– मुक्तिनाथ भुसाल
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा गत शुक्रबार प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाको प्रमुख आतिथ्यतामा सूचनाको हकसम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सूचनाको हकलाई कार्यान्वयन र जनचेतना फैलाउन सक्रिय रहेकोे सूचना तथा सुशासन अभियान, सीआईजीको आयोजनामा कार्यक्रम सम्पन्न हुँदै गर्दा प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेल भने सहभागी हुन मानेनन् । कार्यक्रममा सहभागी हुँदा पदीय दुरुपयोग भएको ठहरिने मात्र नभई गएपछि बाध्यतावश चिया पिउनुपर्ने अवस्था सिर्जना हुने र गैरसरकारी संस्थाको चिया पिएमा आफ्नो टाउको दुख्ने गजबको अभिव्यक्ति सीडीओ पोखरेलले दिएका सुनियो । प्रजिअ पोखरेलका अलावा सबुज गणका गणपति लक्ष्मीभक्त श्रेष्ठ र डीएसपी एकनारायण कोइरालाबाहेकका अधिकांश कार्यालयप्रमुख तथा सूचना अधिकारीको बाक्लो सहभागिता कार्यक्रममा रहेको थियो ।
यसअघि नै सन्धिखर्कमा आउने योजना बनाउनुभएका प्रमुख आयुक्त बास्कोटालाई प्रजिअ पोखरेलले मार्ग खुला गरेका थिएनन् । सूचना र सुशासनको वकालत गर्नेहरूलाई निर्वाचन आचारसंहिताले फरक नपार्ने बुझाइका साथ प्रजिअ पोखरेलसमक्ष पुगेको सीआईजी अध्यक्षलाई कानुनमा छ भन्दैमा ०७१ सालका सूचना मागेर कर्मचारीलाई दुःख नदिन उनले ‘उपदेश’ दिएका थिए । सूचनाको हक सम्बन्धमा जनचेतना फैलाउने उद्देश्यले ५९ वटा कार्यक्रम जिल्लामा सम्पन्न गरिसकेको सीआईजी प्रजिअ पोखरेलको व्यवहारले ब्याक हुन सक्ने सुइँको प्राप्त गर्नुभएका बास्कोटाले सूचनाको हकका अभियन्तालाई सान्त्वना दिँदै कार्यक्रम तय गर्न सुझाव दिनुभएको थियो ।
प्राविधिक समस्याका कारण फ्लाइट रद्द भई बास्कोटाको आगमनमा व्यवधान पुगेको सूचनाले क्षणिक रूपमा सूचनाको हकका विरोधी पक्षलाई हर्षित तुल्याए पनि लक्ष्यप्राप्तिका लागि जस्तोसुकै चुनौती सामना गर्न पछि नपर्ने स्वभावका बास्कोटा एयरपोर्टबाट बाहिर निस्की आफ्नै सुरक्षाकर्मीका साथ मुग्लिङ सडकखण्डको बाटो हुँदै बिहान सन्धिखर्क आइपुग्दा सबैजना आश्चर्यमा परेका थिए । प्रजिअ पोखरेलले सीआईजीलाई एनजीओ भन्दै निरुत्साहित गर्ने धृष्टताका बाबजुद जिल्ला समन्वय समितिले कार्यक्रममा सहकार्य गरेको थियो । स्थानीय विकास अधिकारी प्रदीप पौडेलले विशिष्ट अतिथिको आसनग्रहण गर्नुका साथै सोही कार्यालयका नासु शेषकान्त घिमिरे ओसनले सानदार प्रस्तुतिका साथ कार्यक्रम सञ्चालन गर्नुभएको थियो । यसैगरी पत्रकार महासङ्घ अर्घाखाँचीका सचिव सूर्य भुसालले स्वागत मन्तव्य दिएको कार्यक्रममा जनज्योति मावि चुत्राबेसीका छात्राहरूले राष्ट्रिय गान र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्वप्रजिअ कृष्णबहादुर कटवालसहित पाँचजना कार्यालय प्रमुख, दुईजना सूचना अधिकारी, पाँचजना सञ्चारकर्मी, कलाकार तथा सुशासन पक्षधरहरूसमेत गरी ४० जनालाई सम्मान गरिएको थियो ।

सामाजिक काम गर्ने कुनै पनि संस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा विधिवत् दर्ता हुनु आवश्यक हुने र यसरी दर्ता भएका संस्था गैरसरकारी संस्था अर्थात् एनजीओभित्र पर्दछन् । गैससका आ–आफ्ना उद्देश्य हुने कारण सबैलाई एकै बास्केटमा राखी प्रजिअ पोखरेलजस्ता कर्मचारीहरू गृहले आफूहरूलाई एनजीओमा नजान निर्देशन दिएको तर्क गर्न हिचकिचाउँदैनन् । गृह मन्त्रालयले चाहिँ जनताको कामलाई असर पारी भत्ता खानैका लागि एनजीओको कार्यक्रममा हाम नफाल्नु, तर उनीहरूको अनुगमन, निगरानी र कामको प्रकृति हेरीकन सहयोग गर्नु भन्ने निर्देशन दिएको जानिफकारहरूको भनाइ छ ।
सन्धिखर्कको टुँडिखेलमा गत सातादेखि खेल सञ्चालन गरिरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धिप्रसाद भुसालसँग यसै विषयमा जिज्ञासा राख्दा आफूहरूले आठौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि विगतमा अन्तिम तयारी पूरा गरी प्रमुख अतिथिका रूपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ल्याउने कुरा सार्वजनिक गरेको दुई दिनभित्र प्रजिअ पोखरेलले खेल स्थगितका लागि आफूलाई पत्र थमाइदिएको तीतो अभिव्यक्ति दिएका छन् । यहाँनिर महत्वपूर्ण कुरा के छ भने सो प्रतियोगिता रोक्नुमा निर्वाचन आचारसंहिता नै मुख्य बाधक भएको भए अहिले पनि सो प्रतियोगिता सञ्चालन हुन नसक्ने सहजै आँकलन गर्न सकिन्छ । ज्ञातव्य छ, प्रजिअ पोखरेलको कार्यालयमा कुनै समय ४५८ नम्बरमा दर्ता भएको एनजीओले आयोजना गरेको लदाम बँगैचा खनधुनिकीकरण तथा व्यवस्थापनसम्बन्धी शिलान्यास कार्यक्रममा यही वैशाख १६ गते प्रमुख अतिथिका रूपमा उनले सहभागिता जनाएका थिए । ब्राह्मण समुदायका प्रजिअ पोखरेलले सो समय छालाको बेल्ट लगाएर विधिवत् पूजापाठसहित भाषण गरेको सन्दर्भ सम्बन्धित पात्रबीच चर्चा हुने गरेको छ ।
प्रतिक्रिया