लागि बैशाख २३ गते दिनको १२ः३० बजे निर्वाचन आचारसंहिताविपरीत मोटरसाइकल ¥याली निकालेको पाइएको छ । आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘‘निर्वाचन आचारसंहिताविपरीत काम कारबाही गरेको कसूरमा हदैसम्मको कारबाही किन नगर्ने ? कारबाही गर्नु नपर्ने कुनै कारण भए प्रस्तुत पत्र प्राप्त भएको मितिले चौबिस घण्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्नु हुन आदेशानुसार अनुरोध छ ।’’ निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ५ को ‘क’ को १३ मा ‘‘निर्वाचन प्रचार प्रसारको क्रममा मोटरसाइकललगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडाजस्ता सवारी साधनको ¥याली गर्न वा गराउन नहुने’’ उल्लेख छ ।